राजनीति


भ्रष्टाचार आरोपमा निलम्बित गच्छदार कांग्रेसबाट सर्वसम्मत सिफारिस

निर्वाचन क्षेत्र पुगेर भने : फेरि पनि जित्ने मैले नै हो
भ्रष्टाचार आरोपमा निलम्बित गच्छदार कांग्रेसबाट सर्वसम्मत सिफारिस

फाइल तस्बिर


सुमन पुरी
भदौ १९, २०७९ आइतबार १२:३०, विराटनगर

आगामी मंसिर ४ गते हुने प्रतिनीधि सभा निर्वाचनका लागि भ्रष्टाचार आरोपमा सांसद पदबाट निलम्बित विजय गच्छदारलाई नेपाली कांग्रेसले सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको उम्मेदवारमा सिफारिस गरेको छ।

सुनसरी क्षेत्र नम्बर ३ को शनिबार बसेको बैठकले गच्छदारलाई फेरि उम्देवारका रुपमा एकल नाम सिफारिस गरेको हो।  

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किनबेच प्रकरणमा मुछिएका गच्छदारको सांसद पद अहिले निलम्बवनमा छ। 

अदालतले अन्तिम फैसला गरि नसकेको अवस्थामा गच्छदार उमेदवार बन्ने नबन्ने अन्यौल थियो।

तर गच्छदारको प्रभावका कारण अन्य आकांक्षीको नाम काटेर उनको मात्रै सिफारिस गरिएको बैठकमा सहभागी एक नेताले बताए। 

नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति मेहदी हुसैनले सहमतिमै गच्छदारको एकल नाम सिफारिस भएको बताए। 

अदालतमा मुद्दा विचाराधीन रहे पनि आफूलाई चुनावमा उम्मेदवार बन्न नरोक्ने भन्दै गच्छदारले आफू नै चुनाव उठ्ने अडान लिएका थिए। 

गच्छदारले जनादेशले आफूमाथि लागेको आरोप चिर्ने भन्दै पार्टीबाट उम्मेदवार बन्न पाउनु पर्ने प्रस्ताव राखेका थिए। 

भ्रष्टाचार मुद्दा 
०७४ को आमनिर्वाचनबाट सांसद निर्वाचित भएका उनीविरुद्ध ०७६ माघ २२ गते भ्रष्टाचार मुद्दा लाग्यो। 

ललिता निवासको जग्गा प्रकरणमा अनियमितता अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान विशेष अदालतमा मुद्दा चलाएपछि गच्छदारको सांसद पद निलम्बित अवस्थामा छ।

ललिता निवासको सरकारी जग्गा विक्री प्रकरणमा अनियमतिता गरेको आरोपमा मुद्या दायर गरेपछि उनी फरार भएका थिए। 

तर शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि २०७८ साल असार २८ गते उनी विषेश अदालतमा हाजिर भएका थिए। 

त्यही दिन उनी १० लाख रुपैयाँ धरौटी बुझार रिहा भएका थिए। 

६ पटक जित १८ पटक मन्त्री
सुनसरी क्षेत्र नम्बर ३ बाट गच्छदार यसअघि ६ पटक निर्वाचित भइसकेका छन्। यो अवधिमा उनी १८ पटक मन्त्री भएका छन्। 

सत्ता र शक्तिमा रहेका गच्छदारले शक्तिको दुरुपयोग गरेर निर्वाचन जितेको आरोप लाग्दै आएको छ। 

यस पटक आफ्नै क्षेत्रमा कमजोर देखिएका गच्छदारले आफूमाथि एमाले सरकारले विनाकरण मुद्दा लगाएको दावी गर्दै आएका छन्। 

शुक्रबार अचानक गृह जिल्ला हुँदै निर्वाचन क्षेत्र आएका गच्छदारले आफूले फेरि निर्वाचन जित्ने दावी गरेका छन्। 

पत्रकारसँग कुराकानी गर्दै उनले भने, 'मेरो जनाधार राम्रो छ। म नै चुनाव जित्छु र न्यापालिकाले मलाई न्याय दिन्छ। 

कार्यकर्ता थाम थुम पार्दै 
सुनसरी क्षेत्र नम्बर ३ मा मात्रै होइन कुनै बेला विजय कुमार गच्छदार प्रदेश १ मै कग्रेसका प्रभावशाली नेता मानिन्थे। 

गिरिजाप्रसाद कोइरालाका दाहिने हातका रुपमा चिनिने गच्छदार ०६४ को संविधानसभाको निर्वाचनका बेला मधेसीजनअधिकार फोरमबाट विजयी भएका थिए। 

दोस्रो संविधानसभाको निर्वाचनमा उनी फोरम लोकतान्त्रिक बनाई त्यही पार्टीबाट निर्वाचित भए। 

अघिल्लो निर्वाचनमा उनी कांग्रेसमा फर्किँदै त्यही क्षेत्रबाट विजयी भए। भ्रष्टचार मुद्दा लागेसँगै उनी पार्टीमा कमजोर देखिएका छन्।

कांग्रेसको १४ औ अधिवेनशमा धनराज गुरुङसँग २ मतले पराजित भए। उनी केन्द्रमा मात्रै पराजित भएनन् गाउँ नगर अधिवेशनमा सुनसरी ३ का अधिकांश पालिकामा उनीइतरका नेताहरु विजयी भए।

उनका आफ्नै भाइ वेद गच्छदारलेसमेत गुट परिवर्तन गरेपछि अल्पमतमा परेका थिए। उनले उम्मेदवार बनाएका टेकचन्द्र विश्वास गाँउ नगर अधिवेनशमा पराजित भएसँगै एमाले प्रवेश गरिसकेका छन्। 

उनका सहयोगीका रुपमा रहेका थारु समुदायमा प्रभाव राख्ने मिलिराम चौधरीसमेत एमाले प्रवेश गरेका छन्। मिलिराम थारु काल्यणकारणी सभा तथा जनजाती महासंघ सुनसरीका पूर्व अध्यक्ष समेत हुन्। 

गाउँ नगर अधिवेशनपछि कांग्रेस छाडेर बसेका पूर्व राज्यमन्त्री सुमित्रा कुमारी थरुनी र उनका विश्वास पात्र प्रदीप चौधरीसमेत एमाले प्रवेशको तयारीमा थिए। 

शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीबाट पार्टी प्रवेशको तयारीमा रहेका थरुनी र चौधरीलाई भने गच्छदार पार्टीमै राख्न सफल भएका छन्। 

शुक्रबार गृहनगर आएर गच्छदारले उनीहरुलाई कांग्रेस प्रवेश गराएका छन्। उनीहरु कांग्रेसबाट राजीनामा दिएर बसेका थिए। 

अरु क्षेत्रबाट को को?
नेपाली कांग्रेसले प्रतिनीधिसभा निर्वाचनका लागि प्रत्यक्ष तर्फबाट सुनसरी क्षेत्र नम्बर १ बाट  उम्मेदवारका रुपमा ५ जनाको नाम सिफारिस भएको छ। 

सुनसरी १ बाट मीन विश्वकर्मा , लक्ष्मी खतिवडा, मीना सुब्बा, उमेश थापा र चन्द्र प्रसाद श्रेष्ठको नाम उम्मेदवारका रुपमा सिफारिस भएको छ। 
सुनसरी क्षेत्र नम्बर २ बाट राजीव ढुंगाना, राजीव कोइराल र सीताराम कोइरालको नाम सिफारीस भएको छ। 

सुनसरी क्षेत्र नम्बर ४ बाट अहिलेसम्म नाम सिफारिस भएको छैन। तर उक्त क्षेत्रबाट ज्ञानेन्द्रबहादुर कार्कीको एकल नाम सिफारिस हुने सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .