ad ad

राजनीति


सुदूरपश्चिमका ६ सिटमा एमालेका ‘भेट्रान’ उम्मेदवार

दोहोरिनेलाई प्रतिष्ठा जोगाउने चुनौती
सुदूरपश्चिमका ६ सिटमा एमालेका ‘भेट्रान’ उम्मेदवार

गोकुल जोशी
भदौ २०, २०७९ सोमबार १४:११, कञ्चनपुर

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दलका तल्ला तहले उम्मेदवार सिफारिलाई तीव्र पारेका छन्। 

सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुका तल्ला कमिटीले भागबण्डा नटुङ्गिँदा पनि धमाधम उम्मेदवार सिफारिस गरिरहेका छन्।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि सुदूरपश्चिमका नौवटै जिल्लामा उम्मेदवार सिफारिस गरिरहेको छ।

सत्तारुढ गठबन्धनविरुद्ध एक्लै चुनावमा होमिने तयारी गरिरहेको एमालेले सुदूरपश्चिममा प्रतिनिधि सभाका ६ सिटमा ‘भेट्रान’ नेताहरुलाई उतार्ने तयारी गरेको छ।

प्रतिनिधिसभातर्फ १६ मध्ये ६ सिटमा एमालेले एकल नाम सिफारिस गरेको छ। एमालेको तल्लो तहले सिफारिस गरेको व्यक्तिलाई नै केन्द्रले स्वीकारेमा उनीहरुले टिकट पाउने पक्का छ।

यस्तो अवस्थामा बैतडी, दार्चुला, अछाम १ र २ तथा कैलाली ४ र ५ मा ०७४ सालमा एमालेबाट जितेका उम्मेदवार नै दोहरिने छन्।

को को उठ्लान?

बैतडीमा भण्डारी
प्रतिनिधि सभा प्रत्यक्षतर्फ बैतडीबाट दामोदर भण्डारीको नाम सर्वसम्मत सिफारिसमा परेको छ।

एउटा मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको बैतडीमा एमालेबाट एकजनाको मात्रै सिफारिस भएकाले भण्डारी उम्मेदवार हुने पक्का छ।

एमाले प्रदेश कमिटी अध्यक्षसमेत रहेका भण्डारी हाल सांसद छन्। ०७४ को चुनावमा वाम गठबन्धनबाट उम्मेदवार बनेका भण्डारीले कांग्रेसका नरबहादुर चन्दलाई हराउँदै संसद यात्रा तय गरेका थिए।

त्यसबेला भण्डारीले ३९ हजार ५२४ मत ल्याएका थि। कांग्रेसका चन्दले २८ हजार २९१ मत पाएका थिए।

दार्चुलामा ठगुन्ना
दार्चुलाबाट पूर्वमन्त्री गणेश ठगुन्नाको नाम प्रतिनिधि सभा प्रत्यक्षतर्फ एकल सिफारिस भएको छ। ०७४ सालको 
चुनावमा कांग्रेसका विक्रम सिंह धामीलाई पराजित गर्दै ठगुन्ना प्रतिनिधिसभामा निर्वाचित भएका थिए। 

त्यसबेला माओवादीको समेत समर्थन पाएका ठगुन्नाले २८ हजार ९९८ मत ल्याएका थिए। कांग्रेसका धामीले २२ हजार २३३ मत ल्याएका थिए। यसपटक पनि दार्चुलामा एमालेले ठगुन्नालाई गठबन्धनविरुद्ध उतार्ने छ।

अछाममा रावल र बोगटी
अछाम १ बाट एमाले नेता डा. भीमबहादुर रावलको नाम प्रतिनिधि सभा प्रत्यक्षतर्फ सर्वसम्मत सिफारिस भएको छ।

०७४ सालको चुनावमा रावल अछाम १ बाट कांग्रेसका भरतकुमार स्वाँरलाई पराजित गर्दै २४ हजार ८९३ मतसहित विजयी भएका थिए। स्वाँरले १७ हजार ६८९ मत ल्याएका थिए।

क्षेत्र नम्बर २ बाट ०७४ मा जितेका यज्ञबहादुर बोगटी एकल सिफारिस भएका छन्। उनले ०७४ को चुनावमा कांग्रेसका पुष्पबहादुर शाहलाई पराजित गर्दै संसदको यात्रा तय गरेका थिए।

माओवादीको समर्थनमा एमालेका बोगटीले त्यसबेला २१ जार ९६५ मत ल्याएका थिए। कांग्रेसका शाहले १९ हजार १०६ मत ल्याए।

कैलालीमा भट्ट र राना 
यस्तै, एमाले कैलालीले दुईवटा निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा प्रत्यक्षतर्फ एकल नाम सिफारिस गरेको छ।

५ वटा निर्वाचन क्षेत्रमध्ये दुई प्रतिनिधि सभा निर्वाचन समन्वय समितिले प्रतिनिधि सभा प्रत्यक्षतर्फ एकल नाम सिफारिस गरेर पठाएको एमाले कैलालीका अध्यक्ष दुर्गाप्रसाद जोशीले जानकारी दिए।

उनका अनुसार निर्वाचन क्षेत्र नम्बरमा ४ मा एमाले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट सर्वसम्मत सिफारिस भएका छन्।

यस्तै, निर्वाचन क्षेत्र नम्बर ५ मा एमाले कैलालीका इन्चार्जसमेत रहेका नारदमुनि रानाको नाम सर्वसम्मत सिफारिस गरिएको छ।

भट्ट र राना ०७४ सालको चुनावमा यही क्षेत्रबाट विजयी भएका थिए। ०७४ मा वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका भट्ट ३१ हजार ३५९ मतसहित विजयी भएका थिए। 

उनले नेपाली कांग्रेसका सुनिलकुमार भण्डारीलाई पराजित गरेका थिए। कांग्रेसका भण्डारीले २० हजार ९६० मत ल्याएका थिए।

तत्कालीन नेकपा विघटनपछि एमाले र माओवादी केन्द्र ब्यूँतिदा भट्ट माओवादी छोडेर एमालेमै समाहित भएका थिए। उनलाई यसपटक पनि एमालेले सर्वसम्मत सिफारिस गरेको छ।

यस्तै, एमालेका रानाले ०७४ सालको चुनावमा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवालाई ४ हजार ८८० मतान्तरले पराजित गरेका थिए।

त्यसबेला रानाले २७ हजार २०२ मत ल्याएका थिए। राणाले २२ हजार ३२२ मत ल्याएकी थिइन्। उनै राना यसपटक पनि सर्वसम्मत सिफारिसमा परेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .