राजनीति


गृहमन्त्रीको निष्कर्ष : मंसिर ४ पछि कांग्रेस ठूलो पार्टी बन्छ, विपक्षी दल खुम्चिन्छ

गृहमन्त्रीको निष्कर्ष : मंसिर ४ पछि कांग्रेस ठूलो पार्टी बन्छ, विपक्षी दल खुम्चिन्छ

नेपालखबर
मंसिर १, २०७९ बिहिबार १३:३७, काठमाडौँ

गृहमन्त्री खाँणले आसन्न निर्वाचनलाई निष्पक्ष र भयरहीत बनाउन सरकारले आवश्यक सुरक्षा व्यवस्था परिचालन गरिसकेको बताएका छन्। 

गृहमन्त्री खाँणले स्थानीय तह निर्वाचनको अनुभवबाट सिकेर सरकारले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई भयरहीत वातावरणमा निष्पक्ष रुपमा सम्पन्न गर्न आवश्यक राज्य शक्तिको परिचालन गरिएको बताएका छन्। 

उनले निर्वाचनका क्रममा हुनसक्ने घटनाहरुलाई मध्यनजर गरी सरकारले नेपाली सेनाको हेलिकप्टर र हवाइजहाजलाई अलर्ट गरिसकेको बताए। 

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा उम्मेदवारसमेत रहेका खाँणले आफूले निर्वाचन परिणामबारे गलत तथ्यांक नदिएको दाबी गरे।

उनले सञ्चारमाध्यमले जनमत सर्भे गरी प्रसारण गरेका तथ्यांकहरु नै प्रस्तुत गरेको बताएका छन्। 

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा खाँणले निर्वाचनबारे कुनै पनि पूर्वानुमानका तथ्यांकहरु सरकारले प्रस्तुत गर्न नमिल्ने र नगर्ने पनि बताए। 

उनले आसन्न निर्वाचनबाट नेपाली कांग्रेस देशको ठूलो राजनीतिक पार्टी बन्ने तर्क गरे। मंसिर ४ पछि गठबन्धनकै सरकार बन्ने दाबी उनले गरे। 

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका खाँणले नेकपा एमालेसहितका विपक्षी दलहरुले सोचेको र देखाएको तामझामअनुसारको निर्वाचन नतिजा नआउने दाबी गरे। 

‘हामीले जनमत सर्भेका तथ्यांक विश्लेषण गर्दा कांग्रेस ठूलो पार्टी बन्छ। कांग्रेस लगायत गठबन्धनको सरकार बन्छ। विपक्षी दलहरुले जस्तो सोचिरहनुभएको त्यो नतिजा आउँदैन, उहाँहरुले सोचेको भन्दै धेरै कम मात्र नतिजा आउँछ', उनले भने, 'हामीले सञ्चारमाध्यमका आँकलनका आधारमा भनेका हौँ। सरकारी रुपमा तथ्यांक प्रस्तुत गर्न मिल्दैन र हुँदैन। सञ्चारमाध्यमहरुले आफ्नो आँकलन गरिरहनुभएको छ, ती कतिपय सही पनि छन्। स्थानीय निर्वाचनदेखि अहिलेसम्म हेर्दा मत सर्भेमा पनि सत्ता गठबन्धन अघि नै छ।’

उनले सुरक्षामा कुनै कमी हुन नदिने बताए। 'हामीले सबैभन्दा पहिला मतदाता, जनताको सुरक्षा गर्ने हो, निर्वाचनमा खटिएका कर्मचारीहरुको सुरक्षा र उम्मेदवारको सुरक्षा गर्नु हाम्रो दायित्व हो', उनले भने, 'उम्मेदवारको सुरक्षप्रति हामी प्रतिवद्ध छौँ। जुनसुकै दल र पार्टीका उम्मेदवार साथीहरुले सुरक्षा चाहिएको छ भने उपलब्ध गराउनेछौँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad