ad ad

राजनीति


भावी प्रधानमन्त्रीमा पुरानै अनुहार

भावी प्रधानमन्त्रीमा पुरानै अनुहार

केशव सावद
असार १४, २०७९ मंगलबार १९:४७, काठमाडौँ

आसन्न संघीय निर्वाचनमा प्रमुख दलहरु पुरानै अनुहारलाई प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावी प्रतिस्पर्धामा जाने देखिएका छन्।

मुख्य तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टीको मूल नेतृत्वलाई नै प्रधानमन्त्रीका रुपमा अघि सारेर प्रतिस्पर्धामा जाने देखिएका हुन्।

सत्तारुढ नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नै भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावी प्रतिष्पर्धा गर्ने देखिन्छ। 

यद्यपि, नेपालको राजनीतिमा निर्वाचन अगावै दलका तर्फबाट प्रधानमन्त्रीको घोषणा गर्ने परिपाटी भने प्रचलनमा छैन।

निर्वाचनअगावै प्रधानमन्त्रीको घोषणा गरेर दलहरु निर्वाचनमा नगए पनि मुख्य दलका शीर्ष नेतृत्व नै भावी प्रधानमन्त्री हुने सम्भावना अधिक रहेको नेताहरुको भनाइ छ।

नेपाली कांग्रेसमा संसदीय दलको नेता चयनका क्रममा अन्य नेताले चुनौती दिए पनि सभापति देउवालाई सहजै पराजित गर्न नसकिने कांग्रेस नेताको बुझाइ छ। ‘यस कारण पनि पुरानै अनुहारहरूले हो अझै पनि देश चलाउने,’ उनी भन्छन्।

कांग्रेसका प्रभावशाली नेता एवं सभापति देउवा, एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डमध्ये कुनै एक नेताले नै आसन्न निर्वाचनपछि देशको बागडोर सम्हाल्ने सत्ता गठबन्धनका एक नेता बताउँछन्। ‘अबको चुनावपछि प्रधानमन्त्री हुने भनेकै शेरबहादुर देउवा, केपी ओली र प्रचण्डमध्ये कुनै एकजना हो,’ ती नेता भन्छन्।

उनका नजरमा कांग्रेसबाहेकका दुई दलका शीर्ष नेतृत्वलाई प्रधानमन्त्रीबाट विस्थापनका लागि चुनौती दिने अर्को नेता नै छैैनन्। उनी भन्छन् ‘एमालेमा ओलीलाई र माओवादीमा प्रचण्डलाई च्यालेन्ज गर्ने अर्को कुनै नेता नै छैन।’

कांग्रेस केन्द्रीय सदस्य एनपी साउद सभापति देउवालाई भावी प्रधानमन्त्रीका रुपमा चित्रित गर्छन्। पार्टी सभापति र बहालवाला प्रधानमन्त्री भएका कारण देउवा स्वाभाविक रुपले नै भावी प्रधानमन्त्री भएको उनको दाबी छ।   

‘हामी सभापति शेरबहादुर देउवालाई नै भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर जान्छौँ। पार्टीको सभापतिसँगै बहालवाला प्रधानमन्त्री भएका कारण पनि उहाँ स्वाभाविक रुपमै भावी प्रधानमन्त्री हो,’ साउद भन्छन्।

आसन्न निर्वाचनमा चुनावी तालमेल भए अहिलेको सत्ता गठबन्धनले पनि सभापति देउवालाई प्रधानमन्त्रीका रुपमा स्वीकार्नेमा कांग्रेस ढुक्क रहेको उनको भनाइ छ। ‘गठबन्धनमा रहेका अरु दलहरुले उहाँलाई यसमा समर्थन गर्नुहुन्छ भन्नेमा नेपाली कांग्रेस विश्वस्त छ,’ कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्यसमेत रहेका साउदले भने।

कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्दम्बे भने पार्टीले निर्वाचनअगावै प्रधानमन्त्री घोषणा गरेर जाने अवस्था नरहेको बताउँछन्। ‘संसदीय निर्वाचन अगावै प्रधानमन्त्रीका रुपमा कुनै अनुहार देखाएर जाने अवस्था बनिसकेको छैन,’ उनले नेपालखबरसँग भने, ‘निर्वाचनको मुखमा पुगुन्जेलसम्म माहोल त्यस्तो बन्यो भने एउटा कुरा हो।’

सहमहामन्त्री आङ्देम्बेले कांग्रेसले संसदीय दलको नेताका लागि निर्वाचन गरेर प्रधानमन्त्री छनौट गर्ने पार्टीको परम्परा पनि स्मरण गरे। ‘एक पटक गिरिजाबाबुले किसुनजीलाई भावी प्रधानमन्त्रीका रुपमा घोषणा गरेर निर्वाचनमा जानुभएको थियो,’ उनले भने, ‘नत्र हाम्रो परम्परा भनेको संसदीय दलको नेता चुनिएर प्रधानमन्त्री बन्ने हो।’

प्रमुख प्रतिपक्षी एमालेले भने अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर संघीय निर्वाचनमा जाने संकेत गरेको छ। एमाले नेतृ निरु पालले अध्यक्ष ओलीलाई नै प्रधानमन्त्रीका रुपमा अगाडि सारेर आसन्न संघीय निर्वाचनमा जाने बताइन्। 

‘अध्यक्ष कमरेडलाई राष्ट्रका लागि राम्रो गर्न खोज्दाखोज्दै पनि हटाइयो। हामीले उहाँ जस्तो काम गर्ने नेता अरु देखेका छैनौँ। राष्ट्र र राष्ट्रियताका सवालमा लिनुभएको अडान पूरा गर्न बाँकी छ,’ पालले नेपालखबरसँग भनिन्, ‘उहाँले देख्नुभएको सपना पूरा गर्न बाँकी भएकाले नेकपा एमाले केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीका रुपमा अगाडि सारेर आगामी निर्वाचनमा जान्छ।’

माओवादी केन्द्रमा प्रधानमन्त्रीका लागि अध्यक्ष प्रचण्डलाई चुनौती दिने पात्र तत्कालै देखा नपरे पनि भावी प्रधानमन्त्रीका रुपमा अघि सारिने अनुहारका बारेमा छलफल सुरु भएको छैन। नेता हरिबोल गजुरेलले यस विषयमा पार्टीमा कुनै छलफल नै नभएको प्रतिक्रिया दिए।     

‘आन्तरिक छलफल भएकै छैन। केन्द्रीय कमिटी बैठक १९ गते छ। त्यो बैठकमा चुनावी एजेन्डालगायतका विषयमा छलफल हुन्छ,’ उनले भने, ‘अहिले गठबन्धन छ। गठबन्धन भएका कारण आलोपालो हुने कि नहुने निश्चित भएपछि यो विषयका बारेमा तय होला।’

यद्यपि, अध्यक्ष प्रचण्डले फेरि एकपटक प्रधानमन्त्री हुने चाहना देखाइसकेका छन्। उनले गत शुक्रबार फेरि एकपटक प्रधानमन्त्री भएर देशलाई नयाँ युगतिर लैजाने आफ्नो सपना रहेको बताएका हुन्।

नेपाल पर्वतारोहण संघद्वारा आयोजित कार्यक्रममा प्रचण्डले मुलुकको परिवर्तनका लागि आफूले नेतृत्वदायी भूमिका खेलेको भन्दै देशको नेतृत्व गर्न पाए देशका विद्यमान तमाम विकृतिमाथि निर्मम प्रहार गर्दै अघि बढ्ने बताएका थिए।

कार्यक्रममा प्रचण्डले पहिलोपटक प्रधानमन्त्री सपना हो कि विपना हो भन्दाभन्दै गएको र आफ्नो दोस्रो प्रधानमन्त्रीको कार्यकाल भने गर्व गर्न लायक रहेको दाबी समेत गरेका थिए।

‘पहिलो चोटि प्रधानमन्त्री हुँदा त मलाई झिलिमिली झिलिमिलीमै गयो। यो सपना हो कि विपना हो भनेर विचार गर्दा–गर्दै ९ महिला बिति गयो। एउटा नयाँ परिस्थिति बन्यो। दोस्रो पटक प्रधानमन्त्री हुँदा मैले साँच्चै धेरै चिज सुधार गर्ने प्रयास गरेको हुँ,’ प्रचण्डले भने, ‘मलाई त्यसमा गर्व छ। देशको राष्ट्रिय एकता नै के हुने हो भन्ने बेलामा मधेसलाई पनि विश्वासमा लिएर निर्वाचनतिर देश लैजाने कुरा सानो कुरा थिएन। आर्थिक वृद्धि दरलाई २५ वर्षपछि साढे ७ प्रतिशत बनाउने कुरा पनि सानो कुरा थिएन।’

गगन थापामाथि प्रश्न

यसैबीच गत हप्ता गगन थापाले आफूलाई भावी प्रधानमन्त्रीका उभ्याएको कतिपय मिडियामा चर्चा भयो। एउटा टेलिभिजनमा रामकुमारी झाँक्रीसँगै गगनलाई तपाई भावी प्रधानमन्त्री हो कि होइन भनेर सोधिएको प्रश्नमा गगनले भविष्यमा प्रधानमन्त्री बन्ने लक्ष रहेको बताएका थिए। थापाको सोही भनाइलाई लिएर मिडियामा उनलाई ‘भावी प्रधानमन्त्री’ का रुपमा चित्रित गरिएको थियो।

गगन थापाको सचिवालय स्रोतका अनुसार उनले अहिले नै आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्न चाहेका छैनन्। तर, मिडियाले यसबारे आफैं प्रश्न सिर्जना गरेर विषय उधिनेको थापाले निकटस्थहरुलाई बताउने गरेका छन्।

‘राजनीतिमा लागिसकेपछि मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति वा पार्टी सभापति हुने लक्ष लिनु स्वभाविकै हो,’ थापा निकट स्रोतले भन्यो, ‘तर, महामन्त्रीले आगामी चुनावमा आफूलाई प्रधानमन्त्रीका रुपमा प्रोजेक्ट गर्न खोज्नुभएको होइन, मिडियाले आफैं यसबारे प्रश्न सिर्जना गरेका हुन्।’

गगन निकट स्रोतको भनाइअनुसार पनि आगामी चुनावमा शेरबहादुर देउवाले नै आफूलाई भावी प्रधानमन्त्रीका रुपमा उभ्याउने सम्भावना छ र सभापतिलाई गगनले अहिले नै चुनौती दिन चाहेका छैैनन्। तथापि विदेशको अभ्यास हेर्दा गगन थापाको उमेरको नेता प्रधानमन्त्री बन्न नसक्ने भन्ने चाहिँ होइन।

किनभने, नेपालमै पनि वीपी कोइराला ४५ वर्षकै उमेरमा प्रधानमन्त्री बनेका थिए। स्व. सूर्यबहादुर थापा ३८ वर्षको हुँदा दोस्रो कार्यकाल प्रधानमन्त्री भएका थिए। गगन थापा अहिले ४६ वर्ष पुगिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .