ad ad

राजनीति


राष्ट्रपति भण्डारी असंलग्न परराष्ट्र नीतिबारे चिनियाँ फोरममा आज बोल्दै

राष्ट्रपति भण्डारी असंलग्न परराष्ट्र नीतिबारे चिनियाँ फोरममा आज बोल्दै

फाइल तस्बिर


नेपालखबर
असोज ५, २०७९ बुधबार ११:८, काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको असंलग्न परराष्ट्र नीतिबारे एक चिनियाँ फोरममा आज लिखित मन्तव्य दिँदै छिन्।

राष्ट्रपति कार्यालयका अनुसार चाइनिज पिपुल्स एसाेसियसन फर पिस एन्ड डिसआर्मामेन्टले आयोजना गर्ने सम्मेलनमा भण्डारीले ‘प्रि रेकडेर्ड’ भिडिओ सन्देश दिन लागेकी हुन्। उनले असंलग्न परराष्ट्र नीति, पञ्चशील र विश्व शान्तिमा योगदानबारे बोल्ने राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालले जानकारी दिए। 

यसअघि काठमाडौंस्थित चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयमार्फत राष्ट्रपतिलाई उक्त सम्मेलनका लागि निमन्त्रणा पठाएको थियो।

‘परराष्ट्र मन्त्रालयले पठाएको निमन्त्रणाबमोजिम राष्ट्रपतिले उक्त सम्मेलनमा भिडिओ सन्देश दिन लाग्नुभएको हो। केही दिनअघि मात्रै यसबारे जानकारी पाएका हौँ’, ढकालले भने।

उनले सरकारका तर्फबाट सम्मेलनमा सहभागी नहुन कुनै पनि खालको आग्रह नगरिएको बताए।

‘केही मिडियामा भनिएजस्तो राष्ट्रपतिलाई उक्त सम्मेलनमा भाग नलिन सरकारका तर्फबाट कुनै आग्रह गरिएको छैन’, ढकालले भने। 

उक्त सम्मेलनमा चीनले अघि बढाएको ग्लोबल सेक्युरिटि इनिसियटिभबारे पनि छलफल हुने बताइएको छ। यद्यपि चीनको उक्त इनिसियटिभमा नेपालले अहिलेसम्म सहमति जनाएको छैन। सैन्य गठबन्धनको झल्को दिने खालको उक्त अवधारणामा नेपाल सहभागी हुनु उपयुक्त नहुने सरकारी बुझाइ छ।

परराष्ट्रमन्त्री नारायण खड्काले चिनियाँ समकक्षी वाङ यीसँग चीन भ्रमणका क्रममा डेढ महिनाअघि भएको छलफलमा नेपाल ग्लोबल सेक्युरिटि इनिसियटिभमा आबद्ध हुन नसक्ने बताएका थिए।

‘हामी कुनै पनि सैन्य गठबन्धनमा जाँदैनौं। असंलग्न परराष्ट्र नीति नै हाम्रो मूलमन्त्र हो’, उनले भनेका थिए।

उनले अमेरिकाको हिन्द प्रशान्त सैन्य रणनीतिअन्तर्गतको स्टेट पार्टनरसिप प्रोग्राममा नेपाल बाहिरिसकेको पनि बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .