ad ad

राजनीति


प्रस्तावित राजदूत घिमिरेको नाममा म्यानमारले दियो सहमति

प्रस्तावित राजदूत घिमिरेको नाममा म्यानमारले दियो सहमति

नेपालखबर
भदौ १५, २०७९ बुधबार १९:३८, काठमाडौँ

म्यानमार सरकारले प्रस्तावित नेपाली राजदूत हरिश्चन्द्र घिमिरेको नाममा सहमति (एग्रिमो) दिएको छ। 

नेपालले सहमति मागेको तीन महिनापछि म्यानमारले प्रस्तावित राजदूत घिमिरेको नाममा सहमति दिएको हो। 

परराष्ट्र मन्त्रालयले गत जेठ १० गते घिमिरेलाई राजदूत प्रस्ताव गरिएको जानकारी गराउँदै म्यानमार सरकारसँग सहमति मागेर पत्र लेखेको थियो। 

‘घिमिरेको नाउँमा सहमति प्राप्त भएको छ। अब उहाँको औपचारिक नियुक्ती प्रक्रिया अघि बढ्छ’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले नेपालखबरसँग भने। 

कूटनीतिक मामिलाका जानकारहरुका अनुसार सामान्य अवस्थामा दुई महिनाभित्र आतिथेय मुलुकले प्रस्तावित राजदूतको नाममा सहमति दिने गर्थे। तर म्यानमारले प्रस्तावित नेपाली राजदूतको नाममा तीन महिना पुग्न लाग्दा पनि सहमति नदिएपछि प्रश्न उठेको थियो।

घिमिरेको नाममा सहमति दिन ढिलाइ गरेपछि कूटनीतिक च्यानलबाट म्यानमारको परराष्ट्र मन्त्रालयसँग ताकेता गरेको थियो। 

परराष्ट्रको ताकेतापछि म्यानमारको परराष्ट्र मन्त्रालयले घिमिरेको एग्रिमो स्वीकृत गरिएको जानकारी यांगुनस्थित नेपाली दूतावासमार्फत् बुधबार परराष्ट्र मन्त्रालयलाई पठाएको हो। 

घिमिरे परराष्ट्र मन्त्रालयका ‘करिअर डिप्लोम्याट’ हुन्। उनीसँग म्यानमारस्थित नेपाली दूतावासमा काम गरिसकेको अनुभव पनि छ।

मन्त्रिपरिषद् बैठकले गत चैत अन्तिम साता म्यानमार सहित २० देशका लागि राजदूत सिफारिस गरेको थियो। म्यानमारमा एक वर्षयता राजदूत पद रिक्त छ। भीम उदास फर्केपछि उनको स्थानमा घिमिरेको नियुक्ती भएको हो।

खुमानसिंह तामाङ अहिले त्यहाँ कार्यवाहक राजदूतको जिम्मेवारीमा छन्।

देउवा सरकारले सिफारिस गरेका मध्ये १८ देशमा राजदूत नियुक्त भइसकेको छ।

संसदीय सुनुवाइ समितिले जेठ दोश्रो साता म्यानमारसहित अन्य देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको थियो।

त्यसलगत्तै परराष्ट्रले सम्बन्धित मुलुकमा उनीहरुको नाम सहमतिका लागि पठाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .