प्रमुख सत्तारुढ नेपाली कांग्रेसले प्रतिनिधिसभाको उपसभामुखमा नेतृ पुष्पा भुसाललाई उठाउने तयारी गरेको छ।
कांग्रेसकी समानुपातिक सांसद भुसाल अर्घाखाँचीकी हुन्।
संवैधानिक परिषद् बैठक अघि बढाउन नसकेको भन्दै उपसभामुख चयन गर्नुपर्ने निचोडमा रहेको कांग्रेसले भुसाललाई अघि सार्न लागेको एक नेताले बताएका छन्।
भुसाल २०७० मा अर्घाखाँची क्षेत्र नं. २ बाट निर्वाचित भएकी थिइन्। २०५६ को संसदीय निर्वाचनमा समेत त्यही क्षेत्रबाट उठेकी थिइन्।
उनले त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन पनि गरेकी छन्। उनी वकालत पेशामा पनि संलग्न थिइन्।
उनले कानुनमा स्नातक र राजनीति शास्त्रमा स्नातकोत्तर गरेकी छन्। भुसाल नेपाल बार एसोसिएसनमा केन्द्रीय सदस्य भइसकेकी छन्।
भुसाल २०१५ सालमा बीपी कोइरालाको मन्त्रिपरिषदमा स्वास्थ्य मन्त्री रहेका बुवा काशीनाथ गौतम २०१७ सालमा सपरिवार भारत निर्वासित हुँदा पुष्पा पनि सँगै थिइन्। उनले १४ वर्ष भारतमा बिताइन्।
उनी २०२८ सालदेखि सक्रिय राजनीतिमा लागेकी हुन्।
२०७६ सालदेखि खाली उपसभामुख पदका लागि शुक्रबार निर्वाचन हुने भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख चयनका लागि निर्वाचन मिति घोषणासँगै कार्यतालिका सार्वजनिक गरिसकेका छन्।
बुधबारको संसद बैठकमा उनले असार ३१ गतेका लागि निर्वाचन मिति घोषणा गरेका हुन्।
उपसभामुखको निर्वाचन प्रक्रिया बिहीबार बिहान ११ बजेदेखि सुरु हुनेछ। उपसभामुख पदका लागि आगामी शुक्रबार दिउँसो ३ बजे निर्वाचन हुने विवरण पनि संसद सचिवालयले सार्वजनिक गरेको छ।
तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि प्रतिनिधि सभामा अढाई वर्षदेखि उपसभामुख पद खाली छ।
तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि नेकपाका तर्फबाट अग्निप्रसाद सापकोटा सभामुख बनेका थिए।
संविधानअनुसार एउटै दलबाट सभामुख र उपसभामुख बन्न नपाइने भएपछि तुम्बाहाङ्फेले उपसभामुख पदबाट राजीनामा दिएकी थिइन्।
केपी शर्मा ओली प्रधानमन्त्री रहुञ्जेल उनले डेढ वर्षसम्म उपसभामुख चयनतर्फ चासो दिएनन्। शेरबहादुर देउवा प्रधानमन्त्री भएको एक वर्ष बितिसक्दा पनि अहिलेसम्म उपसभामुख पद खाली छ।
एउटै दलबाट बनाउन नपाइने भएपछि अब बन्ने उपसभामुख माओवादीबाहेकका दलबाट चुनिने छन्।
Shares

प्रतिक्रिया