निर्वाचन आयोगले आसन्न प्रदेशिक र संघीय निर्वाचनका लागि आवश्यक पर्ने सामग्री छपाइका लागि इच्छुक निजी क्षेत्रका छापाखानाहरूलाई सूचिकृत हुन आह्वान गरेको छ।
आयोगले बुधबार सार्वजनिक सूचना जारी गर्दै निर्वाचन प्रयोजनका लागि आवश्यक सामग्री छाप्न इच्छुक निजी क्षेत्रका छापाखानाहरूलाई सूचीकृत हुन आह्वान गरेको हो।
जारी सूचनामा आयोगले निर्वाचन ऐन, नियम, निर्देशिका, अनुसूचि फारम, विभिन्न किसिमका कार्डहरु, परिचय पत्र, मतदाता परिचय पत्र, मतदाता नामावली, मतदाता शिक्षासँग सम्बन्धित छपाइ कार्य गर्नुपर्ने उल्लेख गरिएको छ।
आयोगले निर्वाचनमा प्रयोग हुने मतपत्रहरू भने सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्रमा नै छाप्दै आएको छ।
आयोगले आसन्न निर्वाचनमा प्रत्यक्षतर्फ चार र समानुपातिक तर्फ चार गरी आठ करोड मतपत्र आवश्यक पर्ने जनाएको छ। आयोगका अनुसार प्रादेशिक र संघीयमा प्रत्यक्ष र समानुपातिक गरी दुई–दुई वटा मतपत्र चाहिन्छ।
आयोगले सामग्री केन्द्रका ६ वटा मेसिनले चार करोड मतपत्र छाप्न ३४ दिन लाग्ने जनाएको छ। आयोगका अनुसार आगामी निर्वाचनमा १ करोड ८२ लाख मतदाता हुने अनुमान गरिएको छ।
Shares
प्रतिक्रिया