ad ad

राजनीति


कास्की– २ : हिजो जसका लागि मत मागे, आज उसकै विरुद्ध उम्मेदवारी

कास्की– २ : हिजो जसका लागि मत मागे, आज उसकै विरुद्ध उम्मेदवारी

वाशुदेव मिश्र
असोज २३, २०७९ आइतबार १६:४०, काठमाडौँ

२०७५ साल फागुन १५ गते फुङलिङ नगरपालिका–१०, काफ्लेपाटीको तारेढुंगा भीरमा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनाले आफ्ना खसम नखोसेको भए विद्या भट्टराई सायद अहिले पनि अध्यापनमै व्यस्त हुन्थिन्। पतिको निधनले उनलाई त्यो सुविधा दिएन। तत्कालीन पर्यटनमन्त्री रहेका रवीन्द्र अधिकारीको निधनपछि उनी त्यही निर्वाचन क्षेत्रबाट चुनाव लडिन्।

२०७६ साल मंसिर १४ गते भएको उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट उनी एमालेको तर्फबाट प्रतिनिधि सभा उम्मेदवारी बनिन्। समाजशास्त्रमा एमफिल गरेकी भट्टराईले सो चुनावमा नेपाली कांग्रेसका नेता खेमराज पौडेललाई आठ हजार ४०९ मत अन्तरले पराजित गर्दै सांसद बनिन्। 

उनले २४ हजार ३९५ मत ल्याउँदा कांग्रेस उमेदवार पौडेलले १५ हजार ९८६ मत ल्याएका थिए। र, उनलाई चुनाव जिताउन रातदिन खटिने नेतामध्ये एक थिए–श्रीनाथ बराल। भट्टराईले सांसदको रुपमा पहिलो कार्यकाल पुरा गरिसकेकी छन्। एमालेले उनलाई आउँदो मंसिर ४ गते हुने निर्वाचनमा पुनः उम्मेदवार बनायो। उनले आइतबार मनोनयन दर्ता गरिन् । 

संयोग कस्तो भने उनी यसपटक आफूलाई अघिल्लो चुनाव जिताउन खटिने श्रीनाथ बरालसँगै प्रतिस्पर्धा गर्दैछन्। एमालेमा आएको आन्तरिक खटपटको बेला श्रीनाथले नेकपा एकीकृत समाजवादी रोजे। विद्या पुरानै पार्टीमा अडिइन्। एमालेमा हुँदा पटक–पटक अवसरबाट बञ्चित गरिएका श्रीनाथलाई एकीकृत समाजवादीले कास्की क्षेत्र नम्बर २ को टिकट दियो।

गठबन्धनमा रहेको समाजवादीले दह्रो अडानसहित कास्की २ को टिकट फुत्काउँदा श्रीनाथले अवसर त पाए तर प्रतिस्पर्धा आफ्नै सहकर्मीसँग गर्नुप¥यो। खासमा श्रीनाथ कास्की क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्न चाहन्थे। तर, गठबन्धनले उनलाई एमालेको लालकिल्ला मानिएको कास्की क्षेत्र नम्बर २ मा ल्याइपु¥याएको हो। 

आइतबार निर्वाचन कार्यालयमा उम्मेदवारी मनोनयन गर्न पुगेका श्रीनाथले विद्याकै अगाडि विगत सम्झिए र भने, ‘पहिले तपाईंलाई मैले जिताएँ, अब तपाईंले मलाई सहयोग गर्नुहुन्छ।’ 

मित्रवत् स्वभाव देखाउँदै विद्याले पनि जवाफ फर्काइन्, ‘हिजोजस्तै तपाईंले यसपटक पनि मलाई सहयोग गर्नुहुनेछ।’ 

त्यसपछि उनीहरुले सँगै तस्बिर खिचाए। तस्बिर खिचाउँदा भने उनीहरुसँग आ–आफ्ना पार्टीका अन्य उम्मेदवारहरु पनि सँगै थिए।

उपनिर्वाचनबाट संसद् छिरेकी विद्याले अरु सांसदजस्तो पाँच वर्ष बिताउन पाइनन्। उनी आफूले ५ वर्षे कार्यकाल पुरा गर्न नपाएको र गर्नुपर्ने काम बाँकी रहेको भन्दै मैदानमा छिन्।

‘म जनताको काम गर्न उम्मेदवार भएकी हुँ’,उनले भनिन्, ‘मेरो कामको मूल्याङ्कन गर्दै जनताले मलाई नै मत दिनुहुन्छ।’ 

उता, श्रीनाथले चाहिँ जिल्ला विकास समितिको उपसभापतिको रुपमा कास्की क्षेत्र नम्बरमा धेरै काम गरेको र अब पनि सेवा गर्न उम्मेदवार बनेको बताएका छन्। 

‘हिजो कास्की क्षेत्र नम्बर २ लाई हामीले नै लालकिल्ला बनाएको हो, त्यहाँ हाम्रा शुभेच्छुक हुनुहुन्छ’, श्रीनाथले भने, ‘काम गर्नेलाई जनताले रुचाउने पक्का छ।’

यसअघिको स्थानीय चुनावमा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका धनराज आचार्यले मेयर जितेकाले श्रीनाथलाई बल पुगेको छ भने पुरानो विरासतले विद्यालाई बलियो बनाएको छ। विद्या कास्कीबाट दोस्रो पटक संघीय सांसदमा उम्मेदवारी दिने एक मात्र व्यक्ति हुन् भने प्रमुख पार्टीबाट प्रत्यक्ष चुनावमा होमिने दोस्री महिला। प्रदेश सभातर्फ कास्की क्षेत्र नम्बर २ ‘ख’मा एमालेले मीना गुरुङलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .