ad ad

राजनीति


‘देउवाको गन्तव्य आरजु म्याडम, प्रचण्डको सुपुत्री, माधव अलपत्र’

‘देउवाको गन्तव्य आरजु म्याडम, प्रचण्डको सुपुत्री, माधव अलपत्र’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली। तस्बिर : राजन काफ्ले


नेपालखबर
साउन २०, २०७९ शुक्रबार १८:२१, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले हार्नै नमिल्ने बताएका छन्।

आफ्नो पार्टीले सो निर्वाचन हार्दा देशले हार्ने भएकाले जित्नैपर्ने अवस्था आइपरेको ओलीको जिकिर थियो।

पार्टीको उपत्यका विशेष प्रदेश कमिटीले शुक्रबार भक्तपुरको बोडेमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले देशलाई हार्न नदिनका लागि पनि आफ्नो पार्टीले आगामी निर्वाचन जित्नैपर्ने भन्दै त्यसको तयारीमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिए।

सत्तारुढ गठबन्धन र यसका नेताहरुले देशलाई दूगर्तिमा डुबाएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसबाट देशलाई जोगाउन पनि आफूहरुले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विजयी हुनुको विकल्प नभएको दोहोर्याए। उनले सत्तारुढ गठबन्धनका आवद्ध नेताहरुले आ–आफ्ना स्वार्थका लागि देशविरुद्ध जस्तासुकै कुकर्म गर्न पनि पछि नपर्ने आरोप लगाए। 

उनले भने, ‘मुख्य फोकस चाहिँ निर्वाचनको तयारीमा काम गर्ने हो। अहिलेको निर्वाचन हामीले हार्न मिल्दैन। आगामी निर्वाचनमा हामीले हार्नै मिल्दैन। नेकपा एमालेका लागि त केही छैन। प्रतिपक्षमा बस्छ। प्रतिपक्षमा बसेर जनताको पक्षमा आवाज उठाउँछ। देशको पक्षमा बोल्छ, आवाज उठाउँछ। राष्ट्रियताको पक्षमा, लोकतन्त्रको पक्षमा, स्वच्छताको पक्षमा, सुशासनको पक्षमा, विकासको पक्षमा बोल्छ। आवाज उठाइरहन्छ। यसलाई काम गर्न कार्य क्षेत्र सिद्धिने त होइन। तर, एमालेले हार्दा देश हार्छ। एमालेले जित्नैपर्ने कारण के छ भने देश जिताउनुपर्नेछ। देशलाई हार्न दिनुहुने छैन। एक वर्षमा यो परमादेशी गठबन्धन सरकारले देशलाई यसरी दूगर्तिमा लगेको छ। निर्लज्ज हुने गरी भ्रष्टाचारमा डुबाएको छ। 

गठबन्धनका नेताहरु शेरबहादुर देउवाको गन्तव्य म्याडम साहेव भएको, प्रचण्डको गन्तव्य सुपुत्री भएको, मोहन विक्रम सिंहको गन्तव्य प्युठान भएको भन्दै ओलीले ठट्यौली पारामा उनीहरुबाट देशको हित नहुने दावी गरे। 

उनले भने, ‘यिनको कुनै गन्तव्य नै छैन। अब मोहन विक्रम सिंहको गन्तव्य प्युठान। शेरबहादुरको गन्तव्य के हो भन्दा मेडम साहेव। प्रचण्डको गन्तव्य के हो भन्दा सुपुत्री। यस्ता यस्ता गन्तव्य लिएर हिँडेका छन् यिनीहरु। त्यसका लागि जे पनि गर्छन्। यसका लागि देशका विरुद्ध जस्तासुकै कुकर्म गर्न पनि तयार छन्। माधव नेपालको त जिन्दगी नै छटपटीमा बित्छ क्या। उनको गन्तव्यसन्तव्य केही पनि छैन।’

अध्यक्ष ओलीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले संगठित ढंगले इमान्दार प्रयास गर्न सके बहुमत प्राप्त गर्न सक्ने सम्भावना रहेको दावी गरे। पार्टीको सरकार नढल्नका लागि पनि लागि आगामी निर्वाचनमा बहुमत चाहिने र त्यसका लागि इमान्दार प्रयास पार्टीका नेता, कार्यकर्ताले गर्नुपर्ने उनले बताए। 

अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई हुँदाहुँदै एमालेले गरेको विघटन बदर गर्ने र अरुले गरेको विघटनलाई सदर गर्ने काम अदालतले गरेको भन्दै आक्रोश समेत व्यक्त गरे। 

उनले भने, ‘हामीलाई दुई तिहाई बहुमत चाहिने हो। तर तत्कालका लागि त्यो सम्भावना छैन। तर सम्भावना के छ भन्दा हामीले इमान्दार प्रयासलाई संगठित ढंगले, योजनावद्ध ढंगले अगाडि बढायौं भने बहुमत प्राप्त गर्न सक्छौं। सरकार गठन गरेपछि पनि अप्ठयारो नपर्ने गरी हामीले बहुमतको सरकार बनाउनु पर्दछ। तर भने फेरि अदालतको प्रयोग गरेर हामीलाई अप्ठयारो पार्न सक्दछन्।  प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको अधिकार हो। तर व्यक्तिको अनुहार हेरेर सर्वोच्च अदालतले समेत फैसला गर्ने गरेको छ।’

अध्यक्ष ओलीले मुलुकलाई समृद्ध बनाउने आकांक्षा एमालेले लिएको र त्यसैलाई पूरा गरेरै छोड्ने दृढता समेत व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .