ad ad

राजनीति


एमाले महासचिवको चुनाव प्रचारमा कांग्रेसको घोषणा पत्र!

एमाले महासचिवको चुनाव प्रचारमा कांग्रेसको घोषणा पत्र!

नेपालखबर
असोज ३१, २०७९ सोमबार १६:५२, काठमाडौँ

दाङ– २ बाट प्रतिनिधि सभाको उम्मेदवार समेत रहेका एमाले महासचिव शंकर पोखरेलको ‘भेरिफाइड’ फेसबुक पेजबाट तीन दिनअघि एउटा चुनावी प्रचार सामग्री पोस्ट भयो। 

उत्तरतर्फबाट आउँदै गरेको रेल, फ्लाइओवर सहितका राजमार्ग, सांस्कृतिक पर्यटनको प्रबद्र्धन झल्काउन जनकपुरस्थित रामजानकी मन्दिर र स्वयम्भूको स्केचको अग्रभाग सहित महासचिव पोखरेलले त्यो प्रचार सामग्रीमा भनेका छन्, ‘परिवर्तन सम्भव छ हाम्रै पालामा।’ 

महासचिव पोखरेलको प्रचार सामग्री पोस्ट भएपछि मिस्टिका देवकोटा नाम गरेकी एकजना सामाजिक सञ्जाल प्रयोगकर्ताले पोखरेललाई जवाफ दिइन्, ‘ल्या, एमाले महासचिव शंकर पोखरेलज्यू कहिलेदेखि कांग्रेसमा आउनु भएको हो? २०७४ को कांग्रेसको घोषणापत्र बोकेर हिँड्नु भएको रहेछ त!’ 

देवकोटाले महासचिव पोखेरललाई व्यंग्य गर्दै लेखेकी छन्, ‘परिवर्तन त सम्भव छ!’ 

उनको व्यंग्यको अर्थ हो, ‘एमाले महासचिव पनि परिवर्तन भएर कांग्रेस भएछन्!’

चुनावका बेला एउटा पार्टीको समर्थकले अर्काे पार्टीका समर्थक, नेता वा उम्मेदवारलाई यसरी उडाउनु स्वाभाविक हो। 

‘परिवर्तन सम्भव छ’ भनेर महासचिव पोखरेललाई उडाउन खोजे पनि पोखरेलले ‘२०७४ को कांग्रेसको घोषणा पत्र बोकेर हिँडेको’ भन्ने देवकोटाको दाबी भने असत्य होइन। 

‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारासहित महासचिव पोखरेलले ‘परिर्वतन सम्भव छ हाम्रै पालामा’ भनेर जुन सचित्र–स्केचसहितको चुनावी सामग्री फेसबुकमा पोस्ट गरेका छन्, त्यो खासमा २०७४ मा नेपाली कांग्रेसले जारी गरेको चुनाव घोषणा पत्रको आवरणको नक्कल हो।

४ मंसिर २०७४ मा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेसले १४ कात्तिक २०७४ मा घोषणा पत्र सार्वजनिक गरेको थियो। पोखरेलले पोस्ट गरेको सामग्रीमा प्रयोग भएको चित्र नै नेपाली कांग्रेसको चुनावी घोषणा पत्रमा थियो।

घोषणा पत्रको सबैभन्दा माथिल्लो भागमा चुनाव चिन्ह रुख र चारतारे झण्डा राखिएको थियो र त्यसको तलपट्टि ‘नेपाली कांग्रेसको घोषणा पत्र : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७४’ लेखिएको थियो। 

त्यसपछि  हिमाल–पहाड र तराईको पृष्ठभूमिमा उत्तरतर्फबाट आउँदै गरेको रेल, स्वयम्भू, ट्र्याक्टरसहितका किसान, रामजानकी मन्दिर, सुरुङमार्ग, व्यवस्थित सहरी मार्ग, फ्लाइओभर र त्यसको तल किसान–मजदुरसहित विभिन्न पेसा–व्यवसायका नेपालीहरुको आकृति अंकित थिए।   

एमाले महासचिव पोखरेलले भने कांग्रेसको चुनाव घोषणा पत्रको सबैभन्दा माथि रहेको चुनाव चिन्ह रुख एवं चारतारे झण्डा र सबैभन्दा तल रहेको किसान–मजदुरसहित विभिन्न पेसा–व्यवसायका नेपालीहरुको चित्र काटी आफ्नो चुनावी सामग्रीको रुपमा पोस्ट गरेका छन्। 

पोखरेल २०७४ को आम निर्वाचनमा प्रदेश सभामा प्रतिस्पर्धा गरी लुम्बिनी (तत्कालीन प्रदेश–५) को मुख्यमन्त्री बनेका थिए। त्यो निर्वाचनमा एमाले–माओवादी केन्द्रबीच गठबन्धन मात्र थिएन, उनीहरुले संयुक्त चुनाव घोषणा पत्र नै जारी गरेका थिए। 

एमाले–माओवादी केन्द्रको चुनावी घोषणा पत्रको अग्रभागमा पनि उत्तरतर्फबाट आउँदै गरेको रेल थियो। त्यसमा ‘चुच्चे रेल’ अंकित थियो। तर, कांग्रेसको घोषणा पत्रमा ‘चुच्चे रेल’ होइन, ‘बुच्चे रेल’ थियो। एमाले–माओवादी केन्द्रको चुनावी घोषणा पत्रमा अंकित ‘चुच्चे रेल’ २०७४ को निर्वाचनमा निकै चर्चित पनि बनेको थियो। 

कांग्रेसको चुनाव घोषणा पत्रको ‘कभर’ लाई काटकुट पारी चुनाव प्रचार सामग्री बनाएर महासचिव पोखरेलले यस्तो बेला आफ्नो फेसबुक पेजमा पोस्ट गरे, जतिबेला उनी एमालेको चुनाव घोषणा पत्रलाई अन्तिम रुप दिन भक्तपुरको पर्यटकीयस्थल लाकुरीभन्ज्याङ जाँदै थिए।

महासचिव पोखरेल अध्यक्ष केपी शर्मा ओलीका साथ शुक्रबार (२८ असोज) मा भक्तपुरको पर्यटकीयस्थल लाकुरीभन्ज्याङ पुगेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .