ad ad

राजनीति


कांग्रेस जसको जगमा उभिएको छ, उनैलाई सम्हाल्न सकेन

नेताहरु भन्छन् : भ्रातृ संगठन बलिया नहुँदा कांग्रेसलाई गम्भीर क्षति
कांग्रेस जसको जगमा उभिएको छ, उनैलाई सम्हाल्न सकेन

केशव सावद
असार ८, २०७९ बुधबार १९:५१, काठमाडौँ

नेपाली कांग्रेसका नेताहरुले पार्टीका लागि आधारस्तम्भ मानिने भ्रातृ संगठन लथालिङ्ग हुँदा गम्भीर क्षति व्यहोर्नु परेको बताएका छन्। 

भ्रातृ संगठन हुँदै मातृ पार्टीको केन्द्रीय तहमा राजनीति गर्दै आएका नेताहरुले भ्रातृ संगठन लथालिङ्ग हुँदा गम्भीर क्षति व्यहोर्नु परेको बताएका हुन्।

नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्वअध्यक्ष गुरुराज घिमिरे भ्रातृ संगठनहरुले लामो समयदेखि महाधिवेशन नगर्दा पार्टी गम्भीर रुपमा प्रभावित भएको बताउँछन्। 

‘भ्रातृ संगठन भनेका पार्टीका ‘विङ्स’ हुन्। यिनीहरु आधार स्तम्भ नै हुन्,’ उनले नेपालखबरसँग भने, ‘यिनकै जगमा पार्टी उभिएको हुन्छ। केन्द्रीय समिति नै नहुँदा पार्टीले गम्भीर क्षति व्यहोरिरहेको छ।’

अहिले कांग्रेसका १३ मध्ये नेपाल महिला संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय

लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज, नेपाल भूतपूर्व सैनिक संघ नेतृत्वविहीन छन्।  

नेविसंघका अर्का पूर्वअध्यक्ष प्रदीप पौडेलले भ्रातृ संगठनको केन्द्रीय नेतृत्व चयन गर्न नसक्दा नराम्रो सन्देश गएको प्रतिक्रिया दिए। 

‘देश व्यवस्थापन गर्छु भनेको पार्टीले भ्रातृ संगठन सम्हाल्न नसकेको म्यासेज गयो,’ उनले नेपालखबरसँग भने। 

नेपाल महिला संघकी पूर्वअध्यक्ष डा. डिला संग्रौलाले पनि भ्रातृ संगठनहरु चलायमान नहुँदासम्म पार्टीले गति लिन नसक्ने बताइन्। 

‘भ्रातृ संगठन भनेका पार्टीका मेरुदण्ड हुन्। यी जति चलायमान हुन्छन् पार्टी पनि यत्ति नै बलियो हुन्छ,’ उनले भनिन्, ‘केन्द्र भंग हुँदा तल्लो तहहरु चलायमान कसरी बनाउने भन्ने परेको छ। यस्तो अवस्थामा पार्टीले कसरी गति लिन्छ?’

कांग्रेसले लामो समयदेखि अधिवेशन गर्न नसकेका र १४ औँ महाधिवेशनपछि विधानअनुसार अध्यक्ष स्वतः पदमुक्त भएका संगठन गतिशील बनाउन गत फागुन ३ गते १० वटा भ्रातृ संगठनका केन्द्रीय कार्यसमिति विघटन गरेको थियो। 

यसरी विघटन हुनेमा नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज, नेपाल भूतपूर्व सैनिक संघ थिए। 
बैठकले गत फागुन महिनाभित्रै केन्द्रीय कार्यसमिति विघटन गरिएका भ्रातृ संगठनहरुका केन्द्रीय तदर्थ समितिहरु गठन गर्ने निर्णयसमेत गरेको थियो। 

पार्टी सभापति शेरबहादुर देउवाले आवश्यक परामर्श गरेर फागुन मसान्त भित्र १० ओटै भ्रातृ संगठनहरुको केन्द्रीय तदर्थ समिति गठन गर्ने निर्णय गरिएको बैठकपछि जारी विज्ञप्तिमा भनिएको थियो। 

निर्णय गरेको चार महिना नाघिसक्दा पनि प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले नेविसंघ र तरुण दलबाहेकका संगठनहरुको तदर्थ समिति गठन गर्न सकेका छैनन्। 

उनले नेविसंघ र तरुण दलका अध्यक्षमात्र मनोनित गरेका छन्। नेतृत्व उत्पादनका लागि ‘नर्सरी’ मानिने नेविसंघ र युवाहरुको संगठन नेपाल तरुण दल मात्र अध्यक्षको भरमा गतिविधि गर्दै आएको छ। 

नेविसंघका पूर्व अध्यक्षसमेत रहेका कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य घिमिरेले भ्रातृ संगठनहरु लथालिङ्ग अवस्थामा राखेर सभापति देउवाबाट १४ औँ महाधिवेशनमा गरिएको प्रतिवद्धता उल्लंघन भइरहेको टिप्पणी गरे। 

‘१४ औँ महाधिवेशनमा सभापतिले सबैलाई समेट्छु। कसैलाई पनि प्रश्न गर्ने ठाउँ दिन्न भन्नुभएको हो,’ उनले पार्टी विधानको व्यवस्था स्मरण गर्दै भने, ‘तर, अहिले के गर्दै हुनुहुन्छ भन्ने प्रश्न उठेको छ। विधानमा भएको व्यवस्था पनि उल्लंघन हुने अवस्था आइसक्यो।’

नेविसंघका पूर्वअध्यक्ष तथा पार्टीका केन्द्रीय सदस्य पौडेलले रिक्त रहेका भ्रातृ संगठनहरुको तदर्थ समिति गठन र अपुरो संगठनहरु विस्तार गरेर अधिवेशन उन्मुख बनाउनु पर्नेमा जोड दिए। 

‘नेतृत्व रिक्त रहेकाहरुको तदर्थ समिति र अपूराहरुलाई विस्तार गरेर अधिवेशन उन्मुख बनाउनु पर्छ। संगठनहरु आफैँ चल्ने बनाउनु पर्छ,’ उनले भने, ‘यस्तो बनाउन अब ढिलाई गर्नु हुँदैन।’

महिला संघ पूर्वअध्यक्ष तथा कांग्रेस केन्द्रीय सदस्य डा. संग्रौलाले पनि भ्रातृ संगठन चलायमान बनाउन ढिला गर्न नहुने बताइन्। 

‘भ्रातृ संगठनहरु गठन नहुँदा यसको सिधा असर पार्टीमा परिरहेको छ। सुस्त गतिमा हिँडिरहेको छ,’ उनले भनिन्, ‘अब विस्तार गर्न प¥यो। महाधिवेशन गर्न आवश्यक छ।’

कांग्रेसका १३ भ्रातृ संस्थामध्ये नेपाल महिला संघ, नेपाल मुस्लिम संघ र नेपाल मगर संघले मात्र निर्धारित समयमा महाधिवेशन गरेका छन्। बाँकी १० भ्रातृ संस्थामध्ये अधिकांशले निर्धारित समय गुजारेको वर्षौँ बितिसक्दा पनि महाधिवेशन गरेका छैनन्। 

कांग्रेसका तीन भ्रातृ संगठन नेपाल किसान संघ र नेपाल आदिवासी–जनजाति संघले १७ वर्षदेखि, भूतपूर्व सैनिक संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज र राष्ट्रिय लोकतान्त्रिक अपांग संघले १३ वर्षदेखि र नेपाल दलित संघले १० वर्षदेखि महाधिवेशन गरेका छैनन्।

गत फागुनमा गरिएको निर्णयअनुसार केन्द्रीय तदर्थ समिति गठन गरेर भ्रातृ संगठन चलायमान बनाउन भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सोमबार सभापति देउवासँग भेट गरेका थिए। 

छलफलपछि महामन्त्री शर्माले आफूहरुले रिक्त भ्रातृ संगठनलाई पूर्णता दिनेबारे सभापति देउवासँग कुराकानी गरेको प्रतिक्रिया दिएका थिए। 

‘हामीले पार्टीका विभाग गठन, भ्रातृ संस्थाको पूर्णता, केन्द्रीय कार्यसमिति बैठक र पार्टीको आगामी रणनीतिका बारेमा छलफल गर्यौँ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .