ad ad

राजनीति


माओवादीबाट प्रतिनिधिसभामा यी नेताले पाउँदैछन् टिकट

अधिकांश संविधानसभा सदस्य, नयाँलाई पनि अवसर
माओवादीबाट प्रतिनिधिसभामा यी नेताले पाउँदैछन् टिकट

सागर न्यौपाने
असोज १३, २०७९ बिहिबार २०:२३, काठमाडौँ

नयाँ संविधान जारी भएपछिको पहिलो प्रतिनिधि सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रले ३६ सिट जितेको थियो। 

त्यसबेला नेकपा एमालेसँग वामगठबन्धन बनाएको माओवादीले ६८ सिटमा उम्मेदवारी दिएको थियो।

स्वतन्त्रबाट जितेका हुम्लाका सांसद छक्कबहादुर लामा माओवादी प्रवेश गरेपछि उसको सिट बढेर ३७ पुग्यो।

त्यसबेला नेकपा एमालेसँग चुनावी तालमेल गरेको माओवादीले पाँच वर्षपछि मंसिर ४ मा हुने चुनावमा कांग्रेससहितको वाम–लोकतान्त्रिक गठबन्धन गरेको छ। 

गठबन्धनको दोस्रो मुख्य घटक माओवादीले प्रतिनिधि सभा तर्फ ४५ सिट पाउने निश्चित छ। एक दुई क्षेत्रमा निर्णय भइसक्न बाँकी छ। 

सिट संख्याबारे छलफल जारी रहेकोले अन्तिम अवस्थामा सहमति गर्न थपघट गर्नेबाहेक बुधबार (१२ असोज) बेलुका साढे ११ बजेसम्म माओवादीलाई ४४ सिट दिन गठबन्धनमा सहमति जुटिसकेको छ। 

त्यसबाहेक बाँकी २ क्षेत्र माओवादीले पाउने निश्चित छ। ती क्षेत्र हुन्, सल्यान, खोटाङ, रुपन्देही १ मध्ये २। 

पाँच वर्षपहिला जितेका सिटभन्दा अहिले ९ सिट बढी क्षेत्रमा उम्मेदवारी दिन पाएको माओवादीले क–कसलाई उम्मेदवार बनाउला?

अध्यक्ष प्रचण्डले टिकट दिने नेताहरुको प्रारम्भिक खाका बनाइसकेका छन्। 

कार्यदल सदस्य समेत रहेका महासचिव देव गुरुङ, उपमहासचिवहरु वर्षमान पुन, गिरिराजमणि पोखरेल र शक्ति बस्नेतले प्रचण्डलाई उम्मेदवार बनाउन योग्य नेताको सूची पेश गरिसकेका छन्। 

तर, सिट संख्या निर्णय घोषणा नभई माओवादीले उम्मेदवारको नाम सार्वजनिक गर्ने छैन। 

माओवादीको भागमा परेका क्षेत्रमा उम्मेदवार बनाउने नेताहरुको प्रारम्भिक सूची अध्यक्ष प्रचण्डको हातमा परिसकेको छ। 

परिस्थितिमा फेरबदल नभए तिनै नेताको उम्मेदवारी पर्ने नेताहरु बताएका छन्। 

तीन आधार टेकेर उम्मेदवारको प्रारम्भिक सूची बनाइएको स्रोतको दाबी छ।

पहिलो, २०७४ को चुनावमा जितेका सबैलाई यसपटक पनि अवसर दिने।

दोस्रो, केही क्षेत्रमा नयाँ र युवालाई अवसर दिने। 

र तेस्रो, निर्वाचन क्षेत्र साटफेर भएका ठाउँमा समानुपातिक मत बढाउने योजनासहित सामाजिक प्रतिष्ठा, पूर्व प्रशासक वा चर्चित व्यक्तिलाई उम्मेदवार बनाउने।

पाँच वर्षअघि भएको प्रतिनिधि सभा निर्वाचनमा माओवादीले ३७ क्षेत्र जितेको थियो। त्यसबेला जितेकामध्ये माओवादीसँग अहिले ३४ सांसद मात्रै छन्। 

अग्निप्रसाद सापकोटा– सिन्धुपाल्चोक १, अमनलाल मोदी–मोरङ ४, कमला रोका रुकुम पूर्व, कृष्णबहादुर महरा दाङ २, गजेन्द्रबहादुर महत जुम्ला, गिरीराजमणि पोखरेल महोत्तरी १, गंगाबहादुर तामाङ काभ्रे १, चक्रपाणी खनाल कपिलबस्तु १, जनार्दन शर्मा रुकुम पश्चिम, टेकबहादुर बस्नेत सल्यान, दुर्गाबहादुर राउत कालीकोट, देवप्रसाद गुरुङ लमजुङ, देवेन्द्र पौडेल बाग्लुङ २, पुष्पकमल दाहाल प्रचण्ड चितवन ३, पम्फा भुसाल ललितपुर ३, वर्षमान पुन रोल्पा, विना मगर कञ्चनपुर १, महेश्वरजंग गहतराज बाँके १, मात्रिका यादव धनुषा १, रामेश्वर राय यादव सर्लाही १, शक्तिबहादुर बस्नेत जाजरकोट, शिवकुमार मण्डल (केवट) मोरङ ५, श्यामकुमार श्रेष्ठ रामेछाप, सन्तकुमार थारु बर्दिया १, सुदन किराती भोजपुर, राम कार्की झापा १, सुरेशकुमार राई उदयपुर २, सुरेशचन्द्र दास सिराहा ३, हरि अधिकारी गोरखा १, हरिबोल गजुरेल सिन्धुली २, हितबहादुर तामाङ नुवाकोट १ र हेमकुमार राई सोलुखुम्बु थिए।

यसमध्ये जुम्लाका सांसद गजेन्द्र महतले यसपटक नउठ्ने घोषणा गरिसकेका छन्। उनको स्थानमा नरेश भण्डारी वा गोमा कुँवरमध्ये एक उठ्ने सम्भावना छ। 

तयारीकै लागि मनऋषि धिताल पनि छन्। धिताल अहिले अर्थमन्त्री जनार्दन शर्माका जनसम्पर्क सल्लाहकार छन्। 

सल्यानका टेकबहादुर बस्नेतको क्षेत्रबाट प्रचण्डका स्वकीय सचिव समेत रहेका रमेश मल्ल उठ्ने निश्चित छ। यो क्षेत्र माओवादीले पाउने-नपाउने निर्णय भइसकेको छैन। 

नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला पनि त्यहाँबाट उठ्न चाहेका छन्। यसबारे गठबन्धनले सहमति गर्न बाँकी छ। 

२०७४ मा उठेर चुनाव जितेकामध्ये टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी र प्रभु शाह अहिले एमालेमा छन्। 

ती चार ठाउँ यसपटक माओवादीले लिने सम्भावना कम छ। त्यसको सट्टा उसलाई अन्य क्षेत्र दिने तयारी छ। 

यसबारे सहमति जुटिनसकेको माओवादीका एक पदाधिकारीले बताए। 

माओवादीबाट जितेर ४ जना एमालेमै बसेका, पहिला भन्दा ८ सिट बढी पाएको माओवादीले ती सबै सिटमा युवालाई अवसर दिन लागेको हो।

प्रचण्डले यसअघि नै युवालाई प्राथमिकता दिएर टिकट दिने बताएका छन्।

प्रदेश १, बागमती, कर्णाली, सुदुरपश्चिम र लुम्बिनीमा युवा उम्मेदवारलाई टिकट दिने तयारी छ। मधेस प्रदेशमा पुरानै नेताहरु यथावत रहने देखिन्छ। 

प्रदेश १ मा रञ्जितको इन्ट्री 
पाँच वर्षअघि प्रदेश १ मा माओवादीले ६ सिट जितेको थियो।

२८ निर्वाचन क्षेत्र रहेको त्यो प्रदेशमा माओवादी भोजपुर, उदयपुर, सोलुखुम्बु, झापा–१, मोरङ ४ र ५ मा विजयी भएको थियो।

यसपटक माओवादीले झापा १ छोडेर २ र ५ लिएको छ।

यस्तै ताप्लेजुङ पनि माओवादीको भागमा परेको छ। 

झापा २ मा राम कार्की र धर्मशिला चापागाईँमध्ये एकले टिकट पाउने सम्भावना छ। तर, कार्कीले आफू त्यस क्षेत्रबाट उठ्न नचाहेको बताएका छन्।

अमनलाल माेदी

एक पदाधिकारीले नेपालखबरलाई बताएअनुसार पार्टी पदाधिकारीलाई उम्मेदवार बनाउने कुरामा कसैको विमत्ति नहोला।

‘कतिपय स्थानमा पार्टीका पदाधिकारी उठाउनुपर्ने छ,’ ती पदाधिकारीले नेपालखबरसँग भने, ‘उहाँहरु नै उठ्दिनँ भने अर्कै कुरा हो। नत्र त प्राथमिकता उहाँहरुले नै पाउनुहुन्छ।’

कार्की नउठे झापा २ मा चापागाईँले टिकट पाउनेछिन्। यस्तै, झापा ५ मा उठ्न अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङ कस्सिएका छन्।

ताप्लेजुङमा खेलप्रसाद बुढाथोकी उम्मेदवार बन्नेछन्। उता सोलुखुम्बुमा हेमराज राई र असिम राईमध्ये एकले टिकट पाउने छन्। 

यस्तै मोरङ ४ र ५ माओवादीले पाउने निश्चित छ। ती क्षेत्रबाट पुरानै नेताहरु अमनलाल मोदी र शिवकुमार मण्डल उम्मेदवार बन्ने निश्चित छ।

तर, यहाँ यदि एमालेबाट टिकट नपाएका तर चुनाव जित्ने नेताहरु माओवादी प्रवेश गरेभने उनीहरुलाई टिकट दिन पनि प्रचण्ड तयार छन्।

उता धनकुटाका प्रभावशाली माओवादी नेता हेमराज भण्डारीले टिकट नपाएकै कारण पार्टी छोडेका छन्। 

प्रदेश १ बाट माओवादीले कम्तीमा २ नयाँ युवालाई अवसर दिने तयारी गरेको छ। 

मधेस प्रदेशमा को को?
अहिलेसम्मको छलफलमा माओवादीले मधेस प्रदेशका ५ वटा निर्वाचन क्षेत्र पाउने निश्चित छ। तर, उसले कम्तीमा ७ सिट दाबी गरेको छ। 

८ जिल्ला र ३२ निर्वाचन क्षेत्र रहेको मधेस प्रदेशमा २०७४ को प्रतिनिधि सभा चुनावमा माओवादी केन्द्रले ५ क्षेत्र जितेको थियो। 

यसपटक सिराह १, रौतहट, धनुषा १, महोत्तरी १ र सर्लाही ३ पाउनेछ। यसअघि सर्लाही ३ बाट जितेका रामेश्वर राय यादवले चुनाव महंगो भएको भन्दै उम्मेदवार नहुने घोषणा गरेका छन्।

गिरिराजमणि पाेखरेल

माओवादी केन्द्रका मधेस प्रदेश इन्चार्ज गणेश साहले बारा र सिराहा पनि मागेको बताए।

‘हामीले ७ वटा क्षेत्र मागेका छौँ, पाँचवटा त पहिले नै जितेका हौँ,’ साहले नेपालखबरसँग भने।

त्यसआधारमा मातृका यादव धनुषा १, गिरिराजमणि पोखरेल महोत्तरी १ र विश्वनाथ साहले सिराहबाट उम्मेदवार बन्ने निश्चित छ।

नरेन्द्र साह सर्लाही ३ र युवराज भटटराई रौतहट ३ लागि नाम सिफारिस भएको उनले बताए।

‘उम्मेदवारको नाम सिफारिस हेर्दा ४० जनाभन्दा बढी छ, कसलाई टिकट दिने भन्ने कुरा नेतृत्वले अध्ययन गर्छ,’ उनले भने, ‘जित्ने, समानुपातिक मत बढाउन सक्ने र पार्टीलाई योगदान गर्न सक्षमलाई दिन्छौँ।’

रौतहट ३ एमालेमा लागेका प्रभु साहले चुनाव जितेको क्षेत्र हो। 

बागमतीमा ३ सिट थप्ने
बागमती प्रदेशमा माओवादीले कम्तीमा १० सिट पाएको छ।

ओनसरी घर्ती, कुलमान घिसिङ र हितमान शाक्यलाई माओवादीले उम्मेदवार बनाउन चाहेको छ। 

३३ निर्वाचन क्षेत्र रहेको बागमतीमा माओवादीले यसपटक काठमाडौंका २, र ९ पाउने निश्चित छ।

बागमती प्रदेश कमिटीका एक उच्च पदाधिकारीका अनुसार काठाडौ २ मा ओनसरी घर्ती र कुलमान घिसिङमध्ये एक, काठमाडौं ९ मा हितमान शाक्य निर्विकल्प उम्मेदवार बन्नेछन्।

यसअघि २०७४ मा सिन्धुली २, चितवन ३, ललितपुर ३, काभ्रे १, नुवाकोट १, सिन्धुपाल्चोक १ र रापेछाप जितेको थियो। यसपटक माओवादीको ठाउँमा दोलखा लिने सम्भावना छ।

‘नेताहरु छलफलमै छन्, तर यो पटक दोलखा लिन नेताहरु तयार हुनुभएको जानकारी पाइएको छ,’ ती पदाधिकारीदले नेपालखबरसँग भने, ‘त्यसो हुँदा विश्व कार्कीले टिकट पाउनुहुनेछ। नेतृत्वले उहाँलाई न्याय गर्नेछ।’

हरिबाेल गजुरेल

कार्की जनयुद्धदेखि माओवादीमा लागेका पुरानो नेता हुन्। यदि रामेछाप लिएको अवस्थामा भने युवराज चौलागाईंले टिकट ती नेताले बताए।

गण्डकीमा २ क्षेत्र थप
गण्डकी प्रदेशमा माओवादीले ५ क्षेत्र दाबी गरेको छ। १८ निर्वाचन क्षेत्र भएको गण्डकी प्रदेशमा माओवादीले २०७४ मा गोरखा १, बाग्लुङ २ र लमजुङ १ जितेको थियो।

गोरखा १ मा हरि अधिकारी, प्रचण्डको नाम सिफारिस भएको छ। 

यस्तै २ मा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित ४ जनाको नाम सिफारिस भएको छ। 

देवेन्द्र पाैडेल

त्यस क्षेत्रमा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले पनि दाबी गरेका छन्। 

तर, गठबन्धनबीच कास्की १ वा ३, लमजुङ, तनहुँ २ र गोरखा २ र बाग्लुङ २ माओवादीले पाउने निश्चित छ। माओवादीले गोरखा १ पनि दाबी गरेको छ। 

ती सबै क्षेत्रमा पुरानै नेताले टिकट पाउनेछन्। बाग्लुङ २ देवेन्द्र पौडेल, कास्की १ बाट यशोदा सुवेदी, राजकाजी गुरुङ र तेजकुमारी पौडेलको नाम सिफारिस भएको छ।

सुवेदी माओवादी महासचिव देव गुरुङकी श्रीमती हुन्। 

कास्की ३ बाट रामजीप्रसाद बराल, दुर्गाकुमारी विक, नवराज भण्डारी र बलराम सुवेदीको नाम सिफारिस भएको छ।

लुम्बनीमा १० सिट दाबी 
प्रतिनिधि सभा अन्तर्गत २६ क्षेत्र भएको लुम्बिनीमा माओवादी केन्द्रले ९ वटा पाउने छ। त्यसअघि ७ निर्वाचन क्षेत्र जितेको थियो।

रोल्पा, रुकुम पूर्व, बाँके १, दाङ २, बर्दिया, कपिलवस्तु १ र अर्घाखाँची माओवादीले जितेको थियो।

वर्षमान पुन

अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी एमालेमा छन्। १२ जिल्ला भएको लुम्बिनीमा माओवादीले बाँके, बर्दिया र नवलपरासी पश्चिम र रुपन्देही १ थप क्षेत्र पाउने तय भएको छ।

अर्घाखाँची छोड्ने सर्तमा माओवादीले रुपन्देही १ लिन लागेको हो। त्यस क्षेत्रमा वामदेव क्षेत्री, घनश्याम यादव र मक्सुद अलीको नाम सिफारिस छ। क्षेत्री उम्मेदवार हुने बलियो सम्भावना छ।

दाङ २ बाट रेखा शर्मा उठ्नेछिन्। २०७४ मा त्यस क्षेत्रबाट जितेका कृष्णबहादुर महराले यसपटक समानुपातिक रोजेका छन्।

यस्तै रुकुम पूर्वबाट कमला रोका र गणेशमान पुनमध्ये एकजनाले टिकट पाउने छन्। यसअघि त्यहाँ कमला रोक्काले जितेकी थिइन्। 

कर्णालीमा महेन्द्रबहादुरको इन्ट्री 
कर्णालीमा माओवादीले कालिकोट, जुम्ला, जाजरकोट, रुकुम पश्चिम, पाउने निश्चित छ। हुम्ला र सल्यानमध्ये एक क्षेत्र माओवादीको भागमा पर्नेछ।

जनार्दन शर्मा

२०७४ मा १२ निर्वाचन क्षेत्र रहेको कर्णाली प्रदेशमा माओवादी केन्द्रले ५ क्षेत्र जितेको थियो।

जुम्ला नरेश भण्डारी र गोमा कुँवरमध्ये एकजना उम्मेदवार बन्नेछन्। 

कालिकोटमा महेन्द्रबहादुर शाहीले टिकट पाउनेछन्। भण्डारी र शाही दुवै २०७४ को संविधान सभा सदस्यमा निर्वाचित भएका थिए। त्यसबाहेक सल्यानमा रमेश मल्लले टिकट पाउनेछन्।

शक्ति बस्नेत

सुदुरपश्चिमका भाग्यमानी 
२०७४ मा कैलाली २, ४ र कञ्चनपुर १ गरी सुदुरपश्चिममा माओवादीले ३ क्षेत्र जितेको थियो।

यसपटक अछाम १, कैलाली ३ र बैतडी माओवादीको भागमा परेको छ।

२०७४ मा जितेको मध्ये कैलाली ४ पाउने छैन। त्यसको सट्टा क्षेत्र नम्बर ३  पाएको छ।

दीपक साउद र नरेन्द्र कुँवर

कञ्चनपुर १ मा प्रचण्डकी बुहारीसमेत रहेकी बीना मगरले टिकट पाउने छिन।

नेपालखबरले पाएको सूचना अनुसार अछाम १ मा दीपक साउद, कैलाली २ मा भगतबहादुर बडुवाल र बैतडीमा नरेन्द्र कुँवरको नाम टुंगो लागिसकेको छ। कैलाली ३ मा निर्माण चौधरी र कृष्ण चौधरीमध्ये एकले टिकट पाउने छन्।

माओवादी केन्द्रका सुदुरपश्चिम इन्चार्ज खगराज भट्टले कैलाली ३ बाहेक अन्य सबै क्षेत्रका उम्मेदवार लगभग टुंगो लागेको बताए। 

‘यो क्षेत्रबाट उम्मेदवार बन्ने नाम लगभग फिक्स छ,’ उनले भने, कैलाली ३ मा केही छलफल गर्नुपर्छ अन्य क्षेत्रमा मिलिसक्यो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .