कारोबार


अन्तर्राष्ट्रिय विमानस्थल एक्कसाइस घण्टा सञ्चालन हुने

अन्तर्राष्ट्रिय विमानस्थल एक्कसाइस घण्टा सञ्चालन हुने

सिबी अधिकारी
मंसिर ३०, २०७६ सोमबार १५:१७,

मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गलगायत जीर्णोद्वारको दोस्रो चरणको काम सकिएको छ। योसँगै अब अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनयोग्य भएको छ।

गत भदौ १५ देखि पुस १५ सम्मका लागि दैनिक सात घण्टा विमानस्थल बन्द गरी मर्मतको काम शुरु गरिएको भए पनि निर्धारित समयअघि नै जीर्णोद्वारको काम सकिएको विमानस्थलले जनाएको छ। विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग र ट्याक्सी वे मर्मतको काम सम्पन्न भएको राससलाई जानकारी दिए। आगामी ३१ डिसेम्बरदेखि विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आउने उनको भनाइ छ।

'विमानस्थल २१ घण्टा सञ्चालनका लागि हामी त आजै तयार छौं तर उडान भर्ने वायुसेवा प्रदायक कम्पनीलाई हामी सञ्चालनयोग्य भयौँ भनेर पत्राचार गर्नुपर्‍यो त्यसैले ३१ डिसेम्बरसम्म उडानका लागि तयारी गर्न एयरलाइन्सहरुसँग छलफल गरी आग्रह गरिसकेका छौँ', महाप्रबन्धक केसीले भने।

उनले नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै विमानस्थलको जीर्णोद्वारको काम सकेर विमानस्थललाई हरहिसाबले तयारीयोग्य बनाइएको बताए। सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने अघिल्लो पटक बजेट तथा नीति कार्यक्रममै घोषणा गरेको थियो।

विमानस्थलको जीर्णोद्वार सकेपछि विमानस्थलको क्षमता बढ्ने र हालको चाप न्यूनीकरण हुने अपेक्षा गरिएको छ। सन् २०२० को मार्च महिनादेखि सञ्चालनमा ल्याउने गरी तीव्रगतिमा निर्माण भइरहेको भैरहवास्थित गौतमबुद्ध अन्तरर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि काठमाडौँ विमानस्थलका चाप व्यवस्थापनमा सहज हुने अधिकारीले बताउँदै आएका छन्।

यो आयोजनाको हाल ९० प्रतिशत भौतिक प्रगति छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि द्रुतगतिमा भइरहेको छ। हाल उक्त विमानस्थलको भौतिक प्रगति ५० प्रतिशत भन्दामाथि रहेको आयोजनाले जनाएको छ । विमानस्थलले मर्मतको काम निर्धारित समय अगावै सम्पन्न गरेर सफल उदाहरण प्रस्तुत गरेको महाप्रबन्धक केसीले बताए।

यो अवधिमा विमानस्थलको तीन हजार मिटर लामो धावनमार्ग कालोपत्र, ट्याक्सी वे कालोपत्र गर्ने र बत्ती जडानको काम सकिएको छ। दोस्रो चरणमा रनवे सेन्टरलाइन लाइट फेर्ने तथा ट्याक्सी वे र रनवे जोड्ने लिङ्क रोड निर्माण लगायतको कामसमेत सकिएको छ।

अबको १३ दिनपछि शुरु हुने नेपाल भ्रमण वर्षका लागि अन्तरराष्ट्रिय विमानस्थलको प्रगतिलाई एक सुःखद क्षणको रुपमा लिन सकिन्छ। कतिपय ठूला आयोजना निर्माणमा विलम्ब भइरहेका बेला विमानस्थलको जीर्णोद्वार निर्धारित समयअघि नै सकिनुले अन्य आयोजनालाई पनि घचघच्याउने उदाहरणीय बनेको छ ।

यसअघि मर्मतको अवधिमा विमानस्थल बेलुका साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल बन्द हुन्थ्यो। विमानस्थलको पहिलो चरणअन्तर्गत २०७५ चैत १८ देखि २०७६ असार १५ गतेसम्म विमानस्थलको धावनमार्ग मर्मतको काम गरिएको थियो।

विमानस्थलको धावनमार्ग तीन हजार ५० मिटर लम्बाइ र ४६ मिटर चौडाइको छ। उक्त अवधिमा रातको १० बजेदेखि बिहान ८ बजेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गरी मर्मतको काम गरिएको थियो।

विमानस्थल विकास शुल्कबापत यात्रुबाट लिइँदै आएको रु एक हजार सङ्कलनबाट विमानस्थल मर्मतको काम गरिएको हो। रु चार अर्ब ७८ करोड लागतमा धावनमार्ग मर्मतसम्भारको जिम्मा चीनको सरकारी कम्पनी चाइना नेशनल एरो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङले पाएको थियो।

अन्तरराष्ट्रिय विमानस्थल निर्माण इतिहासमा पहिलोपटक धावनमार्ग पुनः सुधार गरिएको नियामक निकाय नेपाल नागरिक उड्डायन प्राधिकरणले जनाएको छ। प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले धावनमार्ग स्तरोन्नतिको काम गरेको हो।

लामो समयदेखि धावनमार्गको कालोपत्र उप्किदा पटक–पटक समस्या परेपछि सरकारले धावनमार्ग पूर्णरूपमा मर्मत ‘रनवे रिह्याब’ गर्ने योजना बनाएको थियो। देशकै ऐनाका रूपमा रहेको संवेदनशील मानिने अन्तरराष्ट्रिय विमानस्थलको जीर्णोद्वार गरी भरपर्दो र विश्वसनीय सेवा उपलब्ध गराउने उद्देश्यले विमानस्थल मर्मतको काम उच्च प्राथमिकतामा परेको प्राधिकरणले जनाएको छ।

सन् १९८० मा निर्माण भएको धावनमार्ग अहिलेसम्म विस्तार तथा मर्मत हुन सकेको थिएन। सन् २०१४ बाटै विमानस्थलको धावनमार्ग बिग्रन शुरु भएको थियो। त्यसपछि २४ सै घण्टा द्रुत उद्धारटोली बनाएर सतर्क अवस्थामा राखिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad