ad ad

राजनीति


नेविसंघद्वारा नेपालको नक्सा सार्वजनिक

नेविसंघद्वारा नेपालको नक्सा सार्वजनिक

नेपालखबर
मंसिर २३, २०७६ सोमबार १३:४७,

भारतले नेपाली भूमि समेटेर नक्सा सार्वजनिक गरेपछि उत्पन्न राजनीतिक तरंगका बीच राजधानी काठमाडौंमा हजारौं विद्यार्थीहरुले अतिक्रमित नेपाली भूमिसहितको नक्सा सार्वजनिक गरेका छन्।

नेपाल विद्यार्थी संघका नेता एवं ‘चिनौ सीमा, जोगाऔं माटो’ अभियानका संयोजक नवराज त्रिपाठीको अगुवाईमा काठमाडौंको बसन्तपुरमा हजारौं विद्यार्थीहरुले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्सा प्रदर्शन गरेका हुन्। विद्यार्थीहरुले बसन्तपुरमै नेपालको नक्सा कोरेर सार्वजनिक गरेका हुन्। अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले पर्याप्त पहल नगरेको आरोप लागिरहेका बेला नेविसंघले बृहद प्रदर्शन सहित नक्सा सार्वजनिक गरेको हो।

अभियानका संयोजक विद्यार्थी नेता नवराज त्रिपाठीले काठमाडौंका विभिन्न विद्यालयहरुमा पुगेर नेपालको वास्तविक नक्सा बनाउन सिकाइएको बताए। ‘पहिलो चरणमा विद्यार्थीलाई नेपालको वास्तविक नक्सा चिनायौं। नक्सा बनाउन सिकायौं र बसन्तपुरबाट प्रदर्शन गर्यौं’ , त्रिपाठीले भने। नेपालको भूमि मिचिदा समेत हजारौं नागरिकलाई आफ्नो देशको वास्तविक नक्साबारे थाहा नभएको भन्दै त्रिपाठीले आम नागरिकलाई देशको भूमि चिनाउन अभियान गरिएको बताए। सरकारले अतिक्रमित भूमिसहितको नक्सा सार्वजनिक गर्न ढिलाई गर्न नहुने भन्दै उनले नयाँ वास्तविक नक्सालाई पाठ्यक्रममा पनि समेटनुपर्ने बताए।

कार्यक्रममा नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले आफ्नो स्वास्थ्यसँगै देशको स्वास्थ्यको पनि ख्याल गर्न आग्रह गरे। गुमेको भूमि फिर्ता गराउने अभियानमा नेपाल विद्यार्थी संघ ७७ वटै जिल्लामा सक्रिय हुने भन्दै नेता काफ्लेले सीमा मिचिदा सरकार निरीह बनेको आरोप लगाए। ‘भारतसँग गर्नुपर्ने हो कि चीनसँग या संयुक्त राष्ट्रसंघसंग हो, तत्काल वार्ता गरेर नेपाली भूमि फिर्ता ल्याउन सक्नुपर्छ। यत्ति काम गर्न नसक्ने कम्युनिष्ट सरकारको औचित्य छैन’, काफ्लेले भने ।

कार्यक्रममा उपत्यकाका विभिन्न विद्यालय तथा क्याम्पसका विद्यार्थीहरु कालापानी हाम्रै हो, नेपाली भूमि फिर्ता गर, सीमा अतिक्रमण बन्द गर लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर सहभागि भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .