राजनीति


ओलीसँगको गोप्य भेटको तस्बिर बालकोटबाटै बाहिरिएपछि पृथ्वीसुब्बाको गृहजिल्ला लमजुङमा हलचल

ओलीसँगको गोप्य भेटको तस्बिर बालकोटबाटै बाहिरिएपछि पृथ्वीसुब्बाको गृहजिल्ला लमजुङमा हलचल

अध्यक्ष ओलीसँग केन्द्रीय सदस्य टुका हमाल, अध्यक्ष कृष्णप्रसाद अधिकारी, उपसचिव जनकराज मिश्र र सचिव सुवास पौडेल। तस्बिर : राजन काफ्ले


नेपालखबर
भदौ २४, २०७९ शुक्रबार १५:४८, काठमाडौँ

एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले एउटा फेसबुक पेज सञ्चालन गर्छ, जुन पेजबाट ओलीका प्रत्येक भेटघाट र गतिविधिहरु तस्बिरमार्फत् सार्वजनिक हुने गरेका छन्। त्यो फेसबुक पेजको नाम हो– ‘बालकोट’। 

त्यही फेसबुक पेजबाट अध्यक्ष ओलीसँग बिहीबार (२३ भदौ) एमाले लमजुङका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीसहितको पदाधिकारी टोलीले गरेको ‘गोप्य भेट’ को तस्बिर सार्वजनिक भएपछि लमजुङ एमालेमा भुइँचालो गएको छ। उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पक्षधरहरु चिढिएका छन्। 

उपमहासचिव गुरुङको गृहजिल्ला लमजुङमा प्रतिनिधि सभामा एक सिट मात्र छ। ०७४ को आम निर्वाचनबाहेक गुरुङ २०४३ देखि नै लमजुङबाट प्रतिस्पर्धा गर्दै आएका छन्। र, यसमध्ये २०६४ को संविधान सभा र ०७४ को प्रदेश सभा (लमजुङ ‘ख’) मा विजय हासिल गरेका छन्। प्रदेश सभा ‘ख’ बाट विजय हासिल गरेपछि उनी गण्डकी प्रदेशको मुख्यमन्त्री बन्नसमेत सफल भएका थिए। 

स्रोतका अनुसार, गुरुङले आगामी निर्वाचनपछि पनि मुख्यमन्त्री बन्ने उदेश्यका साथ लमजुङ ‘ख’ बाट प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्। 

यसपटक पनि गुरुङ नै दोहोरिने हो भने जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी लगायत अन्य नेताहरुमाथि अन्याय हुने गुनासोहित अध्यक्ष ओलीसँग एमाले लमजुङको प्रतिनिधिमण्डलले भेटघाट गर्न चाहेको थियो। समय पाएपछि बुधबार (२२ भदौ) काठमाडौँ आइपुगेको लमजुङको टोलीले बिहीबार बालकोट पुगेर ओलीसँग गोप्य भेट गरेको थियो।  

त्यो टोलीमा जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी, सचिव सुवास पौडेल, उपसचिव जनकराज मिश्र र जितबहादुर गुरुङ थिए। गण्डकी प्रदेश सभामा एमालेको तर्फबाट प्रमुख सचेतक रहेका केन्द्रीय सदस्य मायानाथ अधिकारी पनि आउने भनिएको थियो। बिरामी भएका कारण आउन सकेनन्। तर, लमजुङबाटै प्रतिनिधित्व गर्ने अर्की केन्द्रीय सदस्य टुका हमालले लमजुङे टोलीलाई साथ दिएकी थिइन्। 

बिहीबार दिउँसो यो टोली बालकोट पुगेपछि अध्यक्ष ओलीले सहज रुपमा भेट गरे, प्राथमिकताका साथ उनीहरुको गुनासो सुने। 

जिल्ला अध्यक्ष, सचिव र उपसचिवसहितको टोलीले ओली समक्ष गुरुङले मात्रै लमजुङबाट पटक–पटक प्रतिस्पर्धाको अवसर पाउँदा जिल्लाका अन्य नेताहरुमाथि अन्याय भएको गुनासो गरेको थियो। 

‘उहाँले २०४३ मा पहिलो पटक जनपक्षीय उम्मेदवारका रुपमा राष्ट्रिय पञ्चायत चुनावमा प्रतिस्पर्धा गर्नुभयो, त्यसयता कुनै यस्तो संसदीय चुनाव छैन, जहाँ उहाँले  प्रतिस्पर्धा नगर्नु भएको होस्,’ उनीहरुको भनाइ थियो, ‘उहाँ हाम्रो केन्द्रीय नेता हुनुहुन्छ, तर, बाँचुन्जेल उहाँ नै चुनाव लडिरहने हो भने जिल्लाका अरु नेताले अवसर नै नपाउने भए, नेतृत्व विकासको अवसर अरुलाई प्राप्त हुने भएन।’

उपमहासचिव गुरुङका कारण जिल्ला अध्यक्ष अधिकारी अवसरबाट बञ्चित हुँदै आएको जानकारी उनीहरुले गराएका थिए। र, यो स्थिति अबको चुनावमार्फत् तोडिनुपर्ने माग ओलीसँग गरेका थिए। 

एमाले लमजुङको उपसचिव, सचिव, उपाध्यक्ष हुँदै अध्यक्ष बनेका अधिकारीले ०५४ मा उदीपुर गाविस (हाल बेसीसहर नपा) को अध्यक्षबाहेक कुनै अवसर प्राप्त गरेका छैनन्। २०७४ र २०७९ गरी दुवै स्थानीय तह निर्वाचनमा उपमहासचिव गुरुङले गुमानसिंह अर्याललाई बेसीसहर नगरपालिकामा प्रतिस्पर्धाको अवसर दिएपछि अधिकारी मेयर बन्ने अवसरबाट समेत बञ्चित भएका थिए। 

अधिकारी २०७४ को निर्वाचनमा लमजुङ ‘ख’ बाट प्रदेश सभामा उम्मेदवारीका लागि सशक्त दाबेदार थिए। तर, आफैँ मुख्यमन्त्री बन्नेगरी गुरुङ उम्मेदवार बनेपछि अधिकारी उतिबेला पनि प्रतिस्पर्धाबाट बञ्चित हुन पुगे।   

स्रोतका अनुसार, उपमहासचिव गुरुङ आगामी निर्वाचनमा पनि उम्मेदवार बन्ने तयारीमा छन्। गुरुङ पुन लमजुङ ‘ख’ बाट प्रदेश सभाको उम्मेदवार बने भने जिल्ला अध्यक्ष अधिकारी त्यो अवसरबाट बञ्चित हुनेछन्। किनकि गुरुङ र अधिकारी दुवै जना सोही निर्वाचन क्षेत्रका बासिन्दा हुन्। प्रतिनिधि सभाका लागि जमिन्द्रमान घले सशक्त दाबेदारको रुपमा छन्। 

सत्ता गठबन्धनबाट माओवादी केन्द्रका देव गुरुङ उम्मेदवार हुने भएकाले उनीसँग प्रतिस्पर्धा गर्ने उपयुक्त उम्मेदवारका रुपमा घलेलाई हेर्ने गरिएको छ। यस्तो स्थितिमा गुरुङ जातिको बाहुल्य रहेको लमजुङको प्रतिनिधि सभा सिटमा अधिकारीको उम्मेदवार बन्ने सम्भावना कम हुने स्पष्ट छ। अध्यक्ष अधिकारी लमजुङ ‘ख’ का बासिन्दा भएकाले लमजुङ ‘क’ बाट टिकट पाउने र विजयी हुने सम्भावना कम रहन्छ। 

लमजुङे टोलीले जिल्लामा गुरुङको हालीमुहाली र एकाधिकारको फेहरिस्त ओलीलाई सुनाउँदै गुरुङलाई समानुपातिक उम्मेदवार बनाएर जिल्लामा अरुलाई प्रतिस्पर्धाको अवसर दिन अनुरोध गरेको थियो।

‘उहाँ उपमहासचिव भएकाले केन्द्रमा उहाँकै पहुँच छ तर, उहाँका कारण अरुले प्रतिस्पर्धा र नेतृत्व विकासको अवसर नपाउने भए,’ उनीहरुको भनाइ थियो, ‘त्यसैले, यसपटक उहाँलाई समानुपातिक उम्मेदवारीको सूचीमा राखेर अरु साथीहरुले पनि प्रतिस्पर्धा गर्ने वातावरण सिर्जना गरिदिनु पर्यो।’ 

उनीहरुले लमजुङको सन्दर्भमा उपमहासचिव गुरुङका कतिपय निर्णय जातिवादी र पूर्वाग्रही समेत हुने गरेको आरोप पनि लगाएका थिए।

लमजुङे नेताहरुले गुरुङप्रति चर्काे गुनासो गरेपछि ओलीले पनि उनीप्रतिको आक्रोश लुकाउन सकेनन्।

‘ती मान्छे (उपमहासचिव गुरुङ) बोल्न हुने कुरा पनि बोल्छन्, बोल्न नहुने कुरा धेरै बोल्छन्, उनका जातिवादी व्यवहारले एमालेले धेरै अप्ठेरो बेहोर्नु परेको छ,’ ओलीको भनाइ उधृत गर्दै लमजुङे टोलीका एक नेताले भने, ‘पहिलो संविधान सभापछि झण्डै अशोक राईकै बाटोमा गइसकेका थिए, तर मैले अवसर दिइरहेँ। तैपनि पारा अझै सुध्रेको छैन।’ 

त्यसक्रममा ओलीले २०७० को निर्वाचनको प्रचारको सिलसिलामा लमजुङ जाँदा गुरुङप्रतिको आक्रोश आफैँले देख्न पाएको स्मरण पनि गरे। 

‘पहिलो संविधान सभाका बेला उनी पुरै जातिवादी भए, त्यहीकारण २०७० को चुनावमा उनलाई जित्न गाह्रो पर्ने भयो, उनलाई सजिलो होस् भनेर म आफैँ लमजुङमा भाषण गर्न गएँ,’ ओलीले थपे, ‘सभा सकिएपछि मञ्चबाट ओर्लेको मात्र के थिएँ, एक हुल मान्छेले मलाई घेरे, उनीहरुले पृथ्वीसुब्बाजस्तो जातिवादीलाई किन उम्मेदवार बनाएको भनेर मलाई गाली गरे। उनीप्रति लमजुङमा कति असन्तुष्टि रहेछ भन्ने कुरा त्यही चुनावबाट देखिइहाल्यो, २०६४ मा जितेको मान्छे, २०७० को चुनावमा हार्न पुगे।’   

गुरुङका कारण अरु नेताहरु अवसरबाट बञ्चित भएको गुनासोको जवाफमा ओलीले भनेका थिए, ‘लमजुङको कुरा (समस्या) के हो, त्यो मलाई राम्ररी जानकारी छ। यसपटक पुरानो समस्या दोहोरिने छैन।’

आफ्नै गृहजिल्लाका नेताहरुले अध्यक्ष ओलीसँग गरेको यो भेटबारे उपमहासचिव गुरुङलाई सुइँकोसम्म थिएन। मुख्यतः उपमहासचिव गुरुङप्रति गुनासो गर्न गरिएको भेटघाट भएकाले लमजुङे नेताहरुले पनि गुरुङलाई यो भेटबारे जानकारी नहोस् भन्ने चाहेका थिए। 

गुरुङप्रति आफैँ असन्तुष्ट भएकाले दुई हप्ताअघि नै समय मागेर बिहीबार (२३ भदौ) भएको भेटबारे ओलीले पनि गुरुङलाई जानकारी गराउनु उचित सम्झेनन्। 

अर्थात्, अध्यक्ष ओली र लमजुङे टोली दुवै पक्ष यो भेटघाटलाई गोप्य राख्न चाहन्थे।

तर, यो गोप्य भेटघाटको संवेदनशीलता ओलीको सचिवालयले बुझ्न सकेन। 

ओलीका सबै भेटघाट र गतिविधिको तस्बिर खिच्ने ओलीको सचिवालयले बिहीबारको यो भेटपनि तस्बिरमा कैद गर्यो। र, अन्य सामान्य खालका भेटहरु झैँ यो भेटघाटको तस्बिरपनि ‘बालकोट’ फेसबुकबाट सार्वजनिक गरिदियो। ​

तस्बिर : राजन काफ्ले

लमजुङे नेताहरु अध्यक्ष ओलीसँग 

सार्वजनिक भएका ३६ तस्बिरमध्ये २ वटा तस्बिर ओली र लमजुङे नेताहरुबीचका भेटघाटसँग सम्बन्धित थिए। 

पहिलो तस्बिरमा ओली र लमजुङे नेताहरु निकै रमाइलो पारामा गफिएका देखिन्छन्।

‘गुरुङले यसपटक पनि लमजुङ ‘ख’ छाड्दिनँ भनेर निकटस्थहरुसँग भनिरहनु भएको छ, उहाँ उपमहासचिव र केन्द्रमा शक्तिशाली भएकाले चाहेपछि उहाँले नै टिकट पाउने सम्भावना रहन्छ,’ लमजुङ एमालेका एक नेताले भने, ‘त्यही कारण अध्यक्ष अधिकारीसहितको टोलीले गोप्य रुपमा अध्यक्ष ओलीसँग भेट गरेको हो।’

ती नेताले थपे, ‘तर, गोप्य भनिएको भेट ‘बालकोट’ फेसबुकबाटै सार्वजनिक भइदियो। यसले गर्दा जिल्लामा अप्ठेरो स्थिति सिर्जना भएको छ। उपमहासचिव गुरुङ खेमामा भुइँचालो गएको छ। गुरुङ पक्षधरहरु निकै आक्रोशित भएका छन्।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad