सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले निर्वाचन आयोगद्वारा प्रस्तावित निर्वाचनसम्बन्धी विधेयकमाथि छलफल सुरु गरेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको पदाधिकारी बैठकमा विधेयकमाथि छलफल प्रारम्भ गरिएको हो।
उम्मेदवारी दर्ता हुनेदेखि मतगणनाका लागि गरिने व्यवस्था समावेश गरेर आयोगले प्रस्ताव गरेको विधेयकमाथि प्रारम्भिक छलफल सुरु गरिएको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए।
बैठकमा पार्टीको भ्रातृ संस्थाको विधानमा एकरुपता ल्याउने विषयमा भएको प्रगतिका बारेमा पनि छलफल भएको छ।
आगामी केन्द्रीय कार्यसमिति बैठकमा विधान पारित गराउने गरी पदाधिकारी बैठकमा छलफल गरिएको पनि विश्वकर्माले बताए।
‘आगामी केन्द्रीय कार्यसमिति बैठकमा पेश गर्ने गरी भ्रातृ संस्थाहरुको विधानमा एकरूपताबारे के भइराखेको छ भन्ने छलफल भयो,’ उनले भने, ‘र, निर्वाचन आयोगले अघि सारेको निर्वाचनसम्बन्धी विधेयकबारे प्रारम्भिक छलफल भयो।’
केन्द्रीय सदस्य एनपी साउदको नेतृत्वमा गठित कार्यदललाई भ्रातृ संस्थाहरुको विधानमा एकरुपता ल्याउने जिम्मेवारी दिएको थियो।
त्यसैलाई केन्द्रीय कार्यसमितिबाट पारित गराउनुपर्ने भएकाले छलफल गरिएको विश्वकर्माले बताए।
Shares

प्रतिक्रिया