ad ad

राजनीति


बुबा उम्मेदवार बन्न नपाएपछि चुनावी मैदानमा वीर अस्पतालकी नर्स मधुमाला

बुबा शिवपुजन भन्छन् : यो ठाउँमा म जता लाग्छु, सबै त्यतै लाग्छन्
बुबा उम्मेदवार बन्न नपाएपछि चुनावी मैदानमा वीर अस्पतालकी नर्स मधुमाला

सर्लाही ४ की स्वतन्त्र उम्मेदवार मधुमाला भन्छिन्– म प्रतिनिधि सभामा विजयी हुने बुबा शिवपुजन राय यादवकै कारणले हो


जेवी पुन मगर र जनार्दन पोखरेल
कात्तिक २५, २०७९ शुक्रबार २२:७, मलंगवा

परिस्थिति आफू अनुकूल हुन्थ्यो भने सर्लाहीको रामनगर गाउँपालिका ५ विर्ताटोलका शिवपुजन रायले चुनावी पोस्टरमा छोरी मधुमालाको तस्बिर राख्ने थिएनन्। महेन्द्र राजमार्गदेखि ४२ किलोमिटर दक्षिणमा भारतसँग सीमा जोडिएको सर्लाही–४ का गाउँ–गाउँमा टाँगिएका ब्यानर र पोस्टरहरुमा यतिबेला उनको मात्रै तस्बिर हुन्थे। तर, परिस्थिति उनले सोचे जसरी अघि बढेन। 

०६४ सालमा संविधान सभा सदस्य भएको बेला रातो पासपोर्ट दुरुपयोग गरेको अभियोग रायमाथि लाग्यो। रातो पासपोर्ट दुरुपयोग गरेको अभियोगमा विशेष अदालतले दोषी ठहर गर्दै उनलाई उम्मेदवार बन्न नपाउने फैसला गरिदियो। ०७४ मा उनले सर्लाही ४ बाट प्रतिनिधि सभा सदस्यमा दिएको उम्मेदवारी नै निर्वाचन आयोगले खारेज गर्यो।

आफैँ जनप्रतिनिधि बनेर सर्लाही ४ को राजनीतिलाई आफू अनुकूलको बनाइराख्ने उदेश्य पुरा हुने अवस्था नदेखेपछि उनी नयाँ उपायको खोजीमा लागे। शिवपुजनले राजनीतिमा कुनै चासो नभएकी छोरीलाई चुनावमा उम्मेदवार बन्न प्रेरित गरे। वीर अस्पतालकी स्टाफ नर्स २७ वर्षीया मधुमाला पनि सर्लाही ४ बाट प्रतिनिधि सभाको उम्मेदवार बन्न राजी भइन्। 

सर्लाही ४ की स्वतन्त्र उम्मेदवार मधुमाला र उनका बुबा शिवपुजन राय यादवको पोस्टर

यतिबेला भारतको बिहार र उत्तर प्रदेशको सिको गर्दै सर्लाही ४ का गाउँ, टोल, चोक जताततै टाँगिएका पोस्टर र ब्यानरमा छोरी मधुमालासँगै शिवपुजनको पनि तस्बिर देख्न सकिन्छ। छोरीको मात्रै नामले निर्वाचन जित्न नसकिने बुझेका शिवपुजनले छोरीको चुनावी पोस्टरमा आफ्नो पनि तस्बिर राखेर मतदातासँग भोट मागिरहेका छन्। 

४ मंसिरमा हुने चुनावमा शिवपुजन छोरीलाई माओवादी केन्द्रबाट उम्मेदवार बनाउन चाहन्थे। तर, पाँच दलीय गठबन्धनबीच निर्वाचन क्षेत्र बाँडफाँट हुँदा सर्लाही ४ माओवादीको भागमा परेन। केन्द्रमा धेरै जोडबल गर्दा पनि माओवादीबाट टिकट नपाएपछि शिवपुजनले छोरीलाई प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवार बनाए।

आफ्ना बुबाको राजतीतिक विरासतको बलमा छोरी मधुमाला यतिबेला सर्लाही ४ मा आफ्ना बुबा र हजुरबा उमेरका राजनीतिका माहिर खेलाडीहरुसँग प्रतिस्पर्धा गर्दैछिन्। सांसद, मन्त्री, गाउँपालिका अध्यक्ष र तीन पटक कांग्रेसको जिल्ला सभापति बनिसकेका नागेन्द्रकुमार राय, कांग्रेसकै बागी यसअघि सोही क्षेत्रबाट निर्वाचित सांसद अमरेशकुमार सिंह र एमाले–जसपा गठबन्धनका राकेशकुमार मिश्रसँग मधुमालाको यहाँ कडा प्रतिस्पर्धा हुँदै छ। 

बुधबार नेपालखबरकर्मी रामनगर गाउँपालिका ५ बिर्ताटोलस्थित शिवपुजनको घरमा पुग्दा कार्यकर्ताले भरिभराउ उनी घरदैलो कार्यक्रममा जान हतारिँदै थिए। छोरी मधुमाला पनि साथमै थिइन्। गाउँपालिका अध्यक्ष रहेका शिवपुजनका छोरा राजाबाबु त्यहाँ थिएनन्।

हाम्रो जिज्ञासामा शिवपुजन बोले– ‘ऊ गाउँपालिका गैसक्यो। हाम्रो चुनाव प्रचारमा जाँदैन।’

परिवारका सबै सदस्य राजनीतिमा
०६४ सालमा उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरमबाट सर्लाही ४ मा चुनाव लडेका शिवपुजनले तत्कालीन तमलोपाका अध्यक्ष महन्थ ठाकुरसँगै कांग्रेसका अमरेशकुमार सिंहलाई पनि पराजित गरेका थिए।

०७० मा महेन्द्र राय यादव नेतृत्वको तमसपाबाट निर्वाचन लडेका उनी कांग्रेसका अमरेशकुमारसँग पराजित भए। त्यो पराजयपछि उनले तमसपाबाट आफ्नो राजनीतिक यात्रा अघि बढ्ने देखेनन्। ०७४ को निर्वाचनअघि उनी प्रतिनिधि सभाको टिकट पाउने सर्तमा तमसपा छाडेर माओवादी केन्द्रमा प्रवेश गरे। माओवादीले उनलाई सर्लाही ४ मा प्रतिनिधि सभाको टिकट पनि दियो। 

तर, कूटनीतिक राहदानी दुरुपयोग अभियोग खेपिरहेका शिवपुजनको उम्मेदवारी चुनावको मुखमै निर्वाचन आयोगले खारेज गरिदिएपछि दोस्रोपटक सभासद हुने उनको अपेक्षा पुरा हुन पाएन। उनको उम्मेदवारी खारेजीले अमरेशकुमारलाई विजयी हुन सहज भयो। सिंह सर्लाही ४ बाट दोस्रोपटक विजयी भए। 

‘मेरो उम्मेदवारी खारेज भएपछि त्यतिबेला मैले जसपालाई सहयोग गरेँ। त्यतिबेला मैले आफ्ना समर्थक शुभचिन्तकलाई पनि जसपाकै उम्मेदवारलाई मतदान गर्न आग्रह गरेको थिएँ,’ शिवपुजनले भने, ‘तर, त्यति हुँदा पनि जनताले मलाई नै मतदान गरे। म उम्मेदवार नै नरहँदा पनि हँसियाहथौडा चिह्नमा ६५ सय मत आयो।’

रातो पासपोर्ट दुरुपयोग प्रकरणले शिवपुजनको संसदीय राजनीतिमा पूर्णविराम लागे पनि उनले आफ्ना छोरा–छोरीलाई राजनीतिमा सक्रिय बनाएर यो क्षेत्रको राजनीतिलाई आफ्नै काबुमा राख्ने उपाय खोजेका छन्। छोरा राजाबाबुलाई गाउँपालिका अध्यक्ष र भाइ श्रीनन्दनप्रसाद यादवलाई वडाध्यक्षमा निर्वाचन जिताएका शिवपुजनले पत्नी मीनादेवी यादवलाई प्रतिनिधि सभामा माओवादी केन्द्रको समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश गराएका छन्। 

उनका २२ वर्षीय छोरा राजाबाबु गएको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षमा विजयी भए। घरमा बाँकी शिवपुजनकी छोरी मधुमाला मात्र थिइन्। यसपालि छोरीलाई पनि उनले ‘सेट’ गरिदिए। छोरीले चुनाव जित्नेमा उनी ढुक्क छन्। 

आफ्नो परिवारले मात्र जनताको सेवा गर्न सक्ने हुँदा सबै परिवार राजनीतिमा होमिएको बताउँदै उनी भन्छन्, ‘मधुमालाले चुनाव नजिते यतिका वर्ष मैले यहाँ राजनीति गरेको के काम भयो र?’ 

बुबाको कुरामा सही थाप्दै आफूले जिते मधेशमा महिला अधिकारमा काम गर्ने बताउने मधुमालााले पनि राय परिवारले मात्र गरिब दुखीयारीहरुको उद्धार गर्नसक्ने बताइरहेकी थिइन्। आफ्नो परिवारको बखान गर्दै उनी भन्छिन्, ‘हामी उठेका होइनौँ, जनताले घर नै घेरेर उठ्न बाध्य पारेका हुन्।’ 

शिवपुजनले यो निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेरै प्रतिनिधि सभातर्फ सर्लाही ४ माओवादीको भागमा पार्न आग्रह गरेका थिए। 

‘प्रतिनिधि सभा कांग्रेसको भागमा पर्ने हो भने प्रदेश सभाका दुवै क्षेत्र माओवादीलाई चाहिन्छ है भन्ने सुझाव पनि मैले प्रचण्डजीलाई दिएको थिएँ,’ शिवपुजनले भने, ‘तर, मेरो आग्रह अनुसार यहाँका निर्वाचन क्षेत्र माओवादीको भागमा नपरेपछि मैले छोरीलाई स्वतन्त्र उम्मेदवारमा खडा गरेको हुँ।’

मनोनयनअघि र पछि पनि प्रचण्डले फोन गरेर ‘शिवपुजनजी, यसपटक गठबन्धनका उम्मेदवारलाई सहयोग गरौँ है’ भनेका थिए। तर, आफूले प्रचण्डको आग्रहलाई नमानेको उनले बताए। 

‘प्रचण्डजीको आग्रहलाई मैले मानिनँ। मनोनयनको अघिल्लो दिन ‘हामी आफैँ जित्छौँ भने अरुलाई किन सहयोग गर्ने’ भन्दै जनता मेरो घर घेर्न आइपुगे,’ शिवपुजनले भने, ‘यही परिवारबाट उम्मेदवार बन्नुपर्छ’ भनेर दबाब दिन थाले। त्यसपछि मैले वीर अस्पतालमा काम गर्दै गरेकी छोरीलाई बोलाएर उम्मेदवारी दर्ता गर्न लगाएको हुँ।’

सत्तारुढ गठबन्धनले प्रदेश सभातर्फ सर्लाही ४ को (क) मा कांग्रेसका वीरेन्द्रप्रसाद सिंह र (ख) मा माओवादीका फकिरा महतोलाई उम्मेदवार बनाएको छ।

‘फकिराजीलाई मैले पनि भोट मागिरहेको छु। समानुपातिक मत पनि मैले हँसियाहथौडामै मागेको छु,’ शिवपुजन भन्छन्, ‘छोरीलाई स्वतन्त्रबाट चुनाव लडाए पनि म त माओवादी नै हुँ नि। अर्को पार्टीलाई भोट माग्ने त कुरै हुँदैन।’

‘प्रचण्डजीलाई मैले यो क्षेत्रमा मेरो प्रभावले समानुपातिकतर्फ पनि माओवादीलाई सबैभन्दा धेरै भोट आउँछ है भनेको थिएँ,’ शिवपुजनले भने, ‘अध्यक्ष प्रचण्ड आफैँले मेरी पत्नीको नाम समानुपातिकको बन्द सूचीमा राखिदिनु भएछ। त्यो मैले भनेर राखिदिनु भएको होइन।’

बुबा शिवपुजन राय यादव

विरासतमै राजनीति
हाल ५१ वर्ष उमेरका शिवपुजन ०६४ अघिसम्म नेपाली कांग्रेसमै सक्रिय थिए। तर, उनी आफूले माओवादीलाई जनयुद्धकै बेलादेखि सहयोग गर्दै आएको दाबी गर्छन्। उनका बुबा अमेरी राय पञ्चायतकालमा एकपटक गाउँ पञ्चायतको अध्यक्ष भए। बहुदल आएपछि तीनपटक गाविस अध्यक्षमा विजयी बने। 

‘मेरा बुबा, हजुरबाले गाउँमा मात्रै राजनीति गर्नु भयो,’ शिवपुजनले भने, ‘तर, मैलै एकैपटकमा माननीय नै जितेँ। अब मेरो उत्तराधिकारीको रुपमा छोरा र छोरी राजनीतिममा आएका छन्। उनीहरुले पनि अब पछाडि फर्किनु पर्दैन।’ 

शिवपुजनकै कारण भारतसँग सीमा जोडिएको सर्लाहीको बलरा नगरपालिका र रामनगर गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएको उनको दाबी छ। रामनगर गाउँपालिकाको अध्यक्ष उनकै छोरा राजाबाबु छन् भने बलराको मेयरमा माओवादीबाटै रमाशंकर कुशवाहा विजयी भएका छन्। 

‘बलरामा कोही माओवादी थिएन,’ शिवपुजन आफ्नो शक्तिको धाक लगाउँदै भन्छन्, ‘मास्टर पेसामा रहेका रमाशंकरजीलाई मैले नै माओवादीको तर्फबाट मेयरमा उम्मेदवारी दिन लगाएँ। चुनावी अभियान मैले नै सम्हालेँ। जसको प्रभावस्वरुप मेरो पालिका र बलरा नगरपालिका माओवादीले जित्यो। यो ठाउँमा म जता लाग्छु, जनता उतै लाग्छन्।’

शिवपुजनका अनुसार उनका हजुरबा धरखन राय २००९ सालमै नेकपामा लागेका थिए। 

‘त्यतिबेला उहाँ पार्टीको जिल्ला सचिव पनि हुनु भएको थियो रे,’ विगत सम्झिँदै उनले भने, ‘अहिले हाम्रो परिवारबाट चौथो पुस्ता राजनीतिमा सक्रिय हुँदैछ। यो मेरा पितापुर्खाको पनि देन हो।’

हामी शिवपुजनसँग मात्रै गफिएको देखेपछि छोरी मधुमाला हामीसँग थप संवाद गर्न अघि सरिन्। बुबाको राजनीतिक प्रभावको पुष्टि गर्दै उनले भनिन्, ‘यो क्षेत्रका नागरिक हाम्रो घरबाहेक अर्को घरका उम्मेदवारले चुनाव जित्न सक्दैनन् भन्ने ठान्छन्। नत्र स्वतन्त्र उम्मेदवारको पक्षमा यस्तो माहोल तपाईंहरुले देख्न पाउनु हुने थिएन।’

शिवपुजन अहिले माओवादीको कुनै पनि कमिटीमा छैनन्। तर सर्लाही ४ मा माओवादीको नाममा उनको राजनीतिक दबदबा कायम छ। 

‘पहिला म प्रदेश समितिमा थिएँ। अहिले म माओवादीप्रति आस्थावान मात्रै हो। पार्टीको कुनै ठूलो पदमा बसेको छैन।’ 

शिवपुजन आफ्नी छोरीलाई जिताउने अभियानमा लागेपछि गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका नागेन्द्रकुमार राय भने पराजयको त्रासमा छन्। माओवादीको मधेश प्रदेश समितिले गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने र समर्थक तथा प्रस्तावक बस्ने ११ जना नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्कासन गरिसकेको छ।

पार्टीको त्यो कारबाहीले शिवपुजनलाई भने कुनै असर गरेको छैन। 

‘मबाहेक माओवादीका कुनै पनि नेताले भनेर यहाँ न माओवादीको एक भोट बढ्छ, न एक भोट घट्छ,’ शिवपुजनले भने, ‘यहाँ माओवादी मेरै कारणले बलियो बनेको छ। नत्र ०७४ अघिसम्म यो ठाउँमा को माओवादी थियो र?’ 

शिवपुजनकी छोरी मधुमालाले कक्षा १० सम्म गाउँकै सरकारी विद्यालयमा पढिन्। उच्च शिक्षा अध्ययनका लागि उनी भारत गइन्। ६ वर्ष भारतमा बसेर उनले स्टाफ नर्स सकिन्। कोरोनाको पहिलो लहरपछि नेपाल फर्किएकी उनले सुरुमा केएमसीमा स्वयंसेवा गरिन्। पछि वीर अस्पतालमा करार सेवामा भर्ना भइन्। मनोनयनअघिसम्म उनी वीर अस्पतालमा कार्यरत थिइन्।

प्रतिनिधि सभाको उम्मेदवार बनेपछि भने उनको दैनिकी बदलिएको छ। अहिले उनी साँझबिहान नभनी हरेक दिन मतदातालाई भेट्दै आफ्नो क्षेत्रमा घरदैलो अभियान चलाइरहेकी छन्। आफ्नो विजयप्रति ढुक्क देखिएकी मधुमालाले नेपालखबरसँग भनिन्, ‘यहाँका मतदाताले महिला उम्मेदवार खोज्नु भएको थियो। त्यो अभाव मैले पूर्ति गरेकी छु। संसदमा पुगेपछि म महिलाकै पक्षमा लड्ने छु।’

बुबाले जनताको पक्षमा काम गरेकै कारण भाइले गाउँपालिका अध्यक्ष जितेको उनले सुनाइन्। 

‘बुबाकै प्रभावले भाइ राजाबाबु हाम्रो गाउँपालिकाको अध्यक्ष भएको छ। म प्रतिनिधि सभामा विजयी हुने पनि बुबाकै कारणले हो।’

अब आफू निरन्तर जनताकै सेवामा रहने अठोट उनले गरेकी छन्। 

‘अब म चुनाव हारे पनि राजनीतिबाट पछि फर्किंन्न। राजनीतिलाई राम्रो बनाउन म यो क्षेत्रमा आएको छु,’ उनले भनिन्, ‘मधेशका महिला धेरै पछि परेका छन्। अशिक्षा छ। उनीहरु घरबाहिर निस्कन सक्दैनन्। घुम्टोभित्रै जीवन वित्छ। म उनीहरुलाई यो अवस्थाबाट बाहिर निकाल्न प्रयास गर्ने छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .