ad ad

राजनीति


खगराज रोक्न पृथ्वीसुब्बाको अर्को प्रस्ताव : जविन्द्रमानलाई गण्डकीको मुख्यमन्त्री बनाऊँ

खगराज रोक्न पृथ्वीसुब्बाको अर्को प्रस्ताव : जविन्द्रमानलाई गण्डकीको मुख्यमन्त्री बनाऊँ

फाइल तस्बिर


नेपालखबर
असोज २४, २०७९ सोमबार १९:५३, पोखरा

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लमजुङका नेता जविन्द्रमान घलेलाई गण्डकीको मुख्यमन्त्रीका रुपमा अघि सार्नुपर्ने बताएका छन्। 

जविन्द्रमान एमालेको तर्फबाट  लमजुङको प्रदेश ‘ख’का उम्मेदवार हुन्। 

पार्टीका संगठन विभाग प्रमुख खगराज अधिकारी मुख्यमन्त्रीको लक्ष्यसहित कास्की क्षेत्र नम्बर १ ‘क’ बाट उम्मेदवार बनिरहँदा गण्डकीका निवर्तमान मुख्यमन्त्रीसमेत रहेका पृथ्वीसुब्बाले यो प्रस्ताव अगाडि सारेका हुन्। 
पृथ्वीसुब्बा आफैँ प्रदेशको मुख्यमन्त्रीमा दोहोरिन चाहन्थे। उनले मंसिर ४ गतेको चुनावमा आफू प्रदेशबाट लड्ने चाहना व्यक्त गरेका थिए।

पृथ्वीसुब्बाको नाम लमजुङको प्रदेशसभातर्फ ‘ख’बाट सिफारिस भएको पनि थियो। तर, पार्टी अध्यक्ष केपी ओलीले उनको कुरा सुनेनन्। 

पृथ्वीसुब्बालाई प्रतिनिधिसभाको टिकट दिएर प्रतिनिधिसभाका निवर्तमान सांसद खगराजलाई प्रदेशमा झारिदिए। 

अन्तिम समयसम्म पनि पृथ्वीसुब्बा प्रदेशमै लड्ने चाहना बोकेर बसेका थिए। 

सोमबार मनोनयन गर्ने समयसम्म पनि उनी संघको चुनाव लड्ने कि नलड्ने भन्ने द्विविधाबीच पोखरामै बसेका थिए। 

तर, अन्तिम समयमा उनी बाध्य भएर प्रतिनिधिसभाको उम्मेदवार बने। 

मनोनयन दर्ताको क्रममा बोल्दै उनले सुरु गरेका बाँकी काम पूरा गर्न प्रदेशमा लड्न चाहेको बताए।

तर पार्टीले आफूलाई केन्द्रमा पठाएकोले मनोनयन दर्ता गरेको उनले लुकाएनन्। 

आफूलाई अध्यक्ष ओलीले टिकट नदिएको र मुख्यमन्त्रीको रुपमा संगठन विभाग प्रमुखलाई उम्मेदवार बनाइएको बुझेका पृथ्वीसुब्बाले सोमबार एमाले लमजुङले गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा गण्डकीमा एमालेले एकल सरकार बनाउने सम्भावना रहेको दाबी गर्दै जविन्द्रमानलाई मुख्यमन्त्रीका रुपमा अगाडि सारे। 

जमिन्द्रलाई इंगित गर्दै गुरुङले थपे,‘लमजुङबाट २ वटै प्रदेश र समानुपातिकको २ जना उम्मेदवारले जित्न सक्यौं भने प्रदेशमा राम्रो स्थान बनाउन सक्छ, भन्न सकिन्न, भोली मुख्यमन्त्री हुनसक्छ।’

जविन्द्रमान यसअघि प्रतिनिधिसभामा सिफारिस भएका थिए। पृथ्वीसुब्बालाई प्रदेशको टिकट दिनुपर्ने माग गर्दै उनीसहितको एक टोलीले अध्यक्ष केपी ओलीलाई पनि भेटेको थियो। 

तर, जविन्द्रमानहरुको कुरा पनि सुनुवाइ भएन। बरु,उनलाई नमागेको प्रदेशतिरको टिकट थमाइयो।

एमालेले गण्डकीमा प्रत्यक्षतर्फ २२ सिट र समानुपातिकतर्फ ११ सिट जित्ने पृथ्वीसुब्बाले जिकिर गरे। कांग्रेस, माओवादी लगायतका दलले भने २०७४ मा पाएको भन्दा कम मत ल्याउने गुरुङले दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .