भूमिसुधार तथा मालपोत कार्यालय सिरहामा कार्यरत निमित्त कार्यालय प्रमुख मालपोत अधिकृत रामबाबु मण्डलविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएकाे छ।
मण्डलले उच्च अदालत जनकपुर, राजविराज इजलासको पुनरावेदनमा विचाराधिन रहेको मुद्दाको सिलसिलामा सेवाग्राहीको नाममा कायम हुन आएको खुल्ने निर्णयसहितको माग भएको कागजातहरु उपलब्ध गराउन आनाकानी गर्दै सेवाग्राहीसँग घुस रकम माग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
विशेष सूचनाको आधारमा आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले मण्डललाई पाँच लाख रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
मण्डलले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको स–प्रमाण पुष्टि हुन आएकोले मण्डललाई पाँच लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हाे।

प्रतिक्रिया