प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसद खगराज अधिकारीले सरकारले आफ्ना पार्टीका सांसदहरु निर्वाचित भएको क्षेत्रमा विकास, निर्माणका लागि विनियोजित बजेट पनि निकासा नदिएको आरोप लगाएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो आरोप लगाएका हुन्।
प्रतिपक्ष दलमाथि प्रतिसोध साँध्ने गरी बजेट निकासा दिने काम किन नगरेको भन्दै सांसद अधिकारीले त्यसको जवाफ तत्काल दिन सरकारसँग माग गरे।
उनले गुठीयारहरुको समस्या समाधान गर्न सरकार उदासिन रहेको भन्दै आक्रोशसमेत व्यक्त गरे।
केपी ओली नेतृत्वको अघिल्लो सरकारले ल्याएको गुठीसम्बन्धी विधेयकको विरोध गर्नेहरु अहिले सरकारमा रहेको उनले उल्लेख गरे।
सांसद अधिकारीले ती समस्या समाधान गर्न सरकारलाई दबाबसमेत दिए।
‘केपी ओली नेतृत्वको सरकार हुँदा गुठीसम्बन्धी विधेयक छलफलमा ल्यायौं। आज यत्रा समस्या छन्। देशका विभिन्न भागमा गुठीको समस्या समाधान गर्न सरकारले ध्यान दिएको छैन। हिजो गुठीको समस्या समाधान गर्न ल्याएको विधेयकलाई भड्काउन माइतीघर मण्डलामा जुलुसमा सामेल हुनेहरु अहिले सत्तामा हुनुहुन्छ। उहाँहरु के गर्दै हुनुहुन्छ?', उनले सोधे, 'हामी गम्भीरतापूर्वक सरकारबाट जवाफ चाहन्छौँ।'
उनले अघिल्लो सरकारले रणनीतिक महत्वका सडकहरु १६५ निर्वाचन क्षेत्रमै अगाडि बढाए पनि अहिले ती सुसुप्त अवस्थामा रहेको बताए।
'अहिले या तिनलाई रोकिएको छ। प्रतिपक्ष प्रतिनिधिसभाका सदस्यहरुले सिफारिस गरेका ठाउँहरुमा बजेट निकासा नदिने वा तिनलाई कामयावी हुन नदिनेसम्मको काम गरिएको छ। अनेक विकास आयोजनामा गम्भीर सरकारी षडयन्त्र भइरहेका छन', उनले भने, 'विकास निर्माणको काम ठप्प पारिएको छ । सरकारले जवाफ दिनु पर्दछ। विकास विरोधी सरकार हुनुहुँदैन। सरकारले यदि प्रतिशोध साँध्न खोजेको हो भने जनताले यसको जवाफ चाहन्छन्। सरकारले यसको गम्भीरतापूर्वक जवाफ दिनु पर्दछ। गुठी समस्या समाधान गर्न सरकारले जवाफ दिन्छ कि दिँदैन? सरकार गुठीयारहरुप्रति जवाफदेही छ कि छैन? यसको जवाफ चाहियो।’
सांसद अधिकारीले ओली नेतृत्वको अघिल्लो सरकारले गुठी समस्या समाधानका लागि ल्याएको विधेयकमा गम्भीरतापूर्वक छलफल गरी गुठीयारहरुको समस्या तत्काल समाधान गर्न पनि सरकारलाई सचेत गराए।
Shares

प्रतिक्रिया