राजनीति


ऊर्जामन्त्री भुसालद्वारा खोकनाको सार्वजनिक जग्गा संरक्षणका अगुवा सम्मानित

ऊर्जामन्त्री भुसालद्वारा खोकनाको सार्वजनिक जग्गा संरक्षणका अगुवा सम्मानित

नेपालखबर
भदौ १८, २०७९ शनिबार १८:१३, काठमाडौँ

ललितपुर महानगरपालिका वडा नं २५ खोकना दोबाटोस्थित सार्वजनिक जग्गा संरक्षणमा अग्रणी भूमिका निर्वाह गर्ने स्थानीय एवं समाजसेवीलाई आज सम्मान गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले १०४ जनाभन्दा बढी सार्वजनिक जग्गा संरक्षण अभियन्तालाई सम्मान गरेकी हुन्।

खोकना डोबाटोस्थित करिब दुई रोपनी सार्वजनिक जग्गा भूमाफियाले व्यक्तिका नाममा लैजाने प्रयास गरेपछि मन्त्री भुसालको अगुवाइमा १०४ जनाको संरक्षण समिति बनाएर ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो। संरक्षण समितिका सदस्यको सक्रिय पहलमा जिल्ला अदालत र पुनरावेदन अदालतले समुदायको नाममा समर्पित जग्गा व्यक्तिको हुन नसक्ने फैसला गरेपछि सो जग्गा छ्यासिकोट सामुदायिक स्वास्थ्य भवन संरक्षण समितिको नाममा अर्थात सार्वजनिक रुपमा कायम भएको छ।

सो अवसरमा समितिका तर्फबाट मुद्दाको नेतृत्व गर्ने वरिष्ठ अभिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता रमणकुमार श्रेष्ठ, अन्य वकिल तथा संरक्षण समितिका अध्यक्ष कृष्णहरि खड्कासहित सदस्यहरु एवं अन्य समाजसेवीलाई मन्त्री भुसालले खादा लगाएर सम्मान गरिन्। उक्त जग्गामा बनेको भवनमा स्थानीयले स्वास्थ्य शिविर एवं ध्यानयोग सञ्चालन गर्दै आएका छन्। समितिका सचिव रघुनाथ खड्काका अनुसार विसं २०५१ सालदेखि निरन्तर समुदायको पक्षमा सङ्घर्ष गर्दै आएर गत साउन १६ गते भएको उच्च अदालतको फैसलाले सार्वजनिक जग्गा व्यक्तिको हुनबाट जोगिएको छ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता श्रेष्ठले एक पटक समुदायमा हस्तान्तरण गरिएको जग्गा पुनः व्यक्तिको हुन नसक्ने बताउँदै जग्गाधनी धनमाया महर्जनले विगत ३० वर्षअगाडि नै समुदायलाई हस्तारन्तर गरेको जग्गामा विभिन्न हकवालाको नाममा व्यक्तिको नाममा पार्ने प्रपञ्च भएको भन्दै त्यस्ता गविधि विरुद्ध एक भएर लाग्न सुझाव दिए।

कार्यक्रममा मन्त्री भुसालले भूमाफियाविरुद्ध एकताबद्ध भएर स्थानीय जनताले मुद्दा दायर गरेको र सबैको पहलले जनताको सम्पत्ति जनताकै नाममा रहने स्थिति सिर्जना भएको बताइन्। 

सामाजिक न्यायको पक्षमा आफू निरन्तर समर्पित हुने विश्वास दिलाउँदै मन्त्री भुसालले भनिन्, ‘सामाजिक लडाइँको प्रतीकका रुपमा प्राप्त भएको यो जग्गामा समुदायका लागि वतावरणमैत्री बहुउपयोगी भवन निर्माण गरेर प्रयोगमा ल्याउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु, सार्वजनिक सम्पत्ति र संपदाको संरक्षणमा सबै लागौँ।’

कार्यक्रममा प्रदेशसभा सदस्यद्वय राजकाजी महर्जन र जीवनराम श्रेष्ठले सार्वजनिक सम्पत्तिको संरक्षणका लागि समुदाय नै लाग्नुपर्नेमा जोड दिँदै समुदाय एक हुँदा आफ्नो संपदाको संरक्षण गर्न सकिने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad