राजनीति


चोलेन्द्रको महाभियोग चुनावपछि पनि जीवितै रहने

चोलेन्द्रको महाभियोग चुनावपछि पनि जीवितै रहने

नेपालखबर
असोज २, २०७९ आइतबार १९:२९, काठमाडौँ

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथिको महाभियोग अर्काे संसदसम्म जारी रहने भएको छ।

प्रतिनिधि सभाको दुबै संसदको चालु अधिवेशन शनिबार राति १२ बजेदेखि अन्त्य भएसँगै आइतबार चोलेन्द्र सर्वाेच्चमा फर्कने तयारीमा थिए।

जबराले आइतबार नै सर्वाेच्च जाने कोसिस पनि गरे। तर, सुरक्षाकर्मीले निवासबाट बाहिर निस्कन नदिएको उनको गुनासो छ ।

महाअभियोगको सिफारिस भए पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र बालुवाटारस्थित सरकारी आवासमै बस्दै आएका छन्।

सर्वोच्च फर्कने प्रयास गरिरहँदा सभामुख अग्निप्रसाद सापकोटाले लगाएको तोक आदेशबाट चोलेन्द्रको महाभियोग अझै जारी रहेको सत्तापक्षको तर्क छ।

संसद सचिवालय स्रोतका अनुसार चोलेन्द्रमाथिको महाभियोग लगाउनुपर्ने कारण समेटिएको प्रतिवेदनलाई प्रतिनिधि सभासमक्ष पेश गर्नेगरी सभामुखले तोक लगाएका छन्।

११ सदस्यीय महाभियोग सिफारिस समितिले शनिबार राति सभामुख अग्निप्रसाद सापकोटालाई चोलेन्द्रमाथि महाभियोग लगाउनुपर्ने कारण समेटेर प्रतिवेदन बुझाएको थियो ।

यद्यपि सो प्रतिवेदनमा एमालेसहित लोकतान्तिक समाजवादी पार्टी (लोसपा)ले फरक मत राखेका थिए।

प्रतिवेदन प्रतिनिधि सभासमक्ष पेश गर्ने व्यवस्था मिलाउन शनिबार नै सभामुख सापकोटाले संसद सचिवालयका महासचिव डा. भरतराज गौतमलाई निर्देशन दिएका छन्।

‘श्री महासचिव, यो प्रतिवेदन  प्रतिनिधि सभा समक्ष प्रस्तुत गर्ने व्यवस्था मिलाउनु,’ सभामुख सापकोटाले तोक लगाउँदै निर्देशन दिएका छन्।

यसअघि फागुन १ मा संसद सचिवालयले पठाएको पत्रमा पनि चोलेन्द्र शम्शेर जबरामाथि महाभियोग कार्य प्रारम्भ भएपछि त्यस्तो कारवाहीको टुंगो नलागेसम्म आफ्नो पदको कार्य सम्पादन गर्न पाउने छैन भन्ने संविधानको धारा १०१ को उपधार (६)मा व्यवस्था रहेको उल्लेख गरेको थियो।

संसद सचिवालयको त्यो पत्र र सभामुख सापकोटाले महाभियोग सिफारिस समितिको प्रतिवेदन प्रतिनिधि सभाको बैठकमाा पेश गर्ने व्यवस्था मिलाउन दिएको निर्देशन अनुसार चोलेन्द्र सर्वाेच्च फर्काउने बाटो बन्द गरिदिएको देखिन्छ।

चोलेन्द्रको कार्यकाल यही मंसिर २८ गतेसम्म छ। सरकारले मंसिर ४ गते प्रतिनिधि सभाको चुनाव मिति तोकेको छ। अब सोही आधारमा नयाँ संसद बन्न कम्तिमा माघसम्म पर्खनुपर्ने हुन्छ।

मंसिरको चुनावपछि बन्ने नयाँ संसदमा पनि चोलेन्द्रको महाभियोग सिफारिस समितिको प्रतिवेदन पेश भएर छलफल हुनुपर्नेछ, जुनबेला उनी सेवा निवृत्त भइसकेका हुनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .