नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी समितिको बैठकमा सरकारको भूमिका कमजोर भएको भन्दै आलोचना भएको छ। धुम्बाहारीमा जारी समितिको बैठकमा १२ स्थायी समिति सदस्यहरुले सोमबार धारणा राखेका थिए। उनीहरुले पार्टी र सरकारको नेतृत्वको आलोचना गरेका छन्।
लामो समयमा बैठक नराखेकोदेखि सरकारले जनहीतमा काम गर्न नसेको, सचिवालय समावेशी नभएको विषयमा समेत बैठकमा कुरा उठेको थियो। बैठकमा महिला नेतृहरु अष्टलक्ष्मी शाक्य र पम्फा भुसालले सचिवालयलाई समावेशी बनाउनु पर्ने माग गरेका थिए। दुवै नेतृले सचिवालयलाई १५ सदस्य बनाएर त्यसमा महिलाको पनि प्रतिनिधित्व सुनिश्चित गर्न माग गरे।
उनीहरुले स्थायी समितिको एक तिहाईको संख्याको सचिवालयका बनाउनु पर्ने माग गरेका थिए। अहिले स्थायी समिति ४५ सदस्यीय रहेको छ सचिवालयमा ९ सस्यीय मात्रै रहेको छ। ‘उहाँहरुले सचिवालयमा एक तिहाइ सदस्य बनाउनु पर्ने माग गर्नु भएको छ,’ स्थायी समितिका सदस्य गणेश साहले भने, ‘समितिलाई समावेशी बनाउनु पर्ने विषय उठाउनु भएको छ।’
बैठकमा सदस्यहरुले एक वर्षसम्म स्थायी कमिटीको बैठक नराखेको भन्दै नेतृत्वको आलोचना गरेका थिए। बैठक नराखेको विषयमा नेतृत्वले आत्मआलोचना गरेर मात्रै नपुग्ने नेताहरुले बताए। युवराज ज्ञवालीले आत्मआलोचना गरेर मात्रै नपुग्ने र विधानले तोकेअनुसार बैठक राखेर मात्रै नेतृत्वले माफी पाउने बताए।
‘एक वर्ष बैठक नबस्दा धेरै क्षति भयो। त्यस जिम्मेवारी कसले लिने हो? शक्ति सन्तुलनमा विषयमा समेत प्रतिवेदन गोलगोटल रुपमा आएको छ,’ बैठकमा राखेको धारणा उद्धृत गर्दै साहले भने, ‘सरकारले ठूलो कुरा गरेर मात्रै भएन। ठेकेदारलाई त्यसले प्रत्यक्ष लाभ होला तर जनताको विषयमा ध्यान दिनुपर्छ।’
नेता भीम रावलले परराष्ट्र मामिलामा सरकार चुक्दै गएको बताएका थिए। रावलले मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी)मा अमेरिकाका इन्डो प्यासेफिक कै अंग भएको भन्ने अमेरिकी अधिकारीहरुको भनाइलाई उद्धृत गदै सरकार फसेको बताएका थिए। ‘कुनै पनि सैनिक गठबन्धनमा सहभागी हुने भन्ने विषयमा हामी किन चुक्यौं,’ रावलले बैठकमा बताए। बैठकमा रावलले उपाध्यक्ष थप्नुको औचित्य के हो भन्ने प्रश्न समेत गरेका थिए।
एमसिसीको बारेमा रावलको जस्तै धारणा देव गुरुङको पनि रहेको थियो। उनले एमसिसीले नेपालको संविधानले तय गरेको विदेश नीतिलाई उल्लंघन गर्ने बताए।
तीन तीन महिनामा हुनुपर्ने स्थायी समितिको बैठक एक वर्षपछि आइतबारबाट शुरु भएको हो। सोमबारको बैठकमा बामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, अग्नि सापकोटा, देव गुरुङ, योगेश भट्टराई, गणेश साह, देबेन्द्र पौडेल, छविलाल विश्वकर्मा, मुकुन्द न्यौपाने, पम्फा भुसालले धारणा राखेको थिए।

प्रतिक्रिया