राजनीति


ओली र दाहालसँग चिनियाँ कम्युनिष्ट पार्टीको वार्ता, के के भयो कुराकानी?

ओली र दाहालसँग चिनियाँ कम्युनिष्ट पार्टीको वार्ता, के के भयो कुराकानी?

नेपालखबर
असार १०, २०७९ शुक्रबार २२:१४, काठमाडौँ

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालका दुई ठूला वामपन्थी दलका शीर्ष नेतासँग बेग्लाबेग्लै भिडियो वार्ता गरेका छन्। 
 

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बिहीबार र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शुक्रबार भिडिओ कुराकानी भएको चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को विदेश विभागले आफ्नो वेबसाइटमार्फत जनाएको छ।

भिडिओ वार्तापछि दुई पार्टीबीच आदानप्रदान र सहयोगसम्बन्धी समझदारीपत्र (एमओयु) मा हस्ताक्षर पनि भएको सिपिसीले जनाएको छ। 

भिडिओ वार्तामा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री चेन झोउले पनि सहभागी थिए। 

दाहालसँग बिहीबार भएको कुराकानीमा चिनियाँ नेता लिउले चीन र नेपाल हिमाल र नदीले जोडिएका मित्रवत् छिमेकी रहेको उल्लेख गरेका थिए। 

उनले दुई मुलुकका भविष्य साझा रहेको समेत बताएको सिपिसीले उल्लेख गरेको छ। 

सिपिसीका महासचिव समेत रहेका चिनियाँ राष्ट्रपति सि चिनफिङको सन् २०१९ मा सम्पन्न नेपाल भ्रमणको प्रसंग निकाल्दै नेता लिउले उक्त ऐतिहासिक यात्रापछि दुई देशबीचको सम्बन्ध विकास र समृद्धिको लागि रणनीतिक साझेदारीमा स्तरोन्नति भएको बताएका थिए। 

उनले सीको भ्रमणपछि द्विपक्षीय सम्बन्ध द्रूत विकासको नयाँ युगमा प्रवेश गरेको समेत बताएका थिए। 

‘चीन र नेपालका शीर्ष तहमा भएका महत्वपूर्ण सहमती कार्यान्वयन गर्न, राजनीतिक आपसी विश्वासलाई गहिरो बनाउन, ठूला परियोजना सक्रिय रूपमा अघि बढाउन र ‘बेल्ट एण्ड रोड’ अवधारणाअन्तर्गत विभिन्न क्षेत्रमा व्यावहारिक सहकार्य अघि बढाउन चीन नेपालसँग काम गर्न इच्छुक छ’ भिडिओ कुराकानीमा लिउले भने। त्यस क्रममा उनले दुईदेशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको पनि बताए। 

चिनियाँ नेता लिउले चिनियाँ कम्युनिष्ट पार्टी, माओवादी केन्द्र र एमालेका विचार र भावना समान रहेको बताएका बताउँदै दुवै पार्टीसँगको आदानप्रदानलाई थप सुदृढ गर्न तथा जनस्तरको सम्पर्क बढाउन चाहेको बताएको सिपिसीले उल्लेख गरेको छ। 

‘हामी छिमेकी मुलुक एक अर्काको मुख्य चासोको सम्मान गर्नुपर्छ। यहाँहरूले दुई देशबीचको स्वस्थ र स्थिर विकासलाई प्रबर्धन गर्न भूमिका खेल्नुहुनेछ भन्ने विश्वास छ’ लिउले भनेका थिए। 

निकट भविष्यमा हुन लागेको चिनियाँ कम्युनिस्ट पार्टीको २० औं राष्ट्रिय महाधिवेशनले चीनको विकासको खाका तयार गर्नुका साथै नेपाल–चीन सम्बन्धको विकासमा नयाँ गति दिने लिउले बताएका थिए। 

भिडिओ वार्तामा दाहाल र ओलीले नेपाल र चीनबीचको मित्रता चिरस्थायी रहेको बताएको सिपिसीले जनाएको छ। 

त्यक्रममा दुवै नेताले चिनियाँ कम्युनिष्ट पार्टीसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिने बताउँदै कुनै पनि शक्तिलाई चीन विरोधी गतिविधिमा संलग्न हुन नेपाली भूमि प्रयोग गर्न कहिल्यै अनुमति नदिने प्रतिवद्धता जनाएका थिए। 

‘चिनियाँ कम्युनिष्ट पार्टीको शताब्दी लामो सङ्घर्षका मुख्य उपलब्धि र ऐतिहासिक अनुभवले नेपाली राजनीतिक पार्टीका लागि महत्वपूर्ण प्रेरणा प्रदान गरेको छ’ त्यसक्रममा दाहाल र ओलीले भनेका थिए। दाहाल र ओलीले चिनियाँ कम्युनिष्ट पार्टीसँग ‘बेल्ट एण्ड रोड’ अवधारणाको संयुक्त निर्माण लगायत क्षेत्रमा सहयोग सुदृढ गर्न र दीर्घकालीन सम्बन्ध विकास गर्न आफूहरु इच्छुक रहेको बताएको सिपिसीले जनाएको छ। 

‘हामी नेपाल–चीन सम्बन्धको स्थिर विकास चाहन्छौं। हामी चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनको पूर्ण सफलताको अपेक्षा र कामना गर्दछौं’ दाहाल र ओलीले भनेका थिए। 

दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार छलफलमा दाहालले नवनियुक्त मन्त्री लिउलाई बधाई एवम् शुभकामना दिएका थिए। लिउले जवाफमा त्यसका लागि आभार व्यक्त गरे। 

‘उक्त अवसरमा दुई नेताबीच दुई देश र दुई पार्टीबीचका आपसी हितका विषयमा कुराकानी भयो’ मल्लले सामाजिक सञ्जालमा लेखेका छन्।

यसअघि चीनले नेपालले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि नबढाउने निर्णय गरेकोमा प्रशंशा गरेको थियो। 

बिहीबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ् वेनबिनले एसपीपी अस्वीकार गर्ने नेपालको निर्णयबारे भनेका थिए ‘नेपालको मित्रवत र नजिकको छिमेकी तथा रणनीतिक सहयोगी साझेदार चीन नेपाल सरकारको उक्त निर्णयको प्रशंसा गर्छ।’ 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकाद्वारा अघि बढाइएको एसपीपी सम्झौता अस्वीकार गर्ने निर्णय लिएको थियो। 

‘नेपालको सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक अखण्डतालाई कायम राख्न, स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिप्रतिको प्रतिवद्धतालाई चीनले समर्थन गरिरहनेछ। क्षेत्रीय सुरक्षा, स्थायित्व र साझा समृद्धिको रक्षाका लागि नेपालसँग मिलेर काम गर्न चीन तयार छ,’ प्रवक्ता वेनबिनले अगाडि भनेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .