नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले थोरैमात्र शक्ति आर्जन गरेपनि देश नै छाडेर भाग्नपर्ने स्थिति सिर्जना हुने टिप्पणी गरेका छन्। शुक्रबार लुम्बिनी प्रदेशको बुटवलमा आयोजना भएको सत्ता गठबन्धनको प्रदशस्तरिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो टिप्पणी गरेका हुन्।
‘केपी ओलीले अलिकति शक्ति आर्जन गरे भने, बहुमतको त कुरै छाड्नुस्, त्यसपछि देश नै छाडेर भाग्नुपर्ने हुन्छ,’ नेपालले सम्बोधनको क्रममा भने, ‘तिनले गणतन्त्रलाई जोखिममा राख्नेछन्। किन? जम्मै प्रतिगामी शक्तिसँग उनको साँठगाँठ छ।’
अध्यक्ष नेपालले राप्रपाको नीति नै इतिहासको रछ्यानमा फालिएको संस्थालाई जोगाउने खालको भएको भन्दै एमालेले गठबन्धन गरेका सबै दलहरु प्रतिगामी र लोकतन्त्र विरोधी भएको बताए।

‘राप्रपाको नीति क्लिएर नै छ, राजतन्त्रलाई पुनःस्थापित गर्ने, इतिहासको रछ्यानमा फालिएको संस्थालाई जिउँदो बनाउने र सत्ता उनको हातमा पुर्याउने शक्तिसँग साँठगाँठ छ,’ अध्यक्ष नेपालले सम्बोधनको क्रममा भने, ‘देशलाई कमजोर बनाउने शक्तिसँग उनको साँठगाँठ छ। यस्तो साँठगाँठ भएपछि त्यो गठबन्धन के अग्रगामी हुनसक्छ?’
उनले एमालेले गरेको गठबन्धन प्रतिगामी, अपवित्र, अनुचित र देशघाती भएको समेत दोहोर्याए। यसअघि ललितपुरमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा पनि एमालेको गठबन्धन अपवित्र भएको बताएका थिए। ‘एमालेको गठबन्धन प्रतिगामी, अपवित्र, अनुचित र देशघाती गठबन्धन हो,’ नेपालले भने, ‘हाम्रो गठबन्धन सबै हिसाबले अपरिहार्य, देशको माग लगायतका कारणले उपयुक्त गठबन्धन हो।’
‘घनश्यामले साबुन पानीले धुन खोज्नुभयो, पार लागेन’
नेकपाकालिन बेलामा अध्यक्ष ओलीलाई प्रचण्ड र आफूले धेरै सल्लाह र सुझाव दिएको भएपनि ओलीले त्यसलाई वास्ता नगरेको नेपालको भनाई थियो। साथै, एमालेबाट राजीनामा दिएका नेता घनश्याम भुसालले निकै धोइपाखली गर्नका लागि प्रयास गरेपनि पार नलागेको व्यंग्य नेपालले गरे।
‘आफू र प्रचण्डले दिएको सल्लाह सुझाव ओलीलाई नपचेको उनले टिप्पणी गरे। ‘कमरेड घनश्याम भुसालले बोल्नुभएको भए क्या स्वाद आउने थियो,’ नेपालले भने, ‘नयाँ अनुभव सहित, हामी त आजित भएर हिँडेको, उहाँ त सुधार्नको लागि बस्नुभएको,’ नेपालले भने, ‘साबुन पानीले धुन खोजेको खोज्यै गर्नुभयो, तर पार लागेन्।’
ओलीले जे जे काम गरेका छन त्यो पल्टाउँदा सबै किसिमका अनुचित कुराहरु भएको देखिने नेपालको भनाई थियो। ‘यस्तो नहोस भनेर हामीले आवाज उठाउँदा मलाई काम नै गर्न दिएन भनेर रोएका हुन्छन्।’ नेपालले भने।

ओली सुध्रनेवाला नभएको धेरैतिरबाट आफूले सुनेको बताए। ‘कता कता नयाँ तानशाह र हिटलरको जन्म भएको जस्तो लाग्छ, त्यसकारण होसियार।’ उनले भने।
आफूहरुले पहल नगरेको भए देश क्षत विक्षतको आवस्थामा जाने अवस्था सिर्जना भएको नेपालको टिप्पणी थियो। ‘हामीले जोखिम नउठाएको भए देश आज राजनीतिक स्थिरतामा अघि बढ्ने थिएन। देशमा अधिनायकवाद हावि हुने थियो। एक व्यक्रि सत्ता हावि हुने थियो। देशको हितमाथि कुठाराघात हुने थियो,’ नेपालले सम्बोधन गर्दै भने।
Shares

प्रतिक्रिया