सञ्चारकर्मबाट राजनीतिमा होमिएमा रवि लामिछानेले आफ्नो पार्टीको नाम फेरबदल नहुने बताएका छन्।
केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेपछि रवि विवादमा तानिएका थिए। स्वतन्त्र नाम दुरुपयोग गरिएको भन्दै आलोचना भइरहेका बेला शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो निर्णयको बचाउ गरेका हुन्।
'हामी पहिलेदेखि नै स्वतन्त्र उम्मेदवारहरुको छलफलमा सहभागी भएका थियौँ। अब पनि देशभरकै स्वतन्त्र उम्मेवारहरुसँग चरणवद्ध छलफल गर्छौँ', उनले भने, 'हाम्रो स्वतन्त्र पार्टीसँग आवद्ध हुने आउने क्रम बढेको छ।
स्वतन्त्रलाई पार्टीमा प्रवेश गर्दा असर गर्छ भन्ने कुरा होइन। धेरै मानिसहरु दलमा आवद्ध भएका छैनन्। राजनीतिमा लागेर परिवर्तन गर्नुपर्छ कि भन्ने जमात छ। उनीहरुलाई पनि हामी आवद्ध गराउँदैछौँ।'
उनले स्वतन्त्र सञ्चारकर्मीको भूमिका त्यागेर राजनीतिमा आएको बताए। 'राजनीतिमार्फत परिवर्तन गर्ने चहाना पूरा गर्न आएको हो। उहाँहरु सबैसँग समयानुसार सहकार्य गर्ने योजना छ', उनले भने, 'हाम्रो सोच पूरा गर्न राजनीतिक दल चाहिन्छ भन्ने हो। स्वतन्त्रको अभ्यास धेरै छ। स्वतन्त्र नाम राखेर दल दर्ताका लागि हामीले निवेदन दिइसकेका छौँ। निर्वाचन आयोगसँग छलफल बाँकी छ।'
उनले स्वतन्त्र दल, स्वतन्त्र पार्टीसहितका नाममा अन्यले पनि नाम दर्ता गराउने पहल गरेको जिकिर गरे।
'स्वतन्त्रको अभियानलाई सदुपयोग गर्न सकिन्छ कि भनेर यो नामाकरण गरेका हौँ', उनले भने, 'विश्वभर इन्डिपेन्डेन्ट पार्टीको अभ्यास छ। लाओस, केन्या, बर्मा र साउथ अफ्रिका धेरै स्थानमा स्वतन्त्र नामका पार्टी सक्रिय छन्।'
उनले स्वतन्त्र उम्मेदवारी दिनेलाई आफूहरुको नामले असर नगर्ने पनि बताए। 'स्वतन्त्र उम्मेदवारी दिने कसैको विरुद्ध यो नाम राखेको होइन। स्वतन्त्रलाई पनि समेट्न यो निर्णय गरेको हो', उनले थपे, 'स्वतन्त्र मान्छेले पनि हामीसँग कुरा गर्न सक्छन्। संसदीय निर्वाचन भएकाले हामीले दल बनाएर जान तयार भएका हौँ।'
उनले दलमार्फत गए मात्रै सहज हुने भएकाले यो निर्णय लिएको पनि बताए। 'संसद राम्रा मान्छेले भरियोस् भन्न खोजिएको हो। हामीले सबेलाई समेट्न यो नाम राखेका हौँ', उनले भने, 'स्वतन्त्रलाई पनि समेट्न यो पार्टी खोलिएको हो। निर्वाचन आयोगले आपत्ति जनाएछ भने फेरौँला हामी छलफलमा छौँ।'

‘गणतन्त्र, संघीयता र धर्म निरपेक्षता मान्छौं’
रवि लामिछानेले आफूहरुको मूल उद्देश्य देशको विद्यमान व्यवस्था परिवर्तन गर्नु नभएर जनताको अवस्था परिवर्तन गर्नु रहेको स्पष्ट पारेका छन् । उनले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता आफूहरुले मान्ने स्पष्ट पारे ।
रविले अहिले आफूहरु व्यवस्था भन्दा पनि जनताको अवस्था परिवर्तनका लागि आएको भन्दै सोहीअनुसार योजना बनाएको स्पष्ट पारे । उनले भने, ‘व्यवस्थाभित्र धेरै कुरा सुधारको आवश्यक छ । न्यायालयभित्र सुधारको झन धेरै आवश्यकता छ । हाम्रो मुद्दा व्यवस्था होइन, अवस्था परिवर्तन हो ।’
Shares

प्रतिक्रिया