ad ad

राजनीति


नयाँ सरकारको कसरतमा जुटे देउवा, सरकारमा जाला राप्रपा?

नयाँ सरकारको कसरतमा जुटे देउवा, सरकारमा जाला राप्रपा?

सागर न्यौपाने
मंसिर ९, २०७९ शुक्रबार १८:३८, काठमाडौँ

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्तारुढ गठबन्धनलाई नै निरन्तरता दिने गृहकार्य थालेका छन्। प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी परिणाम आउने क्रम अन्तिम चरणमा पुग्दै गर्दा देउवाले गठबन्धनकै नयाँ सरकार बनाउने कसरत थालेका हुन्।

बालुवाटार निकट स्रोतका अनुसार देउवाले यसका लागि गठबन्धन घटक दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग टेलिफोन संवाद गरिसकेका छन्। 

‘उहाँले एक चरण गठबन्धनका सबै नेताहरुसँग बधाई संवाद गरिसक्नुभएको छ, एकदुई दिनभित्र गठबन्धनको बैठक बस्छ,’ स्रोतले नेपालखबरसँग भन्यो, ‘गठबन्धनका नेताहरुसँग सरकार निर्माणबारे छलफल हुनेछ।’

प्रतिनिधि सभा र प्रदेश सभामा सिट बाँडफाँट गरेर चुनावमा होमिएका गठबन्धनमा माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले कांग्रेसबाट मत नपाएको गुनासो गरिरहेका छन्। औपचारिक रुपमा दलहरुले यसबारे धारणा नराखे पनि चुनावी नतिजाका कारण कांग्रेसबाहेक गठबन्धनका अन्य दल स्तब्ध छन्।

यही कारण सरकार निर्माण कसरी होला भन्ने आम चासोबीच प्रधानमन्त्री देउवाले अग्रसरता लिएका हुन्। नेताहरुका अनुसार चुनावको अन्तिम नतिजा सार्वजनिक नभएकोले कुन दलको अवस्था के हुने भन्ने निश्चित भइसकेको छैन।

प्रतिनिधि सभामा प्रत्यक्षतर्फको नतिजा अन्तिम चरणमा पुग्दा गठबन्धनको एउटा दल कांग्रेसले ६० हाराहारी सिट जित्ने देखिन्छ। अग्रतासमेतलाई हेर्दा माओवादी केन्द्र २० भन्दा मुनि नै रहने देखिन्छ। एकीकृत समाजवादीले १० सिट जितेको छ। राष्ट्रिय जनमोर्चाले १ सिट जितेको छ।

१६५ निर्वाचन क्षेत्रमा गठबन्धनले ९० आसपास प्रत्यक्षमा जित्ने देखिन्छ। समानुपातिकतर्फको मतगणना जारी छ।

पछिल्लो मतगणना अनुसार समानुपातिकमा एमालेभन्दा कांग्रेस केही हजार मतले पछाडि छ। माओवादी केन्द्र राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा पछाडि चौथो स्थानमा छ। 

गठबन्धन दलको बहुमत पुगे सिधै सरकार बन्ने देउवानिकट एक नेताले बताए।

‘अहिलेसम्म सबै चुनावी नतिजा प्राप्त भइसकेको छैन, समानुपातिक, प्रदेशसहित सबै नतिजा आएपछि दलहरुको अवस्था हेरेर सरकार बनाउने तयारी अघि बढ्छ,’ उनले भने, ‘गठबन्धन दललाई सरकार बनाउन सिट पुगे सिधै सरकारको विषय अघि बढ्छ, नपुगे विकल्पमाथि छलफल हुन्छ।’

गठबन्धनलाई बहुमतका लागि केही सिट नपुगे स्वतन्त्र र मधेशकेन्द्रित दलसँग सहकार्य गरिने ती नेताले बताए। तर, एमालेले समानुपातिकमा राम्रो मत ल्याएर पहिलो पार्टी बनेको अवस्थामा भने समीकरण फेरबदल हुनसक्ने आकलन कांग्रेस नेताहरुको छ।

‘चुनावी रौनक भएर मसिनो ढंगले प्रधानमन्त्रीले विश्लेषण गर्न पाउनुभएको छैन, सम्भवतः सरकार निर्माणको प्रस्ताव अब बस्ने गठबन्धनको बैठकमा प्रस्तुत हुनसक्छ,’ कांग्रेसका एक नेताले भने।

कांग्रेसको एउटा पक्षकै कारण गठबन्धनमा मत ट्रान्स्फर नभएको निष्कर्षमा पुगे पनि माओवादी र एकीकृत समाजवादीले यो विषयमा अहिले प्रतिक्रिया नजनाउने भएका छन्।

माओवादी अध्यक्ष प्रचण्ड निकट एक नेताले बताएअनुसार अब बस्ने बैठकमा त्यस विषयलाई गम्भीरतापूर्वक राख्ने तयारी छ।

‘अब बस्ने बैठकमा मुख्य एजेन्डा नै चुनावी समीक्षा हुन्छ, कांग्रेसकै मत ट्रान्सफर राम्ररी नभएकाले माओवादी र एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका राम्रा नेताले हारेका छन्,’ ती नेताले नेपालखबरसँग भने, ‘यसबारे देउवाको जवाफ के आउँछ अनि नयाँ रणनीतिबारे सोच्न सकिन्छ।’

उसो त गठबन्धनका चार दलको बहुमत पुग्ने सम्भावना पनि छ।

एकीकृत समाजवादीले समानुपातिकमा ३ लाख मत कटाएको अवस्थामा बहुमत सजिलै पुग्नेछ। तर, हालसम्म सो पार्टीको मत निकै कम छ।

समानुपातिकमा प्राप्त मतलाई हेरेर एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सरकार निर्माणमा अग्रसर हुँदै दलहरुसँग छलफल गरिरहेका छन्। चुनावमा राप्रपा र जसपासँग एमालेले तालमेल गरेको थियो। एमालेलाई ती दुवै दलसँग सत्ता साझेदारी गर्न सहज हुनेछ।

त्यसैले देउवा गठबन्धनलाई एक राख्न चाहन्छन्।

‘अहिले गठबन्धनमै रहेका दलहरु बहुमत नजिक पुग्ने देखिएको छ,’ देउवानिकट अर्का नेताले भने, ‘बहुमत नपुगेको अवस्थामा कुनकुन पार्टीलाई ल्याउँदा सहज हुन्छ, तिनै दलसँग कुरा हुन्छ।’

माओवादी र एकीकृत समाजवादीले सरकारका विषयमा मुख खोलेका छैनन्। माओवादीलाई मतपरिणाम पछि प्रतिपक्षमा बस्न दबाब छ।

माधवकुमार नेपाल पनि मतपरिणामबाट खुसी छैनन्।

‘गठबन्धनको बैठकमा आफ्ना विचार राख्छौँ,’ नेपालनिकट एक नेताले भने, ‘चुनावी नतिजा सन्तोषजनक नभएकोले अन्तिम परिणामअगाडि यसै गर्ने भन्न सक्तैनौँ।’

देउवालाई प्रत्यक्षमा ३ सिट जितेको नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले साथ दिने विश्वास छ। शुक्रबार साँझसम्म स्वतन्त्र सांसदको संख्या पाँच पुगेको छ। 

सरकारमा जाला त राप्रपा?
राप्रपाले साथ दिएको अवस्थामा देउवालाई सरकार बनाउन प्रष्ट बहुमत पुग्छ। तर, राप्रपा तत्काल सरकारमा जाने सम्भावना कम छ। राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सबै मतपरिणाम सार्वजनिक नभई केही निर्णय नहुने बताए।

‘राप्रपा सरकारमा जाने प्रश्नै छैन, पहिले पिक्चर क्लियर नभई यसै भन्न हतार पनि हुन्छ,’ श्रेष्ठले नेपालखबरसँग भने, ‘सरकार बनाउँछु भन्नेले के ठोस प्रस्ताव ल्याँउछन्, त्यस आधारमा समर्थन गर्नेबारे छलफल हुनसक्छ।’

सरकारमा गएर पार्टीलाई नोक्सान भएको राप्रपाले विश्लेषण गरेको छ। 

‘सरकारमा गएर विगतमा नोक्सान मात्र भएकाले हाम्रो मुड सरकारमा जानुहुन्न भन्ने छ,’ राप्रपाका महामन्त्री भुवन पाठकले भने।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरु सबै जिल्लाजिल्लामा छन्। काठमाडौं फर्किएपछि बैठक बस्ने उनले बताए। 

उता रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकार गठनको लागि कुन अवस्थामा रहन्छ, त्यसमा राप्रपाले चासो दिएको छ।

‘रविको पार्टीले के गर्छ भनेर हामी हेरिरहेका छौँ। राम्रै सिट जित्ने भएकोले त्यो पार्टीको भूमिकापछि हामी निर्णय लिन्छौँ,’ उनले थपे।

सात सिट जितिसकेको र एक सिटमा अगाडि रहेको रास्वपा समानुपातिक मतका आधारमा हालसम्म तेस्रो स्थानमा छ। सो पार्टीका सभापति रवि लामिछानेले आवश्यक परे आफ्नो पार्टी गठबन्धनमा जाने बताएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .