नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको अहिलेको अवस्था आउनुमा आफ्नो पनि कमजोरी रहेको स्वीकारेका छन्।
राजधानीमा आयोजित सम्पादकहरुसँगको छलफलका क्रममा ओलीले ठूलो पार्टीको अध्यक्षको हैसियतले आफ्नो पनि कमजोरी रहेको स्वीकार गरेका हुन्।
‘दलहरुप्रतिको आकर्षणमा न्यूनता आउने कुरा भएको छ। तर, देशको सबैभन्दा ठूलो पार्टीको अध्यक्षको हैसियतले कमजोरी छैन भन्न सकिँदैन,’ ओलीले भने, ‘हिजो आफ्नै पार्टी जोगाउन सकिएन। त्यस्तो अवस्था हाम्रो तर्फबाट कुनै कमीकमजोरी छैन भन्न मिल्दैन।’
उनले गठबन्धनका दलहरूका कारण पनि यस्तो समस्या आएको बताए। पार्टी फुटाएर जानेहरुलाई आफूले सम्झाउन नसकेको पनि बताए। ‘उनीहरुलाई सम्झाउन सकिएन, भ्रम तोड्न सकिएन, उनीहरुलाई गठबन्धन गलत तरिकाबाट बनाउनबाट रोक्न सकेनौं’ उनले भने।
उनले अहिलेको सरकार इतिहासमै नभएको परमादेशी सरकार भएको दोहोर्याए।
एमाले अध्यक्ष ओलीले महंगीको मारले जनताको ढाड भाँचेको भन्दै त्यस्ता कामबाट जनतामा वितृष्णा बढेको टिप्पणी गरे।
‘महंगीको मारले जनताको ढाड भाँचेको छ। यस्तो अवस्थामा त्यस्ता कामहरुबाट जनतालाई दल र राज्यप्रतिको वितृष्णाको अवस्था कसले बनाएको छ भन्न सकिन्छ,’ ओलीले भने, ‘यो अवस्था अहिलेको गठबन्धनले बनाएको छ।’
Shares

प्रतिक्रिया