राजनीति


चिनियाँ नेतासँग ओलीले भने : नेपाल-चीन सम्बन्धमा कुनै समस्या छैन

लिउको जवाफ : नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौँ
चिनियाँ नेतासँग ओलीले भने : नेपाल-चीन सम्बन्धमा कुनै समस्या छैन

बालकोटमा भेटवार्ताका क्रममा चिनियाँ नेता लिउ र एमाले अध्यक्ष केपी शर्मा ओली। तस्बिर : राजन काफ्ले


नेपालखबर
असार २८, २०७९ मंगलबार १५:३८, काठमाडौँ

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओ र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोट वार्ता सकिएको छ।

मंगलबार बिहान १० बजेदेखि ओली निवास बालकोटमा पुगेका चिनियाँ नेताहरुको टोली दिउँसो साढे २ बजे बाहिरिएको छ।

अध्यक्ष ओलीको सचिवालयका अनुसार खाना खाएर पनि वार्ता भएको थियो। उक्त वार्तामा नेपाल-चीन परम्परागत सम्बन्धबारे दुई पक्षबीच विचार आदानप्रदान भएको एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले नेपालखबरलाई बताए।

'पुरानै कुरा भएका छन्, नयाँ कुराहरू केही छैनन्। हाम्रो अध्यक्षले नेपाल-चीन नजिकका मित्र भएको बताउँदै दुई देशबिच कुनै समस्या नरहेको चर्चा गर्नु भयो',  भट्टराईले ओलीको भनाइ उद्धृत गर्दै भने, 'एमाले र चिनियाँ कम्युनिष्ट पार्टीबीच लामो समयदेखि सम्बन्ध छ। चीन नजिकको छिमेकी र विकासको साझेदार पनि हो।'

ओलीले भेटका क्रममा भौगोलिक रुपमा पनि दुई देश नजिक रहेको चर्चा गर्दै एक चीननीतिप्रति प्रतिवद्धता दोहोर्‍याए। 

'हामी नेपालको भूभाग चीनकाविरुद्ध प्रयोग हुन नदिन प्रतिवद्ध छौँ', ओलीले भेटका क्रममा भने, 'नेपाल र चीन दुईटा स्वतन्त्र मुलुक हौँ। हामी सानाठूला मुलुकबीचमा मैत्रीपूर्ण सम्बन्ध छ।'

उक्त भेटमा चिनियाँ नेता लिउले दुई देशबीच निकट सम्बन्ध रहेको चर्चा गर्दै विकासको साझेदारका रुपमा निरन्तर सहयोग गरिरहने वाचा गरे। 

'नेपालले लिएको एक चीननीति र चीनविरोधी गतिविधि हुन नदिने अडानको हामी सरहाना गर्छौँ', उनले भेटमा भने, 
'राष्ट्रिय-अन्तर्राष्ट्रिय परिस्थिति जस्तो भए पनि हाम्रा दुई मुलुक स्वतन्त्र र सार्वभौम सम्पन्न हुन्।'

विदेश विभाग प्रमुख लिउले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने चीनको नीति रहेको कुरा पनि दोहोर्‍याए।

'हामी नेपालको आन्तरिक मामिलामा हस्तक्षेपको नीति लिँदैनौँ। त्यो नीति हाम्रो अहिले पनि कायमै छ,' उनले भने, 'नेपालको विकास साझेदार बन्न पाउँदा हामी खुसी छौँ। हामीले जे सहमति गरेका छौँ, ती अगाडि जानुपर्छ भन्ने हाम्रो धारणा रहेको छ।'

चीनसँग बेल्ट एन्ड रोड परियोजनाअन्तर्गत भएका सहमति कार्यान्वयनतर्फ इंगित गर्दै लिउले नेपालले तिनलाई अघि बढाउनुपर्नेमा जोड दिएका थिए। 

'चिनियाँ नेताले सहमति भएका कुराहरु अघि बढाउनुपर्छ भन्नु भएको छ', डा. भट्टराईले अगाडि भने।

चिनियाँ कम्युनिष्ट पार्टीका नेता नेपालका वाम पार्टीलाई चुनावअघि नै मिलाउन आएको प्रसंगमा भने कुरा नभएको भट्टराईले बताए। 

'नेपालको राजनीतिक मुद्दामा चीनले हस्क्षेप नगर्ने बताउँदै आएको छ। भेटमा लिउले पनि मार्क्सवादलाई चीनले आफ्नो ढंगले विकास गररेको बताउँदै नेपालमा पनि यहाँको विशेषताअनुसार अघि बढाउन आग्रह गर्नु भयो', भट्टराईले भने।

वाम पार्टी एकताबारे कुरा भए नभएको नेपालखबरको प्रश्नमा भट्टराईले अगाडि भने फरक सुझाव आएको बताए। 

'चिनियाँ विशेषताअनुसार त्यहाँ पनि मार्क्सवाद लागु भएको छ। यहाँको विशेषता अनुसारको मार्कस्वाद लागु गरेर जनताको बहुदलीय जनवादलाई तपाईंहरुले अगाडि बढाउनु भएको छ', भट्टराईले लिउको भनाइ उद्धृत गर्दै भने, 'त्यसो हुनाले नेपाल र यहाँका पार्टीको आन्तरिक मामिलामा बोल्ने हाम्रो नीति नै छैन। नेपालको मामिलामा पनि हामी बोल्दैनौँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .