ad ad

राजनीति


माधव र झलनाथलाई चीनको सन्देश : विचार मिल्ने पार्टीहरु मिल्नुस्

माधव र झलनाथलाई चीनको सन्देश : विचार मिल्ने पार्टीहरु मिल्नुस्

एभरेस्ट होटलमा भएको भेटवार्ताका क्रममा चिनियाँ र नेपाली नेताहरु। तस्बिर : एकीकृत समाजवादी सचिवालय


नेपालखबर
असार २८, २०७९ मंगलबार १८:५२, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसहित नेताहरुसँग चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले भेटवार्ता गरेका छन्। 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा साढे ४ घण्टा संवादपछि नयाँबानेश्वरस्थित एभरेस्ट होटलमा अपरान्ह ४ बजेदेखि सवा घण्टासम्म दुई पक्षबीच वार्ता भएको हो। 

समाजवादीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भेटवार्ताबारे जानकारी दिँदै दुई पक्षबीचको कुराकानीमा लिउले पहिले आफ्ना कुरा राखेका थिए।

चीनको विकास र कम्युनिष्ट आन्दोलन तथा एकताबारे करिब आधा घण्टासम्म आफ्ना भनाइ राखेपछि लिउले नेपाल प्रसंग जोड्दै यहाँका वाम पार्टीहरू मिलेर गएको राम्रो हुने सन्देश दिएका थिए। 

भेटका क्रममा उनले आफ्नो यो भ्रमणबाट दुई देशको सम्बन्ध सुधार हुने विश्वास लिएका छन्। 'नेपालको विकास लागि चीन साझेदार हो। चीनले निरन्तर सहयोग गर्दै आएको छ। नेपाली जनताको एकता र नेपाली राष्ट्रिय एकताले नै देशको विकास सम्भव छ', लिउको भनाइ उद्धृत गर्दै खतिवडाले नेपालखबरसँग भने, 'हाम्रो विकास, सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने तयारीका सुनाउन चाहन्छौँ। तपाईँहरुका पनि कुरा सुन्न चाहन्छौँ। देश विकासको आधार नै एकता कुरा हो।'

लिउले भेटवार्ताका क्रममा दुई कम्युनिष्ट पार्टीबीच सम्बन्ध बढाउने प्रस्ताव पनि गरेका समाजवादीकी उपाध्यक्ष जयन्ती राईले जानकारी दिइन्। 'हामी तपाईंहरुको राष्ट्रिय स्वाभिमानको लडाइँको कदर गर्छौँ', लिउले भने, 'यो लडाइँ अझै बलियो बनाउन तपाईंहरु मिलेर जाँदा राम्रो हुन्छ।'

नेता लिउले समाजवादी नेताहरुलाई चिनियाँ राष्ट्रपति सी चिनफिङको एउटा भनाइ पनि सुनाउँदै एकतामै बल हुने भएकाले मिलेर जाँदा राम्रो हुने सुझाए। 

'आमरुपमा विचारधारा मिल्ने मान्छे एक ठाउँमा आउनु राम्रो कुरा हो। चीन एकतामा विश्वास गर्छ। एकतामा बल हुन्छ भन्ने हाम्रो मान्यता हो। त्यसकै आधारमा चीन अघि बढेको छ', लिउले अगाडि भने, 'हाम्रै राष्ट्रपति सी चिनफिङले पनि 'एकतामा बल हुन्छ' भनिरहनु भएको छ। उहाँकै भनाइअनुसार त्यहीकारण पनि हामी एक छौँ। चीन अहिले एक र बलियो छ।'

एउटै विचारका दलहरुले एकतालाई मूलमन्त्र बनाउँदा राम्रो हुने धारणा पनि भेटमा राखेका थिए। 'तपाईंहरुले एकतालाई आफ्नो बलका रुपमा लिनु उचित हुन्छ', लिउको भनाइ उद्धृत गर्दै खतिवडाले भने, 'विचार मिल्नेहरू एकै ठाउँमा आउँदा बल पनि बढ्छ। समग्रतमा मिलेकै राम्रो हुन्छ तर हामी हस्तक्षेप गर्दैनौँ।'

उक्त भेटका क्रममा समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफूहरुले असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै, त्यसलाई स्वीकार गरेर एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताएका थिए। 

'हामी एक चीन नीतिको पक्षमा छौँ। हामी चिनियाँ चरित्रको समाजवादको पक्षमा छौँ। हामी नेपालबाट चीनविरोधी कुनै पनि गतिविधि हुन दिँदैनौँ', नेपालले जवाफमा भने, 'हामी यहाँका सबै दलहरुसंग सहकार्य गर्न तयार छौँ। राष्ट्रियताको सवालमा सबै दलका एजेन्डा एकै छन्। तिनमा हामी सहकार्य गर्छौँ।'

भेटका क्रममा अध्यक्ष नेपाल र सम्मानित नेता खनालले दुई देशबीच विचार आदान प्रदान गर्न आफूहरु सदैव तयार रहेको बताएका छन्।

चिनियाँ नेताहरूसँगको भेटवार्तामा अध्यक्ष नेपाल, सम्मानित नेता खनाल, उपाध्यक्ष प्रमेश हमाल र जयन्ती राई, उपमहासचिव गंगालाल, कर्णाली इन्चार्ज प्रकाश ज्वाला, उपमहासचिव जगन्नाथ खतिवडा र विदेश विभाग सचिव शंकर खतिवडा सहभागी थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .