राजनीति


निर्वाचनपछि विप्लवको आग्रह : झापा विद्रोहदेखि जनयुद्धसम्मका कम्युनिष्ट मिलौँ, नमिले सकिन्छौँ

निर्वाचनपछि विप्लवको आग्रह : झापा विद्रोहदेखि जनयुद्धसम्मका कम्युनिष्ट मिलौँ, नमिले सकिन्छौँ

फाइल तस्बिर


नेपालखबर
मंसिर १३, २०७९ मंगलबार ११:५५, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टीका महहासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले झापा विद्रोहदेखि जनयुद्धमा सहभागीसम्म सबै कम्युनिष्ट अब मिलेर जानुपर्ने बताएका छन्।

निर्वाचन बहिष्कार गरेका विप्लवले एक भिडिओ सन्देश जारी गर्दै दलाल पुँजीवादी सत्ताले संसदीय चुनावको नाटक मञ्चन गरेको पनि बताएका छन्। 

'दलाल पुँदीवादी सत्ताले संसदीय चुनाको नाटक मञ्चन गरेको छ। जनयुद्धको सफलतालाई षडयन्त्रपू्र्वक रोकिएको छ। कम्युनिष्ट जनमत र देशभक्तलाई छिन्नभिन्न पार्ने काम भएको छ', उनले भने, 'नेपालमा मुठ्ठीभर दलालहरुको सत्ता लाद्ने खेल चलेको छ। अनेकौँ बहानामा देशभक्त शक्तिलाई छिन्नभिन्न बनाउने खेल भएको छ।'

उनले भारतको पश्चिम बंगाल राज्यको उदाहरण दिँदै नेपाललाई पनि त्यही दिशामा लाने खेल भइरहेको बताएका छन्। 

'नेपाललाई पश्चिम बंगाल बनाउने खेल भएको छ। त्यहाँको कम्युनिष्ट आन्दोलन दलालहरुले सिद्धयाए। नेपालमा पनि कम्युनिष्ट आन्दोलन बिसर्जन गर्ने खेल भएको छ', उनले भने, 'नेपालमा दलालहरुको रजाइँ चलुन्जेल नेपाली जनताले शान्ति पाउने छैनन्। नेपालमा कम्युनिष्ट र देशभक्तलाई समाप्त पार्ने खेल गरेका छन्। '

उनले जनयुद्ध सफल भइसकेको अवस्थामा शान्ति सम्झौताका नाममा रोक्ने काम भएको बताए। 

'जनतालाई क्रान्तिबाट रोक्ने गरी भ्रम रचियो। जुनसुकै रुप रंगका दलाल पुँजीवादी तत्वतहरु आए पनि नेपालीका लागि कुनै अर्थ छैन', उनले भनेका छन्, 'नयाँ या पुरानो बोत्तल जेसुकै होस्, हो विषले त असर नै गर्छ। पुराना पार्टीको ठाउँमा नयाँ पार्टी ठीक भनिएको छ। तर त्यसको कुनै अर्थ छैन।'

उनले अब कम्युनिष्टहरु एक नभइ नहुने अवस्था आएको पनि बताएका छन्। 'हामी कम्युनिष्टहरु एक हुन जरुरी छ', उनले थपे, 'झापा विद्रोहदेखि जनयुद्धबाट यहाँसम्म आइपुग्न लडेका सबै कम्युनिष्ट समर्थकहरु एक हुनुपर्छ। सबै कम्युनिष्ट मिलेमा मात्रै नेपाललाई दलाल पुँजीवादबाट मुक्त गर्न सम्भव छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .