ad ad

राजनीति


पदाधिकारी र कार्यदिशाले अड्कायो पूर्वमाओवादीको एकता

पदाधिकारी र कार्यदिशाले अड्कायो पूर्वमाओवादीको एकता

सागर न्यौपाने
असार १३, २०७९ सोमबार ८:३५, काठमाडौँ

शान्ति प्रक्रिया हुँदै संसदीय राजनीतिमा प्रवेश गरेको नेकपा एकीकृत माओवादीमा टुटफुट र विभाजनको श्रृंखला शुरु भएको यही असारमा १० वर्ष पूरा भयो। अहिलेसम्म जुट्ने भन्दा पनि फुट्ने क्रम नै जारी छ।

एमाओवादीका प्रभावशाली उपाध्यक्ष मोहन वैद्यले ४ असार ०६९ मा रामबहादुर थापा बादल, नेत्रविक्रम चन्द, पम्फा भुसालसमेतलाई लिएर नेकपा–माओवादी पुनर्गठन गरेका थिए।

वैद्यबाट ११ वर्षअघिदेखि सुरु भएको माओवादी धाराको पार्टीबीचको विभाजन श्रृंखला २१ वैशाख २०७९ सम्म जारी छ। अर्थात, सबैभन्दा पछिल्लो विभाजनको शिकार नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा बनेको छ।

र, त्यही विभाजित बनेको समूहले अहिले पूर्वमाओवादी पार्टीहरुबीच एकताको प्रयास गरिरहेको छ। नेकपा क्रान्तिकारी माओवादी, नेकपा, नेकपा (बहुमत) नेकपा माओवादी लगायतका समूह र दलबीच एकता गराउन केही नेता सक्रिय छन्। विशेषगरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रवक्ता कृष्णबहादुर महरा पूर्वसमूहबीच एकता गराउन बढी सक्रिय बनेका छन्।

प्रचण्डले ०६९ देखि एमाओवादीबाट विभाजन भएर विभिन्न टुक्रामा रहेका पार्टीलाई नेकपा माओवादी केन्द्रसँग एकता गराउने प्रयास थालेका छन्। अहिले भइरहेका तीव्र छलफलमा कुनै समस्या नभए संघीय निर्वाचनअघि नै एकता घोषणा गर्ने प्रयास भइरहेको माओवादी नेताहरुको दाबी छ।

गत ३० वैशाखको स्थानीय चुनाव र १५ जेठमा संघीय सरकारले बजेट ल्याएपछि माओवादीबाट विभाजित भएका पार्टीबीच एकता प्रयासमा छलफल अघि बढेको हो। अहिलेसम्मको कुराकानी सकारात्मक मात्र होइन, निर्णायक घोषणा उन्मुख रहेको उनीहरुको दाबी छ।

विप्लव नेतृत्वको नेकपाबाट राजीनामा दिएर सुदूरपश्चिमका चार प्रभावशाली नेताहरु प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा प्रवेश गर्दैछन्। विप्लवबाट क्रमशः नेताहरु राजीनामा दिँदै माओवादी केन्द्र प्रवेश गर्न थाल्ने, वैद्यबाट पनि माओवादी केन्द्र प्रवेशको लहर चल्न थालेपछि एकतामा आउन उनीलाई दबाव बढेको नेताहरुले बताउँछन्। तर, नेकपाका नेताहरुका अनुसार विप्लव, खड्गबहादुर विश्वकर्मा लगायतका नेताहरु माओवादी केन्द्रसँग एकतामा जाने सम्भावना छैन।

शुरुमा माओवादीको टुटफुटको श्रृंखला हेरौं–

१.  नारायणकाजी भित्रिँदा मात्रिका यादव आउट : २०६५ सालमा नारायणकाजी श्रेष्ठ नेतृत्वको नेकपा एकता केन्द्र मसालले नेकपा माओवादीसँग पार्टी एकता गर्यो। पार्टीको नाम एकीकृत माओवादी राखियो। त्यसप्रति असन्तुष्टि जनाउँदै माओवादीका स्थायी समिति सदस्य मातृका यादवले पार्टी छाडेर नेकपा माओवादी ब्यूँताए। पछि यादव माओवादी केन्द्रमा फर्किइसकेका छन्। तथापि नारायणकाजी समूहसँग उनको अन्तरविरोध भने यथावत छ।

२. वैद्य, बादल र विप्लवको बहिर्गमन  : ११ भदौ ०६८ मा एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री बने। डा. भट्टराईले माओवादी सेनाको नेपाली सेनामा समायोजन गराउने निर्णय १५ कात्तिक ०६८ मा कार्यान्वयन गरे। जसअनुसार बढीमा ६ हजार ५ सय माओवादी सेना नेपाली सेना मातहत बन्ने, बेग्लै महानिर्देशनालयमा समायोजन गरिने, समायोजनमा जान चाहने लडाकुलाई शिक्षामा एक तह, उमेरमा तीन वर्ष र वैवाहिक स्थितिमा छुट दिने, स्वेच्छिक अवकाशमा जान चाहनेलाई दर्जा अनुसार ५ लाखदेखि ८ लाख रूपैयाँसम्म दिने र पुनःस्थापनामा जान चाहनेलाई विभिन्न सीपमूलक तालिम र शिक्षा दिने उल्लेख गरियो।

यसक्रममा ९ हजार ७०५ जनाले समायोजन रोजे। बाँकीले स्वेच्छिक अवकाश रोजे। ०६८ चैत २८ मा नेपाली सेनालाई चितवनमा रहेको तेस्रो डिभिजनको शिविरमा पठाइयो। शिविर र हतियार सेनाको मातहतमा आयो। माओवादी सेना पनि नेपाली सेनाको ‘चेन अफ कमान्ड’ मातहत गएको घोषणा त्यहीबेला भयो।  समायोजन रोज्नेको संख्या १ हजार ४ सय झर्यो। उनीहरु पनि भर्ना प्रक्रियाबाट छानिए।

अन्ततः १५ कात्तिक २०६८ को सेना समायोजन निर्णय र २८ चैत २०६८ मा सेनाले माओवादीका व्यारेक रहेका स्थानमा नेपाली सेनाको प्रवेशले एमाओवादी विभाजन गरायो। सो निर्णयप्रति एमाओवादी उपाध्यक्ष मोहन वैद्यले तीव्र असन्तुष्टि जनाए।

जनमुक्ति सेनाको विधिवत् विघटन गराइएको, जनयुद्धका मूल्य र मान्यतालाई बिर्सेर सत्तामै रही सीमित स्वार्थमा लिप्त भएको आरोप लगाउँदै सीपी गजुरेल, रामबहादुर थापा (बादल), पम्फा भुसाल, नेत्रविक्रम चन्द विप्लव र देव गुरुङलगायतका प्रभावशाली नेताहरु लिएर वैद्यले ४ असार २०६९ मा एमाओवादी विभाजन गरेर नेकपा–माओवादी गठन गरे।

त्यसको एक वर्षपछि अर्थात २०७० मा संविधान सभाको दोस्रो निर्वाचन भयो। पहिलो संविधान सभाले संविधान बनाउन नसकेपछि भएको दोस्रो संविधान सभा चुनावमा एकीकृत नेकपा माओवादी नराम्ररी पराजित भयो। चुनाव बहिष्कारको नीति लिएको वैद्य समूह पनि प्रभावहीन बन्यो।

३. अनि बाबुराम पनि बाहिरिए  : ३ असोज ०७२ मा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भयो। लगत्तै १० असोज ०७२ मा उपाध्यक्ष बाबुराम भट्टराईले एमाओवादीलाई भत्केको घरको संज्ञा दिँदै पार्टी छोडेर नयाँ शक्ति बनाए।

डा. भट्टराईको पार्टी संघीय समाजवादी फोरम हुँदै राष्ट्रिय जनता पार्टीसँग एकता भई जनता समाजवादी पार्टी बनिसकेको छ, डा. भट्टराई त्यसका संघीय परिषद् अध्यक्ष छन्।

बाबुरामले नयाँ शक्ति पार्टी बनाउँदा देवेन्द्र पौडेल, खिमलाल देवकोटा, देवेन्द्र पराजुली, कल्पना धमला लगायतले साथ दिएका थिए। तर, पनि उनीहरु माओवादी केन्द्रमै फर्किए। पौडेल अहिले माओवादीबाट शिक्षा मन्त्री बनेका छन्।

४. बादल दायाँतिर, विप्लव बायाँतिर, देव गुरुङ र पम्फा ‘सेन्टर’मा : पार्टी नेतृत्वले क्रान्तिकारी कार्यदिशा लिन नसकेको भन्दै मोहन वैद्य नेतृत्वको नेकपा(माओवादीबाट अलग भएर नेत्र विक्रम चन्दले मंसिर ०७१ मा नेकपा गठन गरे। विप्लव नेतृत्वको पार्टीले ‘एकीकृत क्रान्ति’ को नारा दिएर हिंसात्मक संघर्षको बाटो समात्यो।

उता रामबहादुर थापा, पम्फा भुसाल, देव गुरु लगायतका नेताहरु २ जेठ २०७३ मा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीबाट निस्किए। थापालाई संयोजक तोकेको क्रान्तिकारी माओवादी ७ जेठ २०७३ मा एमाओवादीसँग एकतामा जोडियो। एमाओवादीको नाम माओवादी केन्द्र राखियो। मणि थापाको क्रान्तिकारी कम्युनिस्ट पार्टी, मातृका यादवको नेकपा (माओवादी)लगायतको एकतापछि नेकपा माओवादी केन्द्र बनेको हो।

तर, नेकपा फुटेपछि बादल केन्द्र छाडेर अझ दायाँतिर मोडिँदै एमालेमा समाहित भए। बादलसँगै टोपबहादुर रायमाझी, प्रभु साह र लेखराज भट्टको टोली एमाले बन्यो। ०६२ सालतिरै माओवादीबाट विद्रोह गरेर पछि घर फर्किएका मणि थापा पनि एमालेतिरै लागे। 

वैद्यले नेकपा(माओवादी गठन गरेको अहिले ठ्याक्क १० वर्ष पुगेर ११ वर्ष लागेको छ। यो अवधिमा उनको पार्टी तीन टुक्रा बनिसकेको छ। ११ वर्ष पहिले एमाओवादीको सबैभन्दा ठूलो शक्ति लिएर निस्केका वैद्य अहिले कमजोर दलको महासचिव बनेका छन्।

एकीकृत जनक्रान्तिको नारा लिएर शसस्त्र युद्ध गरेको विप्लव पार्टी गठन भएको ५ वर्ष नहुँदै विभाजन भयो। पार्टीका प्रभावशाली नेताहरु धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश ओली लगायतले नेकपाको बहुमत नेता र कार्यकर्ता लिएर २१ वैशाख २०७९ मा नेकपा (बहुमत) पार्टी गठन गरे। उनीहरुले महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई कारवाही पनि गरे। अहिले विप्लव पार्टी अल्पमतमा रहेको उनीहरुको दाबी छ। नेकपा बहुमत पार्टीको संयोजक बास्तोला छन्।

५. एमालेसँग एकता हुँदा गोपाल किराती आउट : जसरी एकताकेन्द्रसँग पार्टी एकता हुँदा मात्रिका यादव बाहिरिएका थिए, त्यसैगरी एमाले र माओवादीबीच पार्टी एकता हुँदा त्यसको विरोध गर्दै माओवादी नेता गोपाल किराती बाहिरिए।  अहिले किरातीले बेग्लै समूह चलाइरहेका छन्। यसबीचमा प्रचण्डसँग किरातीले पार्टी एकता गर्न चाहे पनि प्रचण्ड स्वयंले इच्छा नदेखाएको किरातीले गुनासो गर्दै आएका छन्। एकताका लागि जनार्दन शर्मा र कृष्ण बहादुर महराले किरातीसँग केही चरणमा कुराकानीसमेत गरेका थिए। 

एकताको प्रयास शुरु, कार्यदिशामा कुरा मिल्न बाँकी
एकताको प्रयास सुरुमा विभाजन गर्ने मोहन वैद्यदेखि अन्तिममा विभाजित नेकपा बहुमतका धर्मेन्द्र बास्तोलासम्म पुगेको छ। प्रचण्डले मोहन वैद्यका साथै नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीसँग पनि आफैँ छलफल गरेका छन्।

बास्तोलासँग दसौँ चरण छलफल भइसकेको छ। वैद्यसँग पछिल्लो एक महिनामा कम्तीमा तीनपटक कुराकानी भइसकेको छ। त्यस्तै, महराले नेकपा महासचिव विप्लव, वैद्य, सीपी गजुरेल, हरिभक्त कँडेल लगायतसँग नियमित छलफल गरिरहेका छन्।

नेत्र विक्रम चन्द नेतृत्वको नेकपा र नेकपाबाट विभाजन भएर बनेको नेकपा (बहुमत) बीच एकताको प्रयास अन्तिम चरणमा पुगेको माओवादी नेता बताउँछन्। वार्ताकारका अनुसार विप्लव समूहको बहुमत पक्षसँग पार्टीको राजनीतिक कार्यदिशाको विषयमा मात्र कुरा मिल्न बाँकी छ।

‘माओवादी केन्द्रसँग एकता हुन सक्ने सम्भावना छ, व्यवहारमा के हुन्छ, हामी हेर्दै छौँ,’ नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलाले नेपालखबरसँग भने, ‘हामीले राजनीतिक कार्यदिशाबारे प्रचण्डजीसँग धारणा मागेका छौँ, कार्यदिशामा सहमत भए पार्टी एकता छिट्टै हुन्छ।’

बास्तोलाको भनाइलाई आधार मान्दा एकताका लागि राजनीतिक कार्यदिशामा कुरा मिलेको छैन।

पुसमा महाधिवेशन गरेको माओवादी केन्द्रले पार्टीको कार्यदिशा प्रष्ट पारेको छैन। समाजवाद उन्मुख कार्यदिशा हुनेछ भनेर अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा भनिएको छ। नेकपा बहुमतले संसदवाद छाडेर वैज्ञानिक समाजवादी कार्यदिशा स्वीकार गर्नुपर्ने प्रस्ताव गरेको छ। तर, बीचको बाटो जान सकिने उसको प्रस्ताव छ। जुन एकताको आधार तयार गर्ने मुख्य कुरा हो।

‘वैज्ञानिक समाजवादी व्यवस्था हुनुपर्ने हाम्रो प्रस्ताव छ,’ प्रचण्डलाई राखेको प्रस्ताव उद्धृत गर्दै बास्तोलाले भने, ‘उहाँहरुको समाजवादउन्मुख राज्य व्यवस्था भन्नेछ, यहीबीचबाट छलफल गरेर निकास निकाल्न सकिन्छ।’

प्रचण्ड निकट माओवादी केन्द्रका प्रभावशाली एक नेताले पूर्वमाओवादीबीच एकता गर्न कार्यकर्ता तहबाट निकै दबाव आइरहेको बताए।

‘पूर्वमाओवादी एकै ठाउँमा आउनुपर्छ भनेर कार्यकर्ता तहबाट दबाव छ,’ ती नेताले नेपालखबरसँग भने, ‘त्यही अनुसार विभिन्न नेताहरुसँग दैनिक छलफल भइरहेको छ।’

उनका अनुसार शीर्ष तहका नेतादेखि दोस्रो तहका नेताहरुले समेत एकताको प्रयास गरिरहेका छन्।

‘पूर्वमाओवादीका नेताहरु किरण जी, (मोहन वैद्य) विप्लव जी, सुदर्शन, कञ्चनजीसँग कुराकानी भइरहेको छ, वैचारिक कुरामा लगभग सहमति जुटिसकेको छ।’

खुमलटार स्रोतका अनुसार केन्द्रीय समितिको बैठकपछि एकताको प्रक्रिया निष्कर्षतिर जानेछ।

‘वैचारिक कुरामा सहमति जुटिसकेकाले केन्द्रीय समितिको बैठकपछि ठूलो शक्तिसँग एकता घोषणा हुँदैछ,’ स्रोतले भन्यो, ‘एकता, ध्रुवीकरण समायोजन र प्रवेशका कार्यक्रम हुन्छन्। पूर्वमाओवादी एक हुन्छन्।’

मोहन वैद्य निकट नेताहरुले भने प्रचण्डसँग छलफल भए पनि कुनै कुरामा सहमति नजुटेको दाबी गरेका छन्।

‘ठोस प्रगति केही भएको छैन,’ नेकपा क्रान्तिकारी माओवादीका एक नेताले भने, स्थानीय तहको निर्वाचन परिणामपछि प्रचण्डजी आफैँले एकताको प्रस्ताव ल्याउनुभएको हो।’

पदाधिकारीमा दाबी
माओवादीले महाधिवेशन सकेको महिनौं बितिसक्दा पनि उपाध्यक्ष, महासचिव लगायतका पदाधिकारीहरु चयन गर्न सकेको छैन। जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत र पम्फा भुसालसमेत महासचिवका दाबेदार छन्। तर, अब विप्लव समूहबाट आएका नेताहरुलाई समेत व्यवस्थापन गरेर पदाधिकारी चयन गर्ने प्रचण्डको सोचाइ रहेको नेताहरु बताउँछन्।

त्यसो त नेत्र विक्रम चन्दलाई नै पार्टीमा ल्याएर महासचिव बनाउने महराले प्रयास गरेका थिए। तर, त्यो सम्भव भएन। अब धर्मेन्द्र बास्तोलाले महासचिव दाबी गर्न सक्ने स्रोतले बतायो।

कार्यदिशाको हकमा पनि माओवादीले आगामी ६ महिनाभित्र विचार निर्माणका लागि महाधिवेशन गर्ने भनेकाले मिलाउन समस्या नरहेको सो पार्टीका नेताहरुको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .