राजनीति


एकीकृत समाजवादीको निष्कर्ष : मन्त्री फेर्ने निर्णय प्रधानमन्त्री देउवाले रोकिदिए

एकीकृत समाजवादीको निष्कर्ष : मन्त्री फेर्ने निर्णय प्रधानमन्त्री देउवाले रोकिदिए

नेपालखबर
असार ९, २०७९ बिहिबार १७:३०, काठमाडौँ

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकमा नेताहरुले मन्त्री हेरफेरको विषय तत्काल टुंग्याउन दबाव दिएका छन्। 

पार्टी कार्यालयमा बिहीवार बसेको केन्द्रीय सचिवालयको २७ औँ बैठकमा नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई मन्त्री हेरफेरको विषय तत्काल टुंगो लगाउन दबाब दिएका हुन्। 

बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधरले बुधवार र बिहीबार दुई दिन बसेको सचिवालय बैठकले शुक्रवार हुने पोलिटब्युरो, शनिवार हुने केन्द्रीय कमिटी र असार १३ र १४ गते हुने केन्द्रीय परिषद्को बैठकका एजेन्डाबारे छलफल गरेको बताए। 

उनले उक्त बैठकमा पार्टी अध्यक्ष नेपालले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमाथि पनि छलफल गरेको पनि जानकारी दिएका छन्। 

एकीकृत समाजवादीका उपमहासचिव डा. गंगालाल तुलाधर। तस्बिर : नेपालखबर

‘हाम्रो पार्टीको केन्द्रिय सचिवालयको २७ औँ बैठक सम्पन्न भएको छ। मूल रुपमा सचिवालय बैठक अरु अन्य तीन बैठकको तयारीस्वरुप बसेको हो। भोलि पोलिटब्युरो बैठक बस्दैछ। शनिवार केन्द्रीय कमिटीको बैठक बस्दैछ। १३ र १४ गते केन्द्रीय परिषद्को बैठक बस्दैछ', उनले भने, 'ती बैठकहरूका लागि एजेण्डा तयार गर्न यो बैठक बसेको हो। यी सबै बैठकमा अध्यक्षबाट प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमाथि हामीले गम्भीर छलफल गरेका छौँ।'

सचिवालयको २६ औँ बैठकले निर्णयपछि स्थायी कमिटीको १२ औँ बैठकले अनुमोदन गरेको मन्त्री हेरफेरसम्बन्धी निर्णयमाथि पनि छलफल भएको तुलाधरले बताए। 

'बैठकमा अधिकांश नेताहरुले स्थायी कमिटी र सचिवालयका निर्णय लागु हुँदैन भनेर प्रश्न गर्नुभयो। नेताहरुले पार्टी अध्यक्षले प्रधानमन्त्रीसँग कुरा गरेर छिटो भन्दा छिटो मन्त्रिमण्डल हेरफेरको कार्यान्वयन गर्न आग्रह गर्नुपर्छ भन्ने कुरा भएका छन्', उनले भने, 'गठबन्धनको गन्तव्य अझै नसकिएकोले आगामी प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा पनि कायम गरेर जानुपर्छ भन्ने कुरा भयो।’

उपमहासचिव तुलाधरले पार्टीको निर्णय बहानाबाजी देखाएर प्रधानमन्त्री शेरबहादुर देउवाले रोकेको भन्दै त्यसले पार्टी कार्यकर्तामा नराम्रो सन्देश गएको बताएका जानकारी दिए। 'पार्टी निर्णय प्रधानमन्त्रीले रोकिदिएको भन्दै ध्यानाकर्षण गराउनु भएको छ', उनले भने, 'गठबन्धनको औचित्य नसकिएकोले आगामी निर्वाचनमा पनि गठबन्धन गरेरै जानुपर्नेमा छलफल भएको छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad