राजनीति


उपसभामुखमा पुष्पा भुसालको उम्मेदवारी

माओवादी प्रस्तावक, समाजवादी समर्थक
उपसभामुखमा पुष्पा भुसालको उम्मेदवारी

उपसभामुखमा उम्मेदवारी दिँदै कांग्रेस नेतृ पुष्पा भुसाल। तस्बिर : नेपालखबर


नेपालखबर
असार ३०, २०७९ बिहिबार १२:०, काठमाडौँ

सत्तारूढ गठबन्धन दलहरूको तर्फबाट नेपाली कांग्रेसका सचेतक पुष्पा भुसाल (गौतम) ले प्रतिनिधि सभाको उपसभामुख पदमा उम्मेदवारी दिएकी छन्। 

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरूङ प्रस्तावक र नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीकुमारी चौधरीको समर्थनमा भुसालको उम्मेदवारी परेको हो। 

उपसभामुखको चुनाव शुक्रबार हुँदैछ। उपसभामुखका लागि प्रमुख प्रतिपक्षी एमालेले अझै उम्मेदवार तय गरिसकेको छैन।

उपसभामुखमा उठ्न लागेकी कांग्रेसकी समानुपातिक सांसद भुसाल अर्घाखाँचीकी हुन्। 

संवैधानिक परिषद् बैठक अघि बढाउन नसकेको भन्दै उपसभामुख चयन गर्नुपर्ने निचोडमा रहेको कांग्रेसले भुसाललाई अघि सारेको हो।

भुसाल २०७० मा अर्घाखाँची  क्षेत्र नं. २ बाट निर्वाचित भएकी थिइन्। २०५६ को संसदीय निर्वाचनमा समेत त्यही क्षेत्रबाट उठेकी थिइन्। 

उनले त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन पनि गरेकी छन्। उनी वकालत पेशामा पनि संलग्न थिइन्। ​

उनले कानुनमा स्नातक र राजनीति शास्त्रमा स्नातकोत्तर गरेकी छन्। भुसाल नेपाल बार एसोसिएसनमा केन्द्रीय सदस्य भइसकेकी छन्। 

भुसाल २०१५ सालमा बीपी कोइरालाको मन्त्रिपरिषदमा स्वास्थ्य मन्त्री रहेका बुवा काशीनाथ गौतम २०१७ सालमा सपरिवार भारत निर्वासित हुँदा पुष्पा पनि सँगै थिइन्। उनले १४ वर्ष भारतमा बिताइन्। 

उनी २०२८ सालदेखि सक्रिय राजनीतिमा लागेकी हुन्। 

२०७६ सालदेखि खाली उपसभामुख पदका लागि शुक्रबार निर्वाचन हुने भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख चयनका लागि निर्वाचन मिति घोषणासँगै कार्यतालिका सार्वजनिक गरिसकेका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad