नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफूले पार्टीको जग हालेको ठाउँमा अहिले ठूला नेता रहका बताएका छन्।
पार्टी घोषणा गर्न मंगलबार रिपोर्टर्स क्लबमा आयोजित पत्रका सम्मेलनमा उनले आफ्नो सिंगो परिवार नै आन्दोलनमा लागेको बताए।
‘मेरो श्रीमती र छोरा केन्द्रीय कमिटीमा हुनुहुन्छ। सिंगो मेरो परिवार आन्दोलनमा लागेका छन्। कठिन परिस्थितिमा पनि लागेका छन्’ गौतमले भने, ‘२०२६ सालदेखि म व्यक्तिगत इच्छा पूरा गर्न भूमिगत भएर हिँडेको छु। मैले पार्टीको जग हालेको ठाउँमा ठुला नेता रहेका छन्।’
तत्कालिन नेकपा विभाजन भएर एमाले र माओवादी अलग भएदेखि नै पार्टी एकताका लागि अभियान सञ्चालन गर्दै आएका गौतमले मंगलबार नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान नामक छुट्टै पार्टी घोषणा गरेका हुन्।
पार्टीको संयोजक वामदेव गौतम, सचिव डिबी कार्की, केन्द्रीय सदस्यहरुमा ओम शर्मा चालिसे, डिल्लिराज भट्टराई, दुर्गा भन्डारी, निमकान्त पान्डे, भगवती विस्ट, युवराज सफल लगायत छन्।
पार्टी घोषणा कार्यक्रममा गौतमले एकीकृत कम्युनिष्ट पार्टीको आवश्यकता रहेको बताए। आगामी तीन महिना गम्भीर रुपमा एकता अभियान सञ्चालन गर्ने गौतमको भनाई छ।
‘नेपाली कांग्रेस सत्तामा रहेको बेला विकासको नाममा जे पनि गर्ने अवस्था देख्यौँ। नेपाली कांग्रेस सही किसिमले अघि बढ्न सकेको छैन। मैले त्यो देखिन’ उनले भने, ‘एकीकृत भएको कम्युनिस्ट पार्टी चाहिन्छ। आगामी ३ महिनासम्म निकै गम्भीर रुपमा यही काममा अघि बढ्ने छौँ।’
उनले आज पार्टीको शिलान्यास भएको उद्घोष गर्दै उद्घाटनमा सबैलाई चकित पार्नेगरी लाखौँ सदस्य हुने दाबी पनि गरे।
गौतमले भने, ‘जुन पार्टीको मैले शिलान्यास गरेको छु, मैले उद्घाटन गर्ने बेलामा लाखौं हुनेछन्। सबै चकित हुनेछन्। व्यक्तिगत रुपमा परिवारवादको आरोप नलगाइयोस्। मेरो श्रीमती राजनीति गर्ने ठाउँमा आउन हुँदैन र? मेरो छोरा र छोरीले काम गर्न नपाउने हो र? स्वार्थको निम्ति हामीले काम गरेको हैन।’
उनले आफूलाई हजारौं साथीहरुले साथ दिएको र ४/५ वटा दर्ता भएका पार्टीले साथ दिएको बताए। अझै ६/७ वटा दर्ता भएका दलले साथ दिने उनको भनाई थियो।
गौतमले ठूला दललाई अब एक ठाउँमा ल्याउने अठोट पनि गरेका छन्। विगतको अभियान असफल भएपनि अब भने अभियानमा सफल हुने उनले विश्वास व्यक्त गरे। त्यो सफल नभएपनि पार्टी अगाडि बढ्ने उनले बताए।
‘आजभन्दा २ वर्ष पहिले हामीले नेकपा राष्ट्रिय अभियान सुरु गर्यौं। त्यो पार्टी नभएकाले त्यो सकियो’ गौतमले भने, ‘यो हाम्रो देशको इतिहासलाई अघि बढाउन ठूला दललाई एक बनाउन पार्टी अगाडि सारेका छौँ। त्यो पार्टी एकता हुन सकेन भने हामी पार्टीकै रुपमा अघि बड्छौँ। चुम्बकले चुम्बक तान्छ। हामीसँग हिजो चुम्बक थिएन। आज चुम्बक छ अब अघि बढ्छौँ।’
गौतमले आफ्नै पहलकदमीमा ४५ पटक पार्टी एकता भएको पनि बताए। पार्टी एकताका लागि आफू अनुभवी रहेको पनि गौतमले सुनाए
उनले भने, ‘कम्युनिष्ट पार्टी बाहेक अरु कुनै पार्टीले नेपालको विकास गर्न सक्दैन। हाम्रो ७५ वर्षको इतिहासले बताउँछ। तर कम्युनिस्टहरु दर्शनका किरा बढी पढ्ने भएकाले बिगिर्यो। हामीले एकता गर्दा हाम्रो तर्फबाट ४६ औँ एकता भएको थियो। त्यो ४६ मध्य ४५ वटा एकीकरणमा म संलग्न थिएँ। म अनुभवी थिएँ। पार्टी पुनःगठनका लागि एउटा शक्ति मिलेको छ।’
Shares

प्रतिक्रिया