बाल यौन दुरुपयोगको आरोपमा जिल्ला अदालत नवलपुरले दोषी ठहर गरेका नायक पल शाहलाई सफाइको माग गर्दै उच्च अदालत पोखरामा निवेदन परेको छ।
शाहका कानुन व्यवसायीले शुक्रबार जिल्ला अदालतको फैसला उल्ट्याई सफाइ दिन माग गर्दै उच्च अदालतमा पुनरावेदन गरेको अधिवक्ता कमला मोहन वाग्लेले जानकारी दिए।
नाबालिग बालत्कारको अभियोगमा सफाइ दिए पनि अदालतले बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद र १० लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको थियो।
‘नवलपुर जिल्ला अदालतले बाल यौन दुरुपयोग गर्यो भन्ने फैसला गर्यो। यो फैसला कानुनसम्मत नभएको हुनाले फैसला उल्टी गरी सफाइ पाउँ भनी हामी उच्च अदालतमा पुनरावेदन गर्न गएका हौं’, वाग्लेले भने।
पल शाहलाई जबरजस्ती करणीको कसुरमा अभियोग लगाइएको थियो। अदालतले जबरजस्ती करणी गरेको ठहर नभएको भन्दै उक्त अभियोगमा सफाइ दिएको थियो। तर बालबालिकालाई यौन आसयले क्रियाकलाप गरेको भन्दै बाल यौन दुपयोगमा सजाय गरेको थियो।
शाहविरुद्ध बलात्कारकै आरोपमा जिल्ला अदालत तनहुँमा पनि मुद्दा दर्ता छ। जिल्ला अदालतमा मंसिर २५ गतेलाई पेशी तोकिएको छ। पल तनहुँको कारागारमा छन्।
प्रतिक्रिया