राजनीति


डेंगुले महामारीको रुप लिँदैछ, स्वास्थ्य मन्त्रालय नभएजस्तो देखियो : सांसद सुवाल

डेंगुले महामारीको रुप लिँदैछ, स्वास्थ्य मन्त्रालय नभएजस्तो देखियो : सांसद सुवाल

नेपालखबर
भदौ २९, २०७९ बुधबार १५:७, काठमाडौँ

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले महामारीको रुपमा फैलिएको डेंगु रोगको अवस्थाबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन्। 

डेंगु रोगका कारण नागरिकहरुको मृत्य हुने क्रम बढिरहेको बेला पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसकेको उल्लेख गर्दै सांसद सुवालले त्यसबारे संसदलाई जानकारी गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग माग गरेका हुन्। 

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सो रोग नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले पनि नेतृत्वदायी भूमिका निर्वाचन गर्न नसकेको आरोप लगाए। 

उनले भने, ‘कोरोना पछि डेंगु रोगले जनता एकदमै पीडित छन। अस्पतालहरुमा शैयाको अभाव छ। स्वास्थ्यमन्त्रीज्यूले के छ देशका स्थिति यो त महामारीको रुपमा फैलिँदै छ। र, स्वास्थ्य मन्त्रालय नभएको जस्तो भयो। स्वास्थ्य मन्त्रालयका लागि त बजेट धेरै छुट्टयाइएकै हो। तर स्वास्थ्य मन्त्रालयको प्रभावकारिता देखिएन, मन्त्रीज्यूको नेतृत्व देखिएन। यसबारे सदनमा मन्त्रीज्यूलाई तत्काल बोल्ने व्यवस्थाका लागि म सभामुख महोदयसँग आग्रह गर्न चाहन्छु।’

सांसद सुवालले सो रोग नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरसफाइको काम समेत गर्न नसेकेको भन्दै असन्तुष्टि व्यक्त गरे। 

उनले भने, ‘जनताको मृत्यु भइरहेको छ डेंगुको कारण। यो सामान्य रोग हो। सरसफाई भइदिएको खण्डमा यो रोगबाट जनताको मृत्य नहुने पर्ने हो  तर सरसफाई पनि स्वास्थ्य मन्त्रालयले नगरेको देखियो।’  

सांसद सुवालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आवश्यक बजेटको व्यवस्था गरेपनि त्यसको सदुपयोग गर्न नसकेको गुनासो पटकपटक गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad