नयाँ सत्ता समीकरणका लागि निर्णायक बनेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निवास खुमलटारमा अन्य दलका नेताको उपस्थिति बढेको छ।
सोमबार बिहान नेपाली कांग्रेसका नेता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पुगेका थिए।
गठबन्धन बैठकअघि पुगेका कार्कीले प्रचण्डसँग सम्भावित सत्ता साझेदारीलाई लिएर लामो छलफल गरेका थिए।
कार्की फर्किएपछि कांग्रेस सभापति शेरबहादुर देउवाका अर्का विश्वास पात्र गृहमन्त्री बालकृष्ण खाणले पनि खुमलटार पुगे।
खुमलटारस्थित दाहाल निवासमा भएको भेटमा वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
नयाँ जनमतमा तेस्रो दल बनेको माओवादीले अध्यक्ष प्रचण्डलाई कांग्रेससँगको समझदारीमा प्रधानमन्त्री बनाउनुपर्ने धारणा राखेको छ।
तर यो पाँच वर्षको पहिलो अढाई वर्ष आफैं प्रधानमन्त्री हुने दाउमा देउवा छन्।
गृहमन्त्री र सञ्चारमन्त्रीसँगको भेटमा पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको बताइएकोछ।
तीनै नेता गठबन्धनलाई निरन्तरता दिन सकारात्मक रहेको जानकारी गृहमन्त्रीको सचिवालयले दिएको छ।
निर्वाचनमा गठबन्धन गरेका दलहरूले पाँच वर्षसम्मै गठबन्धनकै माध्यमबाट मुलुककको विकास गर्न एकजुट भएर लाग्नुपर्नेमा जोड दिँदै आएका छन्।
प्रतिक्रिया