नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संवैधानिक परिषदसम्बन्धी विधेयकमा प्रधानमन्त्री शेरबहादुर देउवाको जवाफदेहिता आवश्यक भएको बताएका छन्।
अमेरिका भ्रमणमा रहेका महामन्त्री शर्माले ट्वीटरमार्फत राष्ट्रियसभामा पेस भएको विधेयकमा पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाको जवाफदेहिता आवश्यक रहेको बताएका हुन्।
‘ओलीको पालामा जो गलत, देउवाको पालामा पनि गलत, यसमा सतप्रतिशत प्रष्ट छौं हामी। संवैधानिक परिषदसम्बन्धी विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै’, उनले लेखेका छन्, ‘तर यस्तो भयो कसरी? हुन्छ कसरी? गर्छ कसले? सल्लाह दिन्छ कसले? यो दुःखद छ। प्रधानमन्त्रीको गम्भीर जवाफदेहिता जरुरी छ।’
प्रधानमन्त्री देउवाले गत बुधबार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रियसभामा पेश गरेका थिए।
विधेयकमा ऐनको दफा ६ को उपदफा ३ मा अध्यक्ष र तत्काल बहाल रहेका कम्तीमा ५० प्रतिशत सदस्य उपस्थित भएमा परिषदको बैठकको लागि गणपूरक संख्या पुगेको मानिने व्यवस्था गर्न खोजिएको छ।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले पदमा बहाल पदाधिकारीमध्ये बहुमत पुग्ने पदाधिकारी उपस्थित भए गणपूरक संख्या मानिने व्यवस्था राखेर विधेयक पेस गरेको थियो।
संविधानमा भएको संवैधानिक परिषदसम्बन्धी व्यवस्था अनुसार प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने परिषदमा प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी दलको नेता, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य हुन्छन्।
अहिले उपसभामुख पद रिक्त छ। विधेयकमा प्रधानमन्त्रीबाहेकका ४ सदस्यमध्ये दुईजनामात्रै उपस्थित भएमा बैठक चालु गर्न मिल्ने व्यवस्था गर्न खोजिएपछि कांग्रेसकै नेताहरु विरोधमा उत्रिएका छन्।
कांग्रेस पदाधिकारीले आइतबार नै प्रधानमन्त्री देउवालाई भेटेर विधेयक तत्काल फिर्ता लिन सुझाव दिएका थिए।
Shares

प्रतिक्रिया