डडेल्धुरामा प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएका नेकपा एमालेका चक्र स्नेहीले उम्मेदवारी फिर्ता लिएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध चुनाव लड्न उम्मेदवारी दर्ता गराएका स्नेहीले बुधबार मनोनयन फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
उता नेकपा एमालेका नेता विक्रमबहादुर शाहीले दर्ता गराएको स्वतन्त्र उम्मेदवारी कायमै रहेको छ।
एमालेले डडेल्धुरामा नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लाई समर्थन गर्दै प्रतिनिधि सभामा नउठाउने सहमति गरेको थियो।
सहमतिविपरीत एमालेबाट प्रतिनिधि सभातर्फ स्नेही र एमालेकै नेता शाहीले स्वतन्त्रबाट मनोनयन दर्ता गराएका थिए।
तीमध्ये स्नेहीले उम्मेदवारी फिर्ता लिए पनि शाहीको उम्मेदवारी भने कायमै रहेको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए।
प्रतिनिधि सभातर्फ उम्मेदवारी दर्ता गराएका ११ जनामध्ये तीनजना फिर्ता हुँदा ८ जनाको उम्मेदवारी कायमै छ।
प्रतिनिधिसभा तर्फ स्वतन्त्र उम्मेदवारी दिएका दानबहादुर पाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कालीप्रसाद जोशीले उम्मेदवारी फिर्ता लिएका छन्।
यस्तै, प्रदेश सभा (१) मा गणेश प्रसाद जोशी र प्रदेश सभा (२) मा राप्रपाका जयराज अवस्थीले उम्मेदवारी फिर्ता लिएका छन्।
Shares
प्रतिक्रिया