ad ad

राजनीति


शीतल निवासबाट फर्केका राप्रपा नेता भन्छन्– एमालेसँगै तालमेल हुन्छ

झापामा सत्ता गठबन्धनसँग तालमेल गर्ने कागज भएको छैन– श्रेष्ठ
शीतल निवासबाट फर्केका राप्रपा नेता भन्छन्– एमालेसँगै तालमेल हुन्छ

नेपालखबर
भदौ १४, २०७९ मंगलबार १३:२३, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा १० जना नेताको टोली आइतबार अपराह्न शीतलनिवास पुग्यो। त्यहाँ उनीहरुले दुई घण्टासम्म राष्ट्रपति विद्यादेवी भण्डारीसँग कुराकानी गरे।

नागरिकता विधेयकका विषयमा छलफल गर्न राष्ट्रपति भण्डारीले राप्रपा नेताहरुलाई शीतल निवास बोलाएकी हुन्। सेनाका पूर्वजर्नेल लगायतसँग परामर्श गरिरहेकी राष्ट्रपतिले राजनीतिक दलका नेताहरुलाई पनि परामर्शमा बोलाउन थालेकी छन्।

यसै क्रममा राप्रपा नेताहरुसँग छलफल गरेको भोलिपल्ट मंगलबार राष्ट्रपति भण्डारीले कांग्रेस नेताहरुसँग पनि छलफल गरिसकेकी छिन्।

राष्ट्रपतिसँगको भेटमा नागरिकता विधेयक लगायत समसामयिक विषयमा छलफल भएको राप्रपा नेता मोहन श्रेष्ठले बताए। उनका अनुसार अपराह्न ४ बजेदेखि ६ बजेसम्म दुुई घण्टा छलफल भएको थियो।

यसैबीच, राप्रपा नेताहरुले आगामी मंसिरको चुनाबमा सत्तापक्षसँग तालमेल नहुने बताएका छन्। नेकपा एमालेसँग भने तालमेलका लागि छलफल चलिरहेको र चुनावी गठबन्धनको सम्भावना रहेको नेताहरु बताउँछन्।

‘गठबन्धन नेकपा एमालेको पनि आवश्यकता हो र राप्रपाको पनि आवश्यकता हो,’ राप्रपा नेता श्रेष्ठले नेपालखबरसँग भने,‘एमालेसँगै हाम्रो तालमेलको सम्भावना छ, कांग्रेस वा सत्ता गठबन्धनसँग तालमेलको सम्भावना छैन।’

झापामा कागज भएको छैन : श्रेष्ठ

एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ मा गत स्थानीय चुनानमा राप्रपाले कांग्रेस र माओवादीसँग तालमेल गरेका थिए। सत्ता गठबन्धनसँगको तालमेलकै आधारमा राप्रपाका राम थापाले मेयर पदमा जित हासिल गरेका थिए। तर, मंसिरको चुनावमा सत्ता गठबन्धनसँग राप्रपाले तालमेल नगर्ने श्रेष्ठले नेपालखबरलाई बताए।

श्रेष्ठले भने, ‘स्थानीय चुनावमा दमक नगरपालिकामा सत्ता पक्षसँग तालमेल भएको हो, तर अर्को चुनावमा पनि तालमेल गर्ने भन्ने कागज भएको छैन, झापा ५ मा पनि एमालेसँगै तालमेल हुन्छ।’

राप्रपा नेता श्रेष्ठले यसो भन्दै गर्दा दमकका माओवादी नेता गगन पुरीले भने संघ र प्रदेशको चुनावमा पनि गठबन्धन गर्ने राप्रपासँग सहमति भइसकेको दाबी गरेका छन्।  

यो पनि–

राप्रपाका कुन नेता कहाँबाट लड्दैछन्?
राष्ट्रिय प्रजातन्त्र पार्टीले एकातर्फ एमालेसँग गठबन्धनको तयारी गरिरहेको छ भने अर्कोतिर पार्टीका तर्फबाट उम्मेदवारहरुको छनोट पनि सँगसँगै गरिरहेको छ। भदौ २० गते भित्र सबै जिल्लाबाट उम्मेदवारहरूको नाम सिफारिस भइसक्ने राप्रपा नेता श्रेष्ठले नेपालखबरलाई बताए।

राप्रपाका अर्का एक नेताले दिएको जानकारीअनुसार केही नेताहरुको चुनाव लड्ने सीट यसअघि नै टुंगो लागिसकेको छ।

पार्टी अध्यक्ष राजेन्द्र लिङदेन पहिलेकै क्षेत्र झापा ३ बाट लड्नेछन्। यसका लागि लिङदेनलाई एमालेले सघाउने र झापा ५ मा केपी ओलीलाई राप्रपाले सघाउने तयारी भइरहेको स्रोतले बतायो। विगत ०७४ को चुनावमा पनि यसै गरी ओली र लिङदेनबीच गठबन्धन बनेकाे थियो।

झापामा केपी ओलीसँग तालमेलको तयारी गरेको राप्रपाले चितवन ३ मा भने प्रचण्डलाई हराउने रणनीति बनाएको छ। चितवन ३ बाट विक्रम पाण्डेलाई उम्मेदवार बनाउने राप्रपाको तयारी छ।

राप्रपा नेता ध्रुव बहादुर प्रधान नवलपरासी २ बाट प्रत्यक्ष निर्वाचन लड्ने भएका छन्। त्यहाँ राप्रपाको राम्रो पकड रहेको नेताहरुको दाबी छ।

त्यस्तै अर्का नेता दीपक बोहोरा रुपन्देही १ बाट लड्ने भएका छन्। अर्का नेता डा. प्रकाशचन्द्र लोहनी नुवाकोटबाट लड्ने भएका छन्। लोहनीलाई एमालेले सघाउने सम्भावना रहेको राप्रपा नेताहरुको दाबी छ।

भर्खरै राप्रपामा प्रवेश गरेका पूर्व गभर्नर तिलक राउतका छोरा विनय रावल बर्दिया २ बाट चुनाव लड्ने भएका छन्। राप्रपाका अर्का नवप्रवेशी युवा ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने निश्चित भएको राप्रपा स्रोतले बतायो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .