राजनीति


घनश्याम भुसालको आरोप : ओलीले कांग्रेसलाई पनि छिचिमिरा ठाने, उनीसँग नैतिकता छैन

घनश्याम भुसालको आरोप : ओलीले कांग्रेसलाई पनि छिचिमिरा ठाने, उनीसँग नैतिकता छैन

फाइल तस्बिर


नेपालखबर
कात्तिक १३, २०७९ आइतबार १५:१, काठमाडौँ

नेकपा (एमाले)का पूर्वउपमहासचिव घनश्याम भुसालले केपी ओलीसँग नैतिकता नै नभएको टिप्पणी गरेका छन्। 

नैतिकता भएको भए आफैंले विघटन गरेको संसद पुनस्र्थापित भएपछि उनले प्रधानमन्त्रीबाट मात्र नभई सांसदबाटै राजीनामा दिनुपर्नेमा त्यसो नगरेको उनको भनाइ थियो । 

आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै भुसालले ओलीलाई जनताको अधिकार सुनिश्चित गरिएको संविधानलाई नै इन्कार गरेपछि आफूहरुले त्यसविरुद्ध आन्दोलन गर्नु परेको जिकिरसमेत गरे। 

सत्तारुढ गठबन्धनको साथ लिएर रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार बनेका उनले ओलीमा पछिल्लो पटक प्रधानमन्त्री बनेपछि दम्भ चढेको बताए।

त्यसले संविधानमाथि नै आक्रमण गरेपछि आफूहरुले विरोध गर्नुपरेको उनले उल्लेख गरे। 

‘पछिल्लो पटक जब उहाँ प्रधानमन्त्री हुनु भयो। त्यसपछि उहाँले सब कमिला हुन् भन्नु भयो। यी पार्टीका पनि कमिला बराबर नै हुन्। यी जनता भनेका, अरु पार्टी र कांग्रेस भनेका यी छिचिमिरा हुन । यिनको काम छैन भन्ने हिसाबले सोच्नु भयो', उनले भने, 'संसारमा कोही छ भने म छु । कोही प्रतापि छ भने म छु । कसैसँग त्यो सामर्थ्य छ भने त्यो मसँग छ । मसँग जति यो सामर्थ्य, बुद्धि, क्षमता यो धर्तीमा कसैसँग पनि छैन भन्ने त्यो अभिमान विकसित भयो।'

भुसालले ओलीमा ठूलो हुनमान हुने झाक चलेको पनि बताए। 'उहाँलाई भयंकर ठूलो हनुमान झाक चल्यो। अनि हनुमान नाच्नेले फलफूल भाँच्छ त्यस्तै उहाँले गर्न थाल्नु भयो। एमालेमा त समस्या बनाउनु भएको थियो थियो । उहाँले संविधान र संसदमाथि पनि आक्रमण गर्न थालेपछि मुलुकले पनि समस्या व्यहोर्न थाल्यो', उनले भने, 'अनि उहाँले संसद विघटन गरिदिनु भयो । त्यो संविधान यत्रो रगत, पसिना बगाएर ल्याएको, जनताले ७० वर्षसम्म लडेर ल्याएको हो। त्यसपछि हामीले उहाँको विरोधमा उत्रनुपर्ने भयो। संसद विघटन गरेपछि त्यसको विरुद्धमा, संविधानको पक्षमा त्यस उत्रियौँ। कस्तो अप्ठ्यारो भयो भने या त केपीजी चुन्नुपर्ने भो वा संविधान चुन्नुपर्नेभो। अनि, हामी सडकमा निक्लनुपर्ने अवस्था आयो।'

अदालतले संसदलाई पुनस्थापित गरिदिएपछि थोरै नैतिकता भएको भए आफैँले विघटन गरेको संसदमा ओलीले राजीनामा दिनुपर्ने उनले बताए। तर उनले प्रधानमन्त्री र संसद दुवैबाट राजीनामा नदिइ बसेको भुसालले बताए। 

नेता भुसालले नेपाली जनताले ठूलो रगत र पसिना बगाएर ल्याएको संविधानको बर्खिलापमा ओली लागेको आरोप समेत लगाए। भुसालले ओलीले संविधानलाई कागजको खोष्टो बनाउन खोजेको जिकिर पनि गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad