ad ad

निर्वाचन विशेष


दमक र भरतपुरमा ‘साँढेको टाङमुनि’ राप्रपाको ‘बाल्टी’

ओली-प्रचण्डलाई एकैसाथ गलाउने राजेन्द्र लिङदेनको रणनीति
दमक र भरतपुरमा ‘साँढेको टाङमुनि’ राप्रपाको ‘बाल्टी’

नेपालखबर
बैशाख १८, २०७९ आइतबार २१:३, काठमाडौँ

‘साँढेको टाङमुनि बाल्टी थापेर दूध आउँछ? साँढेले दूध दिएन भनेर त्यसलाई सुम्सुम्याउँदा हुन्छ? साँढेको धर्म नै दूध दिने होइन। ठूला भनिने दललाई भोट दिएर देश बन्छ भन्नु पनि त्यस्तै हो। चुनावमा तिनै दललाई भोट दिने हो भने हामी बर्बाद हुने मात्र होइन, हाम्रो भावी सन्ततिको भविष्य पनि बर्बाद हुन्छ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले चैत १० गते गोरखा सदरमुकाम पुगेर गरेको भाषणको सारांश हो यो।

देशका अन्य भागमा आयोजित आमसभामा पनि लिङदेनले यही भाषण दोहोर्याउँदै आएका छन्। 

कांग्रेस, एमाले र माओवादीले देश बनाउछु भन्नु साँढेको टाङमुनि बाल्टी थाप्नुजस्तै भएको लिङदेनले टिप्पणी गर्दै आएका छन्।

तर, क‌ांग्रेस, एमाले र माओवादीका विषयमा यति खरो टिप्पणी गरेका लिङदेनले आफैं झापाको दमक नगरपालिका र चितवनको भरतपुर महानगरपालिकामा भने कांग्रेस, एमाले र माओवादीको ‘टाङमुनि बाल्टी थाप्ने’ काम गरेका छन्। 

अर्थात्, दमकमा लिङदेन नेतृत्वको राप्रपाले राम थापालाई प्रमुख पदमा जिताउनका लागि सत्तापक्षसँग गठबन्धन गरेको छ। ठूला पार्टीलाई  भोट दिँदा भावी सन्ततिको समेत भविष्य वर्वाद हुने बताएका लिङदेनले   दमकको उपप्रमुखमा कांग्रेसलाई र वडाहरुमा माओवादीलाई समेत भोट हाल्ने नीति लिएका छन्।

यता भरतपुरमा पनि राप्रपाले आफ्नो उपप्रमुखलाई जिताउन प्रमुख र वडाहरुमा नेकपा एमालेको सूर्य चिह्नमा भोट हाल्दैछ।

आखिर, कांग्रेस, एमाले र माओवादीलाई मतदान गर्दा हाम्रो पुस्ता मात्र बर्बाद हुने होइन कि भावी सन्ततिको भविष्यसमेत बर्बाद हुन्छ भन्दै आएका लिङदेनले किन झापामा कांग्रेस–माओवादी गठबन्धनलाई भोट हाल्ने निर्णय लिए?

लिङदेनले किन भरतपुरमा सूर्य चिह्नमा मतदान गर्ने निर्णय लिए? अन्ततः लिङदेनकै भाषामा भन्नुपर्दा ‘ठूला पार्टीको टाङमुनि बाल्टी थाप्ने’ नीति राप्रपाले किन अंगीकार गर्यो? 

यसका पछाडिको रहस्य रोचक छ।

बाच्छो भर्सेस साँढे!
नेपाली कांग्रेसको महाधिवेशनमा मन्यव्य दिने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजेन्द्र लिङदेनलाई हिँड्न नजान्ने बाच्छोको संज्ञा दिएका थिए। सोही कार्यक्रममा बोल्दै लिङदेनले सबै नेताहरुलाई जनताले चोर भन्ने गरेको बताए।

बाच्छो भन्ने ओलीको अभिव्यक्तिले चिढिएका लिङदेनले झापाको दमकमा कांग्रेस र माओवादीसँग तालमेल गरेर एमालेलाई हराउने र केपी ओलीलाई पाठ पढाउने नीति लिएका छन्। 

राप्रपाका प्रदेश १ का अध्यक्षसमेत रहेका राम थापाले नेपाली कांग्रेसलाई उपप्रमुख दिएर एमालेविरुद्ध तालमेल गरेका छन्। त्यहाँ राप्रपाले माओवादीसँग पनि वडाहरुमा तालमेल गरेको छ। 

नेकपा एमालेले केपी ओलीकै गृहनगरमा राप्रपासँग पराजय भोग्यो भने त्यो ओलीका लागि लज्जाजनक विषय हुनेछ भन्ने राजेन्द्र लिङदेनले बुझेका छन्। यही कारण उनले दमकमा आफ्नो पार्टीका प्रमुखलाई जिताउन कांग्रेस र माओवादीसँग ‘बाल्टी’ थापेका हुन्।

झापा र चितवनमा दोहोरो नीति
इमान, जमान र निष्ठाको राजनीति गर्नुपर्छ  भन्दै आएका राप्रपा नेता लिङदेनले झापा र चितवनमा फरक नीति अख्तियार गरेर ठूला पार्टीले जस्तै ‘असैद्धान्तिक गठबन्धन’ को नीति अपनाएका छन्।

झापामा ओलीविरुद्ध कांग्रेस र माओवादीसँग मिलेका लिङदेनले प्रचण्डको गृहनगर भरतपुरमा भने माओवादी र कांग्रेसका उम्मेदवारलाई हराउनका एमालेसँग तालमेल गरेका छन्। यसको एउटै कारण हो, प्रचण्डकी छोरी रेणु दाहाललाई हराउने र प्रचण्डमाथि धक्का दिने। 

चितवनमा सूर्य चिह्नमा मतदान गरेर राप्रपाले एमालेका प्रमुखलाई सघाउनेछ भने उपप्रमुखमा उसले एमालेको साथ लिनेछ। दमकमा चाहिँ राप्रपाले कांग्रेस र माओवादीको साथ लिएर एमालेलाई हराउन भूमिका खेल्नेछ।

राजेन्द्र लिङदेनको शक्ति 
दमकमा विगतको स्थानीय चुनावमा राप्रपा दोस्रो शक्ति बनेको थियो। एमालेका प्रमुख रोमनाथ ओलीले १० हजार ८०६ मत पाउँदा राप्रपाका राम थापाले ७ हजार ६५५ मत पाएर दोस्रो स्थान हासिल गरेका थिए। तेस्रोमा माओवादीका रेवतराज पुरी (गगन) ले ६ हजार ८९८ मत पाएका थिए। कांग्रेसका ढुण्डीराज भण्डारीले ५ हजार ५३९ मत पाएका थिए। 

उपप्रमुखतर्फको मत विश्लेषण गर्दा एमाले उम्मेदवार गीता कुमारी पौडेलले लोकप्रिय मत पाएकी थिइन्। गीताले पाएको मत १२ हजार ६२५ थियो भने दोस्रोमा कांग्रेसकी रेगिना भट्टराईले ८ हजार ९१२ मत पाएकी थिइन्। अहिले गीता एमालेबाट प्रमुखमा उठेकी छिन् भने रेगिना राप्रपा र माओवादीको समेत साथ लिएर उपप्रमुखमै उठेकी छिन्। 

उपप्रमुखमा राप्रपाले ४ हजार ४४९८ मत पाएको थियो भने माओवादीले ४ हजार ३७४ मत पाएको थियो। उपप्रमुखमा कांग्रेस, माओवादी र राप्रपाको मत जोड्दा एमालेको भन्दा ४ हजार बढी देखिन्छ। 

 


झापाका एमाले नेताहरुको तर्क अनुसार उपप्रमुखमा एमालेको जितको सम्भावना कम देखिएको छ। तर, प्रमुखमा राप्रपाका राम थापालाई हराएर एमालेको जित सुनिश्चित गरिने एमाले नेता दाबी गर्छन्।

मतदान आउनै लाग्दा स्वयं केपी ओलीले केही व्यक्तिलाई फोन गर्ने र राम थापालाई हराइ छाड्ने एक एमाले नेताले नेपालखबरलाई बताए। कतिपय माओवादी र कांग्रेसका असन्तुष्ट नेताहरुलाई एमालेले समेट्ने रणनीति बनाइरहेको ती नेताले बताए।

दमकको नगर प्रमुख जितेर एमालेलाई धक्का दिने योजनामा रहेको राप्रपाले भरतपुर महानगरपालिकामा एमालेको बलले उपप्रमुख जित्ने लक्ष लिएको छ।

एमालेले भरतपुरको प्रमुखमा विजय सुवेदीलाई उठाएको छ भने राप्रपाले एमालेसँगको तालमेलमा हिमला गुरुङलाई उपप्रमुखमा खडा गरेको छ।

भरतपुरमा माओवादीकी रेणु दाहालले ०७४ सालमा एमाले उम्मेदवार देवी ज्ञवालीको भन्दा २०३ मत मात्र बढी ल्याएकी थिइन्। कांग्रेससँगको तालमेलमा रेणुले पाएको मत ४३ हजार १२७ थियो भने देवीले ४२ हजार ९२४ मत पाएका थिए। 

राप्रपाका बद्रीनाथ तिम्सिनाले ६ हजार ८४२ मत पाएका थिए। तिम्सिना अहिले माओवादीमा प्रवेश गरिसकेका छन्। 

उपप्रमुखतर्फ एमालेले ०७४ सालमा ३९ हजार ५२५ मत पाएको थियो भने राप्रपाकी रीना गुरुङले ७ हजार २५२ मत पाएकी थिइन्। अहिले रीनाकाे ठाउँमा हिमला एमाले–राप्रपा गठबन्धनबाट उपप्रमुखको उम्मेदवार बनेकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .