ad ad

कला


‘विष्णु माझीको गीत नआएसम्म तीज नै लाग्दैन’

यो वर्ष पनि ल्याए दुर्गेशले ‘बीच्चबीच्चमा’
‘विष्णु माझीको गीत नआएसम्म तीज नै लाग्दैन’

राधिका अधिकारी
साउन २०, २०७९ शुक्रबार १९:१४, काठमाडौँ

हरेक वर्षको तीजमा विवादको पोको बोकेर बजारमा आउँछन् दुर्गेश थापा। उनको गीत आएपछि मनोरञ्जन बजार तरंगित हुन्छ, विवाद सुरु हुन्छ।

५ वर्षदेखि लगातार तीजको मौकामा गीत निकाल्दै आएका दुर्गेश यही कारण दोहोरी प्रतिष्ठानको कारबाहीदेखि महिलाहरुको बहिष्कारसम्म पर्छन्। 

तर, साह्रै ज्याद्रो छ उनको स्वभाव। न कारबाहीले छुन्छ, न बहिष्कारले। पल शाहसँग विवादमा मुछिएर चर्को गाली र आलोचना खेपेका उनी यो वर्ष पनि तीज गीतको छैटौँ सिरिज ल्याएका छन्। शुक्रबार ‘बीच्चबीच्चमा ६’ सार्वजनिक भएको छ। पहिलो सिरिजबाटै विवादमा परेका उनको यो तीज गीतबाट अर्को भूकम्प आउला नआउला, प्रतिक्षाको विषय भनेको छ।

दुर्गेशले यसअघि पटक पटक पोस्टर सार्वजनिक गर्दै गीतको खबर दिएका थिए। उनका गीतमाथि टिप्पणी गर्न श्रष्टाहरुमा जाँगर छैन। धेरै कलाकार उनलाई गायक नै मान्न तयार छैनन्। दुर्गेश आफैँ पनि गायक नभएर पर्फमर भएको स्वीकार्छन्। 

गीतकार एकनारायण भण्डारीलाई दुर्गेशको यही ज्याद्रोपन मन परेको छ। गायकका रुपमा उनको चर्चा गरिनु हुन्न भन्ने कुरामा कन्भिन्स भण्डारी दुर्गेशले नयाँ प्रयोग गरेकै कारण गीत चलेको बताउँछन्। 

‘उनी गायकका रुपमा ठीक छैनन् होला, तर पर्फमरका रुपमा अब्बल छन्। नयाँ प्रयोग गर्छन,’ उनले भने। उनको त्यही नयाँपनले चर्चा, बहस र विवाद एकै पटक ल्याउने गरेको भण्डारीको बुझाइ छ। ‘हरेक नयाँ कुरा स्वीकार गरिहाल्न सबैलाई गाह्रो हुन्छ,’ उनले भने।  

अघिल्लो वर्ष सांगीतिक बजारमा राम्रै तरंग ल्याउन सफल गायक हुन् प्रकाश सपूत। यो वर्ष उनको तीज गीत नआउने भएको छ। प्रकाशको मुड यो वर्ष अर्कै छ। गायकबाट नायक बन्ने बाटोमा रहेका प्रकाश तीज गीतमा प्रतीक्षारत शुभचिन्तकलाई आफ्नो पहिलो फिल्म प्रमोसनले फुर्सद नमिलेको बताएका छन्। 

प्रकाश भन्छन्, ‘परदेशी–२ का लागि समय दिनुपर्ने भएकाले यो वर्ष तीज गीत नल्याउने भएँ,’ उनी थप्छन्, ‘मैले मेरो सिर्जनात्मक समय, ऊर्जा र तनमन ‘परदेशी २’मा लगाउँदैछु।’

तीजमा तरंग ल्याउने अर्की गायिका हुन् विष्णु माझी। उनको गीत बजारमा आएपछि दर्शक श्रोतामा बेग्लै उत्साह देखिन्छ। यो वर्ष विष्णुको तीज गीतको प्रतीक्षामा छन् संगति प्रेमी। विष्णुले ल्याउने तीज गीतको व्यग्र प्रतीक्षा अघिल्ला वर्ष जस्तै स्रोता–दर्शक र सांगीतिक क्षेत्रका सरोकारवालाले गरिरहेका छन्। 

‘पुतलीको भट्टी’बाट सुरु भएको विष्णुको तीज गीत यात्रा १७ भागसम्म आइपुगेको छ। अर्थात, विष्णुले १७ वर्षदेखि तीजको माहोल बनाउँदै आएकी छन्। अघिल्लो वर्ष विष्णुको ‘चरी जेलैमा’ बोलको गीत सार्वजनिक भयो। यो गीतको चर्चा अहिले पनि उस्तै छ।

यो वर्षको तीजलक्षित केही गीत सार्वजनिक भइसक्दा पनि विष्णुको गीतको धेरैले प्रतीक्षा गरिरहेका छन्। लामो समयदेखि व्यावसाय गर्दै आएकी रुपा आचार्य पनि विष्णु माझीको गीत नआउँदासम्म अरु गीतले छुनै नसक्ने बताउँछिन्। ‘विष्णुको गीत आएपछि बल्ल तीजका गीत सुनेको जस्तो लाग्छ, तीज आए जस्तो लाग्छ,’ उनले सुनाइन्।  

यो वर्षका केही गीत सुनिसकेकी निर्देशक स्मृति तिमिल्सिना पनि विष्णुकै गीतको प्रतीक्षामा छिन्। ‘अबको प्रतीक्षा विष्णु माझीको गीतको हो। उहाँको गीत र भूकम्प उस्तै हो’, उनले भनिन्, ‘कहिले आउँछ कसैलाई थाहा हुँदैन।’

हुन पनि विष्णुको गीत कहिले आउँछ थाहा हुँदैन। अरूका गीत सोच्दादेखि हरेक क्षणका घटनाक्रम थाहा हुन्छ। विष्णुले गीत रेकर्ड गराएको, म्यूजिक भिडिओ सार्वजनिक भएको कसैलाई थाहा हुँदैन। विष्णु आफैंमा रहस्यमयी गायिका हुन्। उनी सार्वजनिक रुपमा कतै नदेखिएको लामो समय भइसक्यो। हरेक तीजमा सार्वजनिक हुन नसकेको उनको निजी जीवनबारे बहस र चर्चा हुन्छ, सेलाउँछ।

जेठदेखि भदौसम्मलाई तीज गीतको सिजन मानिन्छ। यो वर्ष पनि केही गीत सार्वजनिक भए। तर अहिलेसम्म राम्रो चर्चा बटुल्ने गीत आउन सकेको छैन। त्यसो त यो वर्ष निस्किने तीज गीतको संख्या नै निक्कै कम देखिएको छ।

असारबाटै तीज गीतको रस्साकस्सी चल्ने सांगीतिक बजार यो वर्ष भने सुनसान जस्तै देखिएको छ। यो वर्ष रेकर्ड भएका तीज गीतलाई हेर्ने हो भने कोरोनाकालमा भन्दा सुस्ताएको देखिन्छ। यो वर्ष तीज गीतको चहलपहल ५० प्रतिशतले घटेको सरोकारवाला बताउँछन्। 

अघिल्लो वर्षसम्म आफैँले तीज गीत निकाल्दै आएकी काव्य आचार्यले यो वर्ष गीत ननिकाल्ने सोचमा छिन्। स्टुडियो समेत सञ्चालन गर्दै आएकी काव्य विगतमा भन्दा तीज गीतको चहलपहल निक्कै कम रहेको बताउँछिन्। 

तीज गीतका लागि व्यस्त निर्देशकमध्येमा पर्छिन् स्मृति तिमिल्सिना ‘गुरुआमा’ । उनले पनि यो वर्ष तीज गीतको रौनक घटेको महसुस गरेकी छिन्। 

‘यतिबेलासम्म तीज गीतको एकखालको चहलपहल देखिन्थ्यो। तर यसपाली विगतमा जस्तो देखिएको छैन,’ उनले भने। 

आएका गीतप्रति पनि दर्शक स्रोताको त्यति धेरै चासो नभएको उनको बुझाइ छ। ‘सार्वजनिक भएका गीतमा उस्तो क्रेज देखिएन। विष्णु माझी लगायतका केहि गीतको भने प्रतिक्षा बाँकी छ,’ उनले भनिन्।

तीज गीत सार्वजनिक हुँदै गर्दा अघिल्ला वर्षहरुमा विभिन्न विवाद पनि सार्वजनिक हुन्थे। यो वर्ष त्यो पाटो पनि बन्दै देखिएको छ। 

गायिका पूर्णकला बिसीलाई पनि तीज गीतको माहोल सुनसान लागेको छ। उनले रेकर्डिङदेखि छायाँकनसम्म कतै पनि पहिलाको जस्तो उत्साह र रौनक नदेखेको बताइन। 

तीज लाई गायक गायिका जन्माउने पर्वका रुपमा पनि हेरिन्छ। धेरै गायक÷गायिका तीज गीत गाएर औपचारिक गायन यात्रामा देखिएका छन्। केही तीज गीत गाएर स्थापित पनि भएका छन्। 

वितेका केही वर्ष तीज गीतमा लगानी गर्नेहरुको संख्या ठूलो थियो। व्यवसायिक रुपमा तीज गीत ल्याउनेभन्दा रहरले लगानी गर्नेको संख्या ठूलो देखिन्थ्यो। 

कोरोनाकालमा ठप्प स्टेज कार्यक्रम पछिल्लो समय युट्युबमा खस्किएको गीतको भ्यूज, गीतप्रति स्रोता दर्शकको कम चासोले रहरमा लगानी गर्ने पनि पछि हटेका छन्। यस वर्ष रहरले लगानी गर्नेको संख्या घटेकाले तीज गीतको संख्यामा कमी आएको म्यूजिक भिडियो निर्देशक प्रकाश भट्ट बताउँछन्। 

दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजी अहिले कलाकार गीतमा लगानी गर्ने अवस्था नरहेको बताउँछन्। 

कोरोनाकालदेखि कमजोर हुँदै गएको कलाकारको आर्थिक अवस्थामा उल्लेख्य सुधार आउने खालको केही नहुनुले तीज गीत रेकर्डमा पनि काम गरेको उनको तर्क छ। ‘गीत कमी हुनुमा देशको आर्थिक अवस्था, कलाकारको आर्थिक आय लगायतले भूमिका खेलेको छ,’ उनले भनिन्।

यी सबै समस्याको सामना गर्दै गीतमा लगानी गरिरहेका कलाकारले पनि चर्चा कमाउन नसक्दा तयारीमा रहेका कतिपय कलाकार पनि ब्याक हुन सक्ने सम्भावना देखिएको छ। आएको गीतको माहोलमा रमाउन नसकेकी गायिका पूर्णकला बिसी विष्णु माझीकै गीतको प्रतीक्षामा छिन्। ‘हरेक वर्ष उहाँको गीतले बेग्लै छाप छोड्ने गरेको छ। उहाँको गीत कस्तो आउँछ होला भन्ने कौतूहलता छ,’ उनले भनिन्।

एकनारायण भण्डारीलाई पनि विष्णुको गीतको भने प्रतीक्षा छ। गीतको प्रतिक्षा हुँदै गर्दा पनि उनी आफू राम्रो स्रोता नभएको कुरा स्वीकार गर्छन। 

‘म आफ्नै धुनमा हराइरहने मान्छे हुँ। खासै राम्रो स्रोता बन्न त सकेको छैन’, उनले भने,  ‘विष्णुजीको अघिल्लो वर्षको गीत निकै चर्चित भएकाले यो वर्ष कस्तो गीत आउला सबैलाई कौतुहल छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .