ad ad

राजनीति


गएको पाँच वर्ष खेर गयो, अब खेर जान दिन्नौँ : गगन थापा

गएको पाँच वर्ष खेर गयो, अब खेर जान दिन्नौँ : गगन थापा

नेपालखबर
कात्तिक ९, २०७९ बुधबार १८:४६, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्तारुढ गठबन्धन विजयी हुने दावी गरेका छन्।

काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत रहेका महामन्त्री थापाले सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा विजयी भएर सरकार बनाउने बताएका हुन्।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतको पाँच वर्ष खेर गएको उल्लेख गर्दै आफूहरुले जितेपछि भने त्यो समयलाई खेर जान नदिने प्रतिवद्धता व्यक्त गरे।

उनले भने, ‘गएको पाँच वर्ष खेर गयो। अबको पाँच वर्ष खेर जान दिनु हुन्न। त्यो जान नदिने जिम्मेवारी हाम्रो हो। मैले त नेताहरुलाई भनेको छु–पाँच वर्ष पनि होइन। गठबन्धन त जित्यो, जित्यो अब। संघमा पनि जित्यो, सात वटै प्रदेशमा पनि जित्यो। सात वटा प्रदेशमा पनि हाम्रो सरकार बन्ने हो। संघमा पनि हाम्रो सरकार बन्ने हो। हामी मिलेर पाँच वटा पार्टीको जोड्दै गर्दा त देशभरको स्थानीय सरकार त हाम्रो ४५० भन्दा बढि पुग्छ। अनि ४५० वटा भन्दा बढि स्थानीय सरकार हाम्रो हुने, ७ वटा प्रदेशको सरकार हाम्रो हुने। अनि, संघको सरकार हाम्रो हुने। त्यो जनमत हामीले प्राप्त गर्ने।’

महामन्त्री थापाले निराश र आक्रोशित जनताको मत लिएर सरकार बनेपछि सत्तारुढ गठबन्धनले त्यसलाई खेर जान नदिने गरी काम गर्नुपर्ने पनि स्पष्ट पारे। जनमतको कदर हुने गरी काम गर्न सकिएन भने जनताले विरोध गर्ने उनको भनाई थियो। 

उनले भने, ‘निराश र आक्रोशित भएको जनताको त्यत्रो तागत लिएर आएपछि हामीले काम गर्न सकेनौँ। जनतालाई महशुस गराउने सकेनौँ, संकेत मात्र पनि दिन सकेनौँ भने त्यो बेलामा हाम्रो हालत पनि के हुन्छ भने सिंहदरवारमा हुन्छौँ। सांसदको टाउको गनिरहेका हुन्छौँ। बहुमत पुगिरहेको हुन्छ। तर, बाहिर सडकमा जनता निस्केर हाम्रो विरुद्धमा संघर्ष गरिरहेको हुन्छ। हामी यो कुरामा प्रष्ट हुन आवश्यक छ। यो चुनौति सानो छैन।’

महामन्त्री थापाले आगामी निर्वाचनपछि आफूले सरकारको नेतृत्व गर्न चाहेको पनि दोहोर्याए। त्यसका लागि पार्टीभित्रका साथीहरुले आफूलाई साथ दिनुपर्ने उनको भनाई थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .