विश्व मञ्चमा चीनको उदय सम्भवतः यो शताब्दीको सबैभन्दा बढी दोहोरिएको खबर हो। हुन पनि चीनको आर्थिक हैसियत सानदार तरिकाले बढ्दै गएको छ। उसको बढ्दो सैन्य शक्ति पछिल्लो समय समाचार शीर्षक बन्ने गरेको छ। तथापि वित्तीय महाशक्ति बन्ने चीनको चाहना भने पूरा हुने अवस्था छैन।
यस्तो पहिले कहिल्यै भएको छैन। १९२० को दशकमा डलर विश्वको प्रमुख मुद्रा बन्नुअघि अमेरिका पहिले आर्थिक शक्तिका रुपमा उदायो, त्यसपछि मात्र वित्तीय शक्तिका रुपमा। लगानीकर्ता रे डालियोले हालै बताएजस्तै त्यसअघिका साम्राज्यहरु बेलायत र १५ औँ शताब्दीको पोर्चुगलले पनि उस्तै मार्ग पछ्याएको देखिन्छ। तर, चीनले त्यो ढाँचालाई भत्काइरहेको छ। ऊ आर्थिक शक्तिका रुपमा तीव्र गतिमा उदाइरहेको छ तर वित्तीय शक्तिका रुपमा उसको गति हिमनदीजस्तो धीमा छ।
यो क्रममा चीनले अपेक्षाहरुलाई तोड्ने काम गरिरहेको छ। दुई दशकअघि जब चीन खुलापन अपनाएर विश्वव्यापी व्यापारका लागि तयार भयो, त्यतिबेला यो देश आर्थिक र वित्तीय सर्वोच्चता हासिल गर्ने बाटोमा देखिन्थ्यो। २०१० तिर बेइजिङले आफ्ना वित्तीय महत्वाकांक्षाहरुको प्रचार गर्न थाल्यो। जसमा रेन्मिन्बीलाई विश्वव्यापी मुद्राका रुपमा स्थापित गर्ने आकांक्षा पनि सामेल थियो। तर, त्यसपछि प्रगति अवरुद्ध भयो अनि चीन पछाडि फर्कियो।
चीनको उदयको कथाले आम मानिसको परिकल्पनामा यति बलियो पकड जमाएको छ कि थुप्रै विश्लेषकहरु जहाँ पनि चीनलाई देख्छन्। त्यसैले उनीहरु विश्वभरका केन्द्रीय बैंकको सञ्चित मुद्रामा रेन्मिन्बीको सानो ३ प्रतिशत हिस्सालाई तीव्र प्रगति मान्छन्। किनभने पाँच वर्षअघि चिनियाँ मुद्राको हिस्सा एक प्रतिशत मात्र थियो।
तर, त्यति हिस्सा त क्यानडा वा अस्ट्रेलियाजस्ता चीनभन्दा निकै साना अर्थतन्त्रको पनि छ। र, केन्द्रीय बैंकका सञ्चित मुद्रामा चिनियाँ मुद्राको हिस्सा विश्लेषकहरुले प्रक्षेपण गरेभन्दा निकै पछाडि छ।
चीनका लागि बाधा भनेको विश्वासको अभाव हो। विदेशीहरु राज्यले हस्तक्षेप गर्ला कि भनेर चिन्तित छन्। तर, त्यसभन्दा महत्वपूर्ण कुरा, चिनियाँहरु आफ्नै वित्तीय प्रणालीमा विश्वास गर्दैनन्। गएको दशकमा आर्थिक वृद्धि कायम राख्न चीनले यति धेरै पैसा छापेको छ, अहिले अर्थतन्त्र र बजारको अवस्था हेरी पैसाको आपूर्ति अत्यधिक छ। त्यो पुँजी मौका पाउने हो भने देशबाट बाहिरिने छ। सात वर्षअघि जब ठूलो मात्रामा पुँजी विदेशिन थाल्यो तब सरकारले पुँजी पलायनलाई रोक्न नियन्त्रणका उपायहरु अपनाएको थियो। जसलाई अहिले पनि हटाइएको छैन।
त्यसको सट्टा चीन वित्तीय रुपले आफैँतिर फर्किएको छ। स्विफ्ट सञ्जालमार्फत अन्तर्राष्ट्रिय बैंकहरुको कारोबारमा हुने भुक्तानीमा २०१५ देखि रेन्मिन्बीको हिस्सा २० प्रतिशतले घटेको छ। पहिले पनि त्यो हिस्सा ३ प्रतिशतभन्दा कम थियो। पुँजी खाता खुलापनसम्बन्धी १६५ मुलुकलाई श्रेणीबद्ध गर्ने एक सूचकमा चीन १०६ औँ स्थानमा छ। यसमा चीन मादागास्कर र मोल्दोवाजस्ता साना मुलुकको बराबरीमा छ।
चिनियाँ लगानीकर्तालाई विदेशमा लगानी गर्न प्रतिबन्ध छ। विदेशीहरु भने बजारलाई नियन्त्रण गर्ने सरकारको प्रयासबाट डराएर चीनबाट पर भाग्छन्। अन्य मुलुकहरुमा झैँ चीनको सेयर बजार किन बढ्दैन र आर्थिक वृद्धि घटेसँगै किन सेयर बजार पनि घट्छ, यसले बुझ्न सहयोग गर्छ।
अर्थशास्त्री जोनाथन एन्डरसनले हालै लेखेका छन्, चीनको उतारचढावपूर्ण मूल्य र बजारको तुलनामा पैसाको अत्यधिक आपूर्तिलाई विचार गर्दा यो मुलुकलाई ब्राजिल र थाइल्यान्डजस्ता उदाउँदा अर्थतन्त्रसँग दाँज्न सकिँदैन। बरु, कजाकस्तान वा नाइजेरियाजस्ता सीमान्त बजारसँग चीन बढी तुलनायोग्य छ। त्यसैले चीन ‘इमर्जिङ मार्केट पोर्टफोलियोको हिस्सा बन्नु हुँदैन।’
धेरै हदसम्म चीन त्यसको हिस्सा छैन पनि। चीनमा करिब ५ प्रतिशत सेयर विदेशीहरुको स्वामित्वमा छ। तर, यो हिस्सा अन्य उदाउँदा बजारमा भने २५ देखि ३० प्रतिशत छ। त्यस्तै चीनमा ३ प्रतिशत ऋणपत्र विदेशीको हातमा छ। तर, अन्य विकासशील मुलुकमा त्यो हिस्सा २० प्रतिशत छ।
चीनको बजारमा विश्वले गर्ने सन्देहले रेन्मिन्बीको आकर्षण सीमित तुल्याउँछ। आज विश्वका आधाभन्दा बढी मुलुकले डलरलाई स्थिर विनिमय मुद्राका रुपमा प्रयोग गर्छन्। रेन्मिन्बीलाई कुनै पनि मुलुकले त्यसरी प्रयोग गर्दैन। विश्वका करिब ९० प्रतिशत विदेशी विनिमय कारोबारमा डलरको सहभागिता हुन्छ। मात्र ५ प्रतिशतले रेन्मिन्बी प्रयोग गर्छन्।
यो यथार्थ चीनले चाहेको सफलताको कथाभन्दा भिन्न छ। १९८० को दशकमा आफ्नो अर्थतन्त्र ह्वात्तै वृद्धि हुँदा जापान वित्तीय र आर्थिक दुवै शक्तिका रुपमा उदाइरहेको थियो। जापानी येन र सेयर बजार दुवैले उसको त्यो शक्तिलाई प्रतिबिम्बित गरेका थिए। र, टोकियो विश्वको वित्तीय केन्द्रका रुपमा उदाएको थियो। आज रेन्मिन्बीलाई सुरक्षित मानिँदैन। चिनियाँ सेयर बजार शिथिल छ। र, कुनै पनि चिनियाँ सहरको हैसियत क्षेत्रीय वित्तीय केन्द्रभन्दा माथि छैन।
चीन अझै पनि वित्तीय महाशक्ति बन्ने उदेश्य राख्छ। चिनियाँ नेताहरुले बुझेका छन्, मुलुक धनी बन्दै जाँदा गतिलो वित्तीय प्रणालीको आवश्यकता पनि बढ्दै जान्छ। डलरको शक्तिका कारण अमेरिकाले रुसविरुद्ध नाकाबन्दी लगाउँदा कसरी वित्तीय क्षेत्रलाई हतियारको रुपमा प्रयोग गर्यो, त्यो चीन सरकारले राम्ररी देखेको छ। र, चीन पनि त्यस्तै शक्ति हासिल गर्न चाहन्छ।
तर, अहिलेका लागि पुँजी नियन्त्रण गर्न लगाइएका प्रतिबन्ध हटाउने र रेन्मिन्बीलाई पूर्ण रुपमा परिवर्तनीय बनाउनेजस्ता आधारभूत कदम चाल्ने आत्मविश्वास पनि बेइजिङसँग छैन। त्यो आत्मविश्वास नहुन्जेल चीनले कहिल्यै पनि महाशक्ति बन्ने महत्वाकांक्षा पूरा गर्न सक्ने छैन।
(फाइनान्सियल टाइम्सबाट। रुचिर शर्मा रकफेलर इन्टरनेसनलका अध्यक्ष हुन्)
प्रतिक्रिया