ad ad

राजनीति


पूर्वराजा ज्ञानेन्द्रको भिडिओ सन्देश : गणतन्त्र र गठबन्धनको विरोध, राजतन्त्रको वकालत

नागरिकता विधेयकप्रति तीव्र असन्तुष्टि
पूर्वराजा ज्ञानेन्द्रको भिडिओ सन्देश : गणतन्त्र र गठबन्धनको विरोध, राजतन्त्रको वकालत

फाइल तस्बिर


नेपालखबर
असोज १४, २०७९ शुक्रबार ८:२९, काठमाडौँ

पूर्वराजा ज्ञानेन्द्र शाहले दसैँको शुभकामना दिने नाममा गणतन्त्रको विरोध गर्दै राजतन्त्रको वकालत गरेका छन्। 

शुक्रबार बिहान भिडिओ सन्देश जारी गरी पूर्वराजा ज्ञानेन्द्रले सत्ता गठबन्धनको उछितो काढ्दै घुमाउरो तरिकाले अब नेपालमा राजतन्त्र पुनःस्थापना हुनुपर्ने बताएका छन्। 

‘पदलोभ, सत्ता स्वार्थ र भागबन्डा गरेर आफ्नै सुविधा भोगेका लागि राजनीति केन्द्रित हुँदै गएपछि देशको स्थिति र जनताको हालत के हुन्छ’, पूर्वराजा ज्ञानेन्द्रले भिडिओमा भनेका छन्, ‘कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका सबै अंगभित्र उत्पन्न विवाद, विग्रह र विकृति आजको स्थितिले सर्वत्र प्रश्न उठेको छ। देशका प्रति वफादारी र जनताप्रति उत्तरदायी भएर काम गर्ने विधि, व्यवस्था संगठन एवं प्रतिनिधित्वको सही पात्र देशले खोजिरहेको छ।’

यस्तै उनले गणतन्त्र र संघीय व्यवस्थाको विरोध र राजाको आवश्यकताको वकालत यसरी गरेका छन्, ‘पुर्खाले आर्जेको यो स्वाधीन राष्ट्रलाई असफलतातिर धकेल्नु हुन्न भन्ने आम भावना रहेको छ। आफ्ना सनातनी, मूलभूत महिमालाई बिथोलेर, केही संरचना बदलेर, केही नामन्तर गरेर सुन्दर, नौलो नेपाल भइहाल्दो रहेनछ। त्यसैले बलियो मियोमा आबद्ध भएर राम्रो र दरिलो नेपाल बनाउन हामीमा दिव्य चेतना आउनु आवश्यक छ।’ 

यस्तै उनले राष्ट्रपतिले प्रमाणीकरण गर्न अस्वीकार गरेको नागरिकता विधेयकको पनि विरोध गरेका छन्। 

उनले भनेका छन्, ‘एकातिर होनहार नागरिकहरु बाहिर (विदेश) गएर भूभाग र हामीलाई उजाड पारिरहेका छन् भने अर्कातिर बाहिरियाहरूलाई भित्र्याउने र वास्तविक नेपालीलाई धरापमा पार्दै जाने प्रपञ्चप्रति चासो र चिन्ता बढेको छ।’

यस्तो छ, उनको सम्बोधनको पूर्ण पाठ : (अन्तिममा भिडिओ पनि छ)

प्यारा नेपाली दिदीबहिनी तथा दाजुभाइ!
समाजमा सत्य स्थापित गर्ने सद्भाव जागृत गर्ने, दानवी तात्पर्यको नास गर्ने दसैँ पर्वको गहन आदर्श हो। हाम्रो संस्कार र व्यवहारमा दसैँ मनाउँदा विद्यमान पद्धति जीवन प्रकृतिको गहिरो दृष्टि हेर्दै जानुपर्छ। शान्ति होस्, सदाचार रहोस् र आपसी सद्भाव बढोस्। दसैं पर्वको यही आशय हो। त्यसैले यस पावन अवसरमा देशभित्र र बाहिर रहे/बसेका सबै नेपालीहरूलाई हामी मंगलमय शुभकामना व्यक्त गर्दै हामीलाई लागेको छ– कुनै पनि देशभक्त नेपालीलाई यो समय सजिलोसँग बितिरहेको छ जस्तो लाग्दैन।

बहुदलीय संसदीय प्रणालीमा जनताको आशा, आकांक्षाअनुरूप संगठित राजनीतिक दलहरू हुन्छन्। विभिन्न तहका प्रतिनिधिमा स्वस्थ प्रतिस्पर्धाबाट प्रतिनिधित्व हुन्छ। र, तिनबाट जनमनोभावनाको परिपोषित परिपाटी रहन्छ। 

तर आस्था, सिद्धान्त र जनविश्वासका दृष्टिले ती कति निष्ठावान् र जनउत्तरदायी रहे भन्ने आजकाल  जल्दोबल्दो प्रश्न बनेको छ। पदलोभ, सत्ता स्वार्थ र भागबन्डा गरेर आफ्नै सुविधा भोगेका लागि राजनीति केन्द्रित हुँदै गएपछि देशको स्थिति र जनताको हालत के हुन्छ? कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका सबै अंगभित्र उत्पन्न विवाद, विग्रह र विकृति आजको स्थितिले सर्वत्र प्रश्न उठेको छ। यो अवस्थाले जनतामा उत्साह छैन। मुलुकमा भविष्यप्रति र भविष्य निर्माणको कुनै भरोसा छैन।

दायित्व के, गर्ने के, गर्न नहुने के न्यायिक मूल्य के हो, के होइन, यो सबै कुराको निराकरण कसले गर्ने, कोबाट हुने, देश र जनतासामु खट्किएको ज्वलन्त प्रश्न यही हो। देशका प्रति वफादारी र जनताप्रति उत्तरदायी भएर काम गर्ने विधि, व्यवस्था संगठन एवं प्रतिनिधित्वको सही पात्र देशले खोजिरहेको छ। प्रयोग र अभ्यासबाट नै देशलाई बचाउने र बनाउँदै जाने हो।

देशका मौलिक मूल्य र सही विकल्पतर्फ हाम्रो मनोभाव बढ्दो रूपमा  पाइन्छ। पुर्खाले आर्जेको यो स्वाधीन राष्ट्रलाई असफलतातिर धकेल्नु हुन्न भन्ने आम भावना रहेको छ। आफ्ना सनातनी, मूलभूत महिमलाई बिथोलेर, केही संरचना बदलेर, केही नामन्तर गरेर सुन्दर , नौलो नेपाल भइहाल्दो रहेनछ।

त्यसैले बलियो मियोमा आबद्ध भएर राम्रो र दरिलो नेपाल बनाउन हामीमा दिव्य चेतना आउनु आवश्यक छ। नेपाल निरन्तर देशी, विदेशीहरूको क्रीडाभूमि भयो भन्ने जनगुनासो छ। त्यसैले स्वतन्त्र, सार्वभौम नेपाललाई आफ्नै अस्तित्वमा अड्याएर सम्मुनत, सक्षम र समृद्धिको पुनःनिर्माणमा ध्यान दिनुपर्ने देखिन्छ। 

नेपाललाई फेरि महान् बनाउनुपरेको छ। आफ्नै देशमा मौका नभएर हो कि वा नखोजेर हो, रोजगार र कमाउनु भनेर दिनहुँ हजारौंको संख्यामा नेपाली युवा युवती विदेशिइरहेका छन्। एकातिर होनहार नागरिकहरु बाहिर गएर भूभाग र  हामीलाई उजाड पारिरहेका छन् भने अर्कातिर बाहिरियाहरूलाई भित्र्याउने र वास्तविक नेपालीलाई धरापमा पार्दै जाने प्रपञ्चप्रति चासो र चिन्ता बढेको छ। विश्वका दुई ठूला मुलुकका बीचमा अवस्थित हाम्रो देशको धर्म, संस्कृति र सभ्यतामाथि केही समययता घातक प्रहार हुँदै आएको छ। 

....विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लगाउने अवस्था बनेको छ। पहिले पनि हामीले भनिसकेका छौं– हाम्रो कुनै कार्यले देश कहिले पनि हार्न हुँदैन। राष्ट्र, प्रजातन्त्र, मौलिक मान्यताहरू र नेपाली एकता रक्षाका निम्ति एकजुट हुँदै अभिभावकीय राज्य व्यवस्थाको पक्षमा समर्पित रहने देशभक्त नेपालीहरूको चोखो चाहना परिपूर्ति गर्न श्री नवदुर्गा भवानीले प्रेरणा प्रदान गरून्, जय नेपाल!

सुन्नुहाेस् भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .