राजनीति


झोक्किँदै देउवाले भने, ‘ओली सरकार हटाउनुपर्‍यो, हटाउनुपर्‍यो भनेको होइन?’

झोक्किँदै देउवाले भने, ‘ओली सरकार हटाउनुपर्‍यो, हटाउनुपर्‍यो भनेको होइन?’

फाइल तस्बिर


नेपालखबर
भदौ २५, २०७९ शनिबार ७:४३, चितवन

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई टुटाउन षड्यन्त्र भइरहेको बताएका छन्। उनले भने, ‘गठबन्धन कुनै हालतमा टुट्दैन र तोड्नु हुँदैन पनि।’

नेपाली कांग्रेस चितवनद्वारा शुक्रबार यहाँ आयोजित ‘जनताको साथमा कांग्रेस अभियान’को समापन एवं विशेष सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनको विरोधमा नबोल्न कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गरे। 

गठबन्धन तोड्नु भनेको कांग्रेस पार्टीलाई सिध्याउने षड्यन्त्र भएको जनाउँदै प्रधानमन्त्री देउवाले भने, ‘बल्ल–बल्ल पार्टी बलियो हुँदै छ, यसलाई सिध्याएर के हुन्छ। यसैले गठबन्धनको विरुद्धमा बोल्ने कुरा छैन।’ 

उनले गठबन्धन गर्दा पार्टीलाई बढीभन्दा बढी फाइदा हुने गरी लाग्नुपर्नेमा जोड दिए। उनले भने, ‘गठबन्धनमा बढीभन्दा बढी फाइदा लिन हामी प्रयास गर्छौँ, तर गठबन्धन कुनै हालतमा टुट्दैन, तोड्नुहुँदैन। यसमा ठूलो सहयोग भएको छ। गठबन्धन तोड्ने कुरा गर्नुहुँदैन।’ 

गठबन्धनका कारण कांग्रेसले प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्री प्राप्त गर्ने अवसर प्राप्त गरेको जनाउँदै प्रधानमन्त्री देउवाले गठबन्धन भएर धेरै निर्वाचित हुँदै गर्दा त्यो अवसर फेरि पनि प्राप्त हुने बताए। उनले  पार्टीका नेता तथा कार्यकर्तालाई एकढिक्का भएर निर्वाचनमा होमिन आग्रह गरे।

गठबन्धन भएर सरकार बनेकै कारण नेकपा एमालेको एकलौटी अन्त्य भएको उनले बताए। उनले भने, ‘उनीहरुको एकलौटी चलेको छैन, मनोपोली चलेको छैन।’

हिजो बाहिर हुँदा तत्कालीन एमालेको सरकारले गरेको क्रियाकलापको स्मरण गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्दै उहाँले गठबन्धन अघि बढ्दै गर्दा सबै ठाउँमा कांग्रेसको सरकार बन्ने सम्भावना रहेको बताए। देउवाले भने, ‘हिजोको अवस्था कस्तो थियो। ओली सरकारलाई हटाउनुपर्याे, हटाउनुपर्याे भनेको होइन सबैले।’

प्रधानमन्त्री देउवाले थपे, ‘अहिले यो हुँदैन, त्यो हुँदैन भन्नु हुँदैन। कांग्रेसलाई बलियो र ठूलो पार्टी बनाउन गठबन्धन आवश्यक छ, भ्रमको पछाडि नलाग्न पनि आग्रह गर्दछु।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad