ad ad

राजनीति


कांग्रेस संस्थापनले भन्यो : शेखर समूहका गतिविधि नजिकबाट नियालिरहेका छौँ

कांग्रेस संस्थापनले भन्यो : शेखर समूहका गतिविधि नजिकबाट नियालिरहेका छौँ

फाइल तस्बिर


नेपालखबर
असोज ११, २०७९ मंगलबार १७:२६, काठमाडौँ

नेपाली कांग्रेसको संस्थापन समूहले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत निर्वाचन आयोगमा बुझाएको बन्दसूची परिमार्जनको माग राख्दै इतर समूहले गरिरहेको दबाबमुलक आन्दोलनलाई नजिकबाट नियालिरहेको बताएको छ। 

पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार दिउँसो आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रवक्त डा. प्रकाशशरण महतले संस्थापनइतर समूहले गर्दै आएको दबाबमुलक आन्दोलनलाई पार्टीले नजिकबाट नियालिरहेको बताएका हुन्। 

उनले केन्द्रीय सदस्य डा. शेखर कोइरालानिकट दोस्रो तहका नेताहरुले गर्दै आएका भेलाहरुले पार्टीको हित नगर्ने पनि जिकिर गरे।

प्रवक्ता महतले समानुपातिकको बन्दसूची सर्वसम्मत निर्णय गरेर तयार गरिएकोसमेत दाबी गरे।    

‘सम्पूर्ण निर्णय विधि, विधानअनुसार भएको छ। बहुमतबाट मात्रै भएको होइन, सर्वसम्मत भएको छ', उनले भने, 'कुनै विमतिबिना सम्पूर्ण प्रक्रिया अगाडि बढेको हुनाले त्योभन्दा अन्यथा कुनै अभिव्यक्ति अथवा क्रियाकलाप हुन्छ भने त्यसले पार्टीको हित गर्दैन,’ उनले भने, ‘पार्टीले ती कुराहरुलाई निजकबाट नियालिरहेको छ।’ 

पार्टी हितविपरीत गतिविधिमा लागेका नेताहरुलाई कांग्रेसले अनुशासनको कारबाही गर्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रवक्ता महतले प्रष्ट जवाफ दिएनन्। उनले भने, ‘मैले यति भनिसकेपछि तपाईंहरुले बुझिसक्नुभयो होला।’ 

उनले संस्थापतइतर समूहका दोस्रो तहका नेताहरुका गतिविधिलाई अनावश्यक समेत भने। 

‘सम्पूर्ण नेतागण यो निर्णय प्रक्रियामा हुनुहुन्छ। उहाँहरुले बोलेको मैले देखिराखेको छैन भने पछि त्यसैबाट तपाईंहरुले अनुमान गर्नुस्,’ महतले भने, ‘यदि त्यस्तो भएको भए त ती नेतागण नै आएर यो–यो भयो, यस्तो भयो, हामीले भनेको चिज भएन भन्ने कुरो आउँथ्यो होला नि। यसकारण जे भइराखेको छ त्यो अनावश्यक हो। त्यो पार्टीको हितमा छैन।’

यसैबीच सभापति शेरबहादुर देउवा पक्ष एकपक्षीय रुपमा अघि बढेको निष्कर्षसहित कोइराला पक्षले बुधबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिने तयारी गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .